• १३ असोज २०८१, आइतबार

गणतान्त्रिक व्यवस्थाप्रति मधेसी समुदाय प्रतिबद्ध : नेता राउत

blog

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सांसद चन्द्रकान्त रावत (सीके रावत) । तस्बिर : रासस

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको तर्फबाट सोमबार सम्बोधन गर्नुहुँदै अध्यक्ष राउतले सो कुरा बताउनुभएको हो । 

सङ्घीय गणतान्त्रिक व्यवस्थाका लागि आफूहरू सदैव लागिरहने उहाँले बताउनुभयो । लोकतान्त्रिक व्यवस्थाकै देनले धनाढ्यहरू सामान्य नागरिकको झुपडीमा गएर झुक्न बाध्य भइरहेको उहाँले बताउनुभयो । 

निर्वाचनबाटै जनताको नयाँ आवाज मुखरित भइरहेको उहाँले चर्चा गर्नुभयो । आगामी दिनमा नेपाल सरकार, दलका नेताहरूले दलको अधिकार सुनिश्चित गर्नमा लाग्न उहाँले आग्रह गर्नुभयो । नवनिर्वाचित सबै सांसदलाई उहाँले बधाई र कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

नयाँ दलसँग राजनीतिक आवेगसँगै संयमयता र धैर्यता पनि रहेको उहाँले बताउनुभयो । देशमा सकारात्मक परिवर्तनका लागि आफूहरू संसदमा आएको बताउँदै अध्यक्ष राउतले त्यसकालागि सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो । देश बनाउन सहादत्त प्राप्त गर्ने ज्ञात अज्ञात सबै सहिदप्रति उहाँले श्रद्धासुमन व्यक्त गर्नुभयो । 

नेपाल विविधतायुक्त देश भएकाले देशमा सङ्घीयता अपरिहार्य रहेको चर्चा गर्दै अध्यक्ष राउतले सरकारले सङ्घीयतालाई सबल बनाउनेतर्फ ध्यान दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । देशका लागि गणतान्त्रिक व्यवस्था नौलो नभएको बल्की खोसिएको व्यवस्था भएको उहाँले चर्चा गर्नुभयो । यसअघि मधेसमा पहिल्यै गणतन्त्रको अभ्यास भइसकेको उहाँले दाबी गर्नुभयो ।