• १३ असोज २०८१, आइतबार

नेपाल टी–२० क्रिकेट : फार वेस्ट विजयी

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै फार वेस्ट र काठमाडौंका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस ११ गते । फार पेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रन बनाउनुभयो । देव खनालले १७ र भीम सार्कीले ११ रन बनाउनुभयो । बलिङमा काठमाडौंका लागि अनिल खरेलले दुई अजमतुल्लाह उमरजाई, अविनाश बोहरा, रायन वर्ल र बसिर अहमदले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोस कार्कीले १२ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

बलिङमा फार वेस्टका लागि उमर अलिले तीन तथा हजमतुल्लाह शाहिदी, भुवन कार्कीले दुई दुई तथा शेर मल्लले एक विकेट लिनुभयो । दुई खेल सकेको फार वेस्टले पहिलो जितसँगै दुई अङ्क बनाएको छ । 

पहिलो हार खेपेको काठमाडौंको पनि समान दुई अङ्क छ । आजै अर्को खेलमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगमा विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।