• १३ वैशाख २०८१, बिहिबार

‘अङ्ग्रेजी नयाँ वर्षमा पहिचान नदेखिएपछि टोपी दिवसको थालनी’

blog

कलाकार हिमेश पन्त, हरिहर शर्मा र उत्तम केसी । फाइल तस्बिर

काठमाडौं, पुस १७ गते। मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न क्षेत्रमा राष्ट्रिय पहिचान झल्काउने कार्यक्रमसहित राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो। 

यसबाहेक आइतबार अङ्ग्रेजी नयाँ वर्ष । नयाँ वर्षलाई नयाँ जोश, उमंग र नयाँ काम थालनीको लागि राम्रो दिनको रुपमा लिने गरिन्छ। आजको दिनमा शुभकामना आदानप्रदानसँगै हरेक क्षेत्रका नेपालीले टोपी दिवससमेत मनाउने चलन छ। 

राष्ट्रिय पोशाक एवं टोपीसँग कलाका पनि उत्तिकै जोडिएका छन्। त्यसमा पनि कलाकारको जीवनमा के हुँदैछ भन्ने सबैको चासोको विषय हो। यसै अवसरमा हामीले कलाकारलाई जिज्ञासा राखेका छौं : 

हरिहर शर्मा : टोपी हाम्रो गर्व गर्ने शिरको पोशाक हो । हाम्रो राष्ट्रिय गौरव, पहिचान, चिनारी र प्रतीकको रुपमा रहेको टोपी दिवस हाम्रो खुशी हो। यो दिवसलाई निरन्तररुपमा चलाउन सकियो भने सम्पूर्ण नेपाली र आउने पिढीलाई यसको महत्त्व थाहा हुन्छ। टोपीप्रति गर्व गर्ने बानी बढ्दै जान्छ। तर अचेल आधुनिकीकरणले गर्दा टोपी लगाउने बानी हराउँदै गएको छ।

टोपीले राष्ट्रिय गौरव झल्काउनुका साथै स्वास्थ्यका हिसाबले पनि फाइदाजनक छ । देश विदेशका विभिन्न ठाउँमा टोपी लगाएका व्यक्ति भेटियो भने भावना नै फरक हुने र अपन्त्व बढ्ने गर्छ। अङग्रेजी नयाँ वर्षको पहिलो दिनसँगै समग्र युवा शक्तिले, कुनै पनि जातजाती, भाषाभाषीले राष्ट्रिय टोपी धारण गरेर आफूलाई नेपाली भनेर चिनाउन पाउनु नै गर्वको विषय हो । 

उत्तम केसी : नेपालीले नयाँ वर्ष वैशाख १ गते मनाउने चलन छ। तर अहिले आधुनिकिकरणले गर्दा नयाँ मानिसले अङ्ग्रेजी नयाँ वर्षलाई प्राथमिक्ता दिएको पाइन्छ। यसमा पनि नेपालीपन मिसाउनका लागि यो विगत १० वर्षदेखि टोपी दिवस मनाउने चलन चल्दै आएको छ। म पनि टोपी दिवसको सुरुवात गर्नुपर्छ भन्ने अभियानमा लागेको थिएँ। आजको दिन अङ्ग्रेजी वर्षमात्रै मनाउँदा हाम्रो पहिचान नदेखिएको कारण हामीले टोपी दिवसको थालनी गरेका हौं। अङ्ग्रेजी वर्षसँगै नेपाली पहिचानसँगै लिएर जानको लागि यो राम्रो र खुशीको क्षण हो। आजभोलि युवामा टोपी लगाउने चलन छैन तर आज एकदिन भए पनि टोपी लगाउने दिवसले सबैले टोपी लगाउने गर्छन्। म भने हरेक दिन टोपी लगाउँछु। नेपालीत्व देखाउनका लागि पनि म टोपीको प्रयोग गर्छु। यो मेरो पहिचान हो। 

हिमेश पन्त : टोपी नेपालीको पहिचान हो । हामीले आज टोपी दिवस मनाउँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष मनाउन हुँदैन भन्न मिल्दैन। हामीले पुराना परम्परालाई पनि निरन्तरता दिनुपर्छ। सामान्यतय म टोपी लगाउँदिन। तर आफूलाई यस ठाउँ वा कार्यक्रममा टोपी लगाउनुपर्छ भन्ने महसुस भयो भने म लगाउँछु। कार्यक्रम र ठाउँ अनुसार म राष्ट्रियता झल्किने पोशाक पनि लगाउने गर्छु। आज टोपी दिवस मनाएकै जसरी निरन्तरता दिन सकियो भने यसले नेपाली पहिचान र संस्कृतिलाई झल्काउने काम गर्छ। 

यस्तै, टोपी दिवसको अवसरमा कलाकारले सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गर्दै टोपी लगाएको तस्बिर सार्वजनिक गर्नुभएको छ। नेपालमा टोपी लगाउनु, दशैं मनाउनु, तिहारमा भैलो र देउसी खेल्नु, सेलरोटी राष्ट्रियता भल्काउने पर्व हो । तीमध्ये टोपी एक मात्र पोशाक हो जुन कुनै पनि अवसरमा प्रयोग गर्ने गरिन्छ। यसबाहेक धेरै प्रकारका टोपीमध्ये भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन्। अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आ–आफ्नो क्षेत्र र जातिले आफ्नै टोपी वा मौलिक पोशाक लगाएर मनाउन सकिने विशेष दिवस हो।