• ४ जेठ २०८१, शुक्रबार

गहना बिक्री गर्ने बढे, आयात रोक्न माग

blog

काठमाडौँ, पुस १४ गते । पुसयता सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने ग्राहकको सङ्ख्या बढ्न थालेको छ । सुनको मूल्य बढेको र बजारमा माग पनि घट्दै गएपछि गहना बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले ‘सिजन’ नभएका कारण बजारमा सुनको माग नै नभएको जानकारी दिनुभयो । “लगनको समय नभएका कारण बजारमा सुनको माग न्यून अवस्थामा छ,” उहाँले भन्नुभयो, “अहिले मूल्य बढेकाले नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक बढी देखिन्छन् ।’  

पुस महिना लागेसँगै बजारमा माग नै नभएको र पुराना गहना बिक्रीमा आएकाले त्यसले नै बजार माग धान्ने हुँदा पुस महिनाभर आयात रोक्न अनुरोध गरेको शाक्यले जानकारी दिनुभयो । महासङ्घका अनुसार अहिले १० किलोग्रामसम्म मात्र सुन बिक्री हुने गरेको छ । चाडपर्वका बेला माग बढेकाले बजारमा सुनको अभाव भएको भन्दै कोटा बढाउन माग गरेका व्यवसायीले अहिले कारोबार ठप्प रहेकाले आयात रोक्न आग्रह गरेका हुन् । 

महासङ्घका अनुसार बिहे तथा चाडपर्वको समयमा दैनिक ४० किलोग्रामसम्म सुन बिक्री हुने गरेको छ । अहिले सुनको मूल्य पनि बढेपछि गहना बिक्री गर्ने ग्राहक बढी हुने गरेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय रुपियाँमा कारोबार भएको छ । गत १३ मङ्सिरमा प्रतितोला ९७ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । चाँदीको मूल्यसमेत बढेको छ । मङ्सिरमा प्रतितोला एक हजार २८५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बढेर एक हजार चार सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ  । 

मङ्सिरमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपालमा विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति बढाउन गत वैशाखदेखि दैनिक २० किलोग्राम सुनको कोटा घटाएर १० किलोमा झारेको थियो ।

दस अर्बभन्दा बढीको सुन आयात

चालू आर्थिक वर्षको पाँच महिनामा साढे १० अर्ब रुपियाँ बराबरको सुन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्म १० अर्ब ५७ करोड ४० लाख ५७ हजार रुपियाँ बराबरको १४ लाख ६६ हजार ५८६ ग्राम सुन आयात भएको छ । 

गत वर्ष सो अवधिमा १८ अर्ब ८६ करोड ६० लाख रुपियाँ बराबरको २७ लाख ३४ हजार पाँच सय ग्राम सुन आयात भएको विभागको थियो । बैङ्कले सुन आयात २० किलोग्रामबाट घटाएर १० किलोग्राम कायम गरेको थियो । जसले गर्दा यस वर्ष कम परिमाणमा सुन आयात भएको हो ।