• १३ असोज २०८१, आइतबार

मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो ‘सङ्घीयता’ : अध्यक्ष केसी

blog

प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । तस्बिर : केशव गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना साबित भएको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो । 

सङ्घीयताले देशको विकासभन्दा दलका नेता, मन्त्री, सांसदको विकास गरेको चर्चा गर्दै अध्यक्ष केसीले देशको विकासका लागि सबै इमानदार नहुँदासम्म देश नबन्ने उहाँले बताउनुभयो । दलका नेताहरूको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको उहाँले टिप्पणी गर्नुभयो । 

मुलुकमा सङ्घीयता, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आउँदासमेत दैनिक हजारौँ युवा विदेश गइरहेको चर्चा गर्दै अध्यक्ष केसीले गणतन्त्रमा युवाहरू बाहिर जानु दुःखद भएको बताउनुभयो । जनताको अपेक्षा पूरा गर्नकै लागि गणतान्त्रिक व्यवस्था मुलुकमा ल्याइए पनि जनताले न्याय नपाएको उहाँको भनाइ छ ।

देश र जनताको भविष्यप्रति दलका नेताहरू गम्भीर नहुँदासम्म मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने भन्दै उहाँले मुलुकमा तिथि बसाल्न सकेमात्र समस्या समाधान हुने बताउनुभयो ।