• ४ मंसिर २०८२, बिहिबार

दुर्गमा बन्यो छात्रावास र विद्यालय भवन

blog

भारत सरकारको सहयोगमा नव निर्मित विद्यालय भवन । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, मंसिर ४ गते ।
ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित दाङवाङ माध्यमिक विद्यालयमा छात्रावास भवन र विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकारको सहयोगमा १२ कोठे विद्यालय भवन र दस कोठे छात्रावास भवन निर्माण गरिएको हो ।

तीन करोड ३९ लाख २२ हजार ५०१ रुपियाँको लागत रहेको उक्त परियोजनाका लागि भारत सरकारको ८० प्रतिशत र ऐरावती गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहेको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । भवन निर्माणका लागि २०८१ वैशाख २६ गते भारतीय दूतावास र गाउँपालिकाबिच सम्झौता भएको थियो । ०८२ साउन २५ गते निर्माण सम्पन्न भएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

भवन नेपालस्थित भारतीय दूतावासका काउन्सिलर गीताञ्जली ब्रैंडेन र गाउँपालिका अध्यक्ष शाहले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो । सामुदायिक विकास परियोजनअन्तर्गत विद्यालय भवन निर्माण गरिएको काउन्सिलर बैंडेनले बताउनुभयो । “यो परियोजना एक उच्च प्रभावयुक्त सामुदायिक परियोजन हो,” उहाँले भन्नुभयो, “जुन नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो ।”

सन् २००१ मा सुरु भएको यस परियोजनाअन्तर्गत स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र ढल निकास, ग्रामीण विद्युतिकरण, जलविद्युत, तटबन्ध र नदि नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको छ । हालसम्म १५ अरब २२ करोड रुपियाँको ५९० परियोजना सञ्चालनमा आएको काउन्सिलर ब्रैंडेनले बताउनुभयो । उहाँका अनुसार ५९० परियोजनामध्ये ६५ वटा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका छन ।

विद्यालयका प्रधानाध्यापक तुल्सीराम आचार्यले नयाँ विद्यालय भवन र छात्रावास निर्माणले विद्यार्थीहरुको पठनपाठनमा ठुलो सहयोग पुगेको बताउनुभयो । “यो भवन एउटा संरचना मात्र होइन,” उहाँले भन्नुभयो, “विद्यार्थीले पठनपाठनका लागि सुरक्षित र अनुकुल वातावरण पाएका छन ।” विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यार्थी, अभिभावक र शिक्षकलाई समेत ऊर्जा मिलेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।