• २५ फागुन २०८२, सोमबार

‘एक मुट्ठी बादल’ को प्रदर्शन मिति तय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २५ गते । नेपाली फिचर फिल्म एक मुट्ठी बादल : माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो । चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको चलचित्रलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन मिलेर निर्माण गरेका हुन् । 

तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत  गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकाङ्क्षालाई रोचक शैलीमा प्रस्तुत गर्ने छ । चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ । चलचित्रले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट  ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली चलचित्रका रूपमा इतिहासमा नाम लेखाएको छ । चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गर्नुभएको हो भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहनुभएको छ ।