• ११ मंसिर २०८१, मङ्गलबार

क्रिसमसमय सहर

blog

काठमाडौँ, पुस १० गते । काठमाडौँका तारे होटलदेखि सपिङ मलसम्मलाई क्रिसमसको रमझमले छोएको छ। झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ‘मेरी क्रिसमस’ भन्दै शुभकामना साटासाट गरिरहेका छन्। 

कमलपोखरीको सिटी सेन्टर पुग्नुभएका राज शर्मा बाहिर बत्ती नै बत्तीले सजिएको क्रिसमस ट्री देखेर आफ्नो घरमा पनि त्यस्तै ट्री बनाउने चाहना राख्नुहुन्छ। शर्माले भन्नुभयो, चाड अरूकै भए पनि यसरी सजाएर राखेको देखेर घरमा पनि यस्तै ट्री बनाउने चाहना गरेको छु। 

क्रिसमस आउनु केही दिनअघिदेखि नै काठमाडौँका मुख्य सपिङ सेन्टर, मल, रेस्टुराँहरू क्रिसमसमय बनिसकेको थियो। कक्षा १० मा अध्ययनरत बागबजारकी स्नेहा लामा यसपालिको ‘क्रिसमस’ ज्ञानेश्वरस्थित चर्चमा गएर मनाउने योजनामा हुनुहुन्छ। ‘क्रिसमस डे’का अवसरमा चर्चमा आयोजना गरिने कार्यक्रमको प्रतीक्षामा रहेको उहाँ बताउनुहुन्छ। उहाँले उक्त कार्यक्रममा प्रस्तुति पनि दिने बताउनुभयो, “हरेक वर्षजस्तै यसपालि पनि क्रिसमस गीतको तयार गरेकी छु।”

पछिल्लो समय ‘क्रिसमस डे’मा उपहार दिने चलन बढ्दो रहेको व्यापारीहरूको भनाइ छ। उनीहरूका अनुसार क्रिसमसमा विशेष गरी ग्रिटिङ कार्ड, डाइरी, पेन, फेल्ट, मेटल, ग्लासका सामग्री उपहारका रूपमा दिने चलन छ। त्यसो त रमाइलो गर्न तम्सने नेपाली युवाका लागि क्रिसमस एउटा रमाइलो गर्ने बहाना मात्र पनि बन्ने गरेको ठमेल गिफ्ट सपका सञ्चालक महावीर शर्मा बताउनुहुन्छ। उहाँ भन्नुहन्छ, ‘क्रिसमस डे’मा सम्बन्धित सामग्रीको व्यापार भने अवश्य बढेको छ। कलेज पढ्ने विद्यार्थीहरू साथीभाइसँग उपहार किन्न आउँछन्, उहाँले भन्नुभयो, “उपहार किन्न आउनेले ग्रिडिङ कार्ड पनि लैजान्छन्।” उहाँका अनुसार अधिकांशले साथीभाइका लागि उपहार किन्ने गरेका छन्। ‘क्रिसमस डे’का लागि टोपीको माग धेरै रहेको उहाँले बताउनुभयो।

त्यस्तै क्रिसमसमा धेरै रमाइलो गर्ने सुरसारमा देखिनुहुन्छ मैतीदेवीका आशिष राई। उहाँ भन्नुहुन्छ, म एकदमै उत्साही छु। इसाई धर्मावलम्बीका लागि यो ठूलो चाड हो, उहाँले भन्नुभयो। क्रिसमसमा साथीभाइ र आफन्तबीच भेटघाट हुने भएकाले पनि आफूलाई यो चाड मनपर्ने उहाँले बताउनुभयो।


डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमसमा सहरका मलहरूमा विशेष चहलपहल देखिन्छ। क्रिसमसका अवसरमा काठमाडौँको सिटी सेन्टर, सिभिल मल, भाटभटेनी, ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी यो चाड मनाउने गरिएको छ।

क्रिसमसको ठूलो आकर्षण भनेकै सान्टा क्लज हुन्। रातो टोपी लगाएका, सेतो दाह्री, जुँगा भएका मोटाघाटा साधुले सबैलाई उपहारका साथ खुसी बाँड्छन् भन्ने विश्वास रहँदै आएको छ। सान्टा क्लजको प्रतीक्षामा धेरै केटाकेटीहरू राति अबेरसम्म सुत्दैनन्। विभिन्न व्यक्तिहरू सान्टा क्लजको भेषमा उपहार र कोसेली बाँड्दै/साट्दै हिँड्छन्। 

अहिले समयअनुसार ‘क्रिसमस डे’ मनाउने ट्रेन्ड बदलिएको छ। अन्य उमेर समूहभन्दा युवाले रमाइलोसँग ‘क्रिसमस डे’ मनाउने गरेका छन्। युवाले सान्टा क्लजको टोपी तथा टिसर्ट लगाउने गरेका छन्। त्यसो त युवापुस्ताले हरेक चाडलाई सजिलै अपनाएको बताउनुहुन्छ, ठमेल गिफ्ट सपका सञ्चालक शर्मा। “अहिले युवापुस्तामाझ ‘क्रिसमस डे’ मनाउने ट्रेन्ड चलेको छ,” उहाँ भन्नुहुन्छ, “पहिला विदेशीको पर्व भनेर खासै महìव दिइँदैनथ्यो तर अहिले सम्मानका साथ मनाइन्छ।”