• २७ फागुन २०८२, बुधबार

चलचित्र ‘मुक्तिपुर’ को शुभमुहूर्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २७ गते । चलचित्र ‘मुक्तिपुर’ को मङ्गलबार शुभमुहूर्त गरिएको छ । काठमाडौँको वसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै मङ्गलबारबाटै चलचित्रको छायाङ्कनसमेत थालनी गरिएको छ । सुनिल पाण्डे निर्देशित चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने छ । चलचित्रको कथा पनि निर्देशक पाण्डेकै रहने छ ।  

विजय राजवंशी र रोशन पासवान निर्माता रहनुभएको चलचित्रले बदलाको कथा बोल्ने छ । “एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थितिपश्चात् उसले गर्ने सङ्घर्ष र सफलताको कथा उजगार गर्छ,” निर्देशक पाण्डेले भन्नुभयो । नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको प्रमुख भूमिमा रहने छ । चलचित्रमा आकृति बुढाथोकीले डेब्यु गर्दै हुनुहुन्छ । अभिनेता हुसैनले आफ्नो करियरको महत्वपूर्ण इँटा रहने आत्मविश्वाससहित चलचित्रमा जोडिएको बताउनुभयो । “हरेक चलचित्र मेरा लागि नयाँ होस् भन्ने चाहन्छु,” उहाँले भन्नुभयो, “चलचित्रले मेरो विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकसामु पस्किने छ ।” 

म्युजिक भिडियो अभिनयको अनुभव सँगाल्नुभएकी बुढाथोकीले ठुलो पर्दाको अभिनयलाई उत्साहित रहेको बताउनुभयो । अनुभवी निर्माण टिम र अनुभवी कलाकारसँग जोडिनु आफ्नो लागि ठुलो उपलब्धि रहने भन्दै आफ्ना पात्रलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।