• १० मंसिर २०८१, सोमबार

दाङको छिल्लीकोटमा जीपलाइन सुरु हुँदै

blog

गोकर्ण पौडेल 

तुलसीपुर, पुस ९ गते । तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन तीन महिनाभित्र सञ्चालनमा ल्याइनेभएको छ । जीपलाइनको तार झुण्ड्याउने मात्रै काम बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ । 

नेपालको विभिन्न ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएसँगै लुम्बिनी प्रदेशको दाङमा पहिलो पटक जीपलाइन सञ्चालनमा ल्याउन थालिएको हो । छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जीपलाइनको काम गरिरहेको छ । 

कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार दुई करोड दश लाखको लागतमा जीपलाइन  सञ्चालनमा ल्याउन थालिएको छ । तुलसीपुर उपमहानगरपालिका –१९ मा रहेको भुल्के र कालिका सामुदायिक वनसँग जीपलाइन सञ्चालनका लागि दशवर्षे सम्झौता गरिएको छ ।

सम्झौताअनुसार कम्पनीले प्रतिवर्ष प्रतिहेक्टर ३५ सय कर तिनुपर्नेछ । निर्माण कम्पनीले भने जीपलाइन क्षेत्रमा दुई कठ्ठा जग्गा मात्रै प्रयोग हुने बताएको छ । जीपलाइन कालिका मन्दिरबाट सुरु हुने र भूल्के सामुदायिक वनको चोरकाटे भेरीखोरमा ल्याण्डिङ हुनेगरी निर्माण गरिएको छ  । जीपलाइन करिब १२ सय मिटरको दूरीमा रहनेछ । निर्माण कम्पनीले उक्त जीपलाइन नेपालकै सबैभन्दा लामो दूरीको दाबी गरिएको छ । 

जीपलाइनमा चढेबापत कालिका मालिका मन्दिर व्यवस्थापन, विकासका लागि प्रतिव्यक्ति एक सय छुट्याउने सम्झौता गरिएको छ । सञ्चालक शिव श्रेष्ठका अनुसार त्यहाँ कम्पनीले जीपलाइन निर्माणसँगै रिसोर्ट र मन्दिर क्षेत्रमा पार्क समेत निर्माणको लक्ष्य राखेको छ ।

स्थानीय परवीर पुनका अनुसार जीपलाइन निर्माण भएसँगै त्यहाँको पर्यटन आकर्षणमा थप टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिल्लीकोटको ऐतिहासिक, धार्मिक, जैविक क्षेत्रको प्रसार प्रचारका साथै जीपलाइन सञ्चालनले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि थप टेवा पुर्याउने छ ।’ 

छिल्लीकोटमा पर्यटक आकर्षणका लागि लुम्बिनी प्रदेश सरकारको सहयोगमा कालिका मालिका मन्दिरको जीर्णोद्धार, तुलसीपुर उपमहानगरपालिकाले भ्युटावर निर्माण गरेको छ । छिल्लीकोटसम्म पुग्न बिजौरी स्यालापानी हुँदै भित्री स्यालापानीसम्म सडक कालोपत्रे गरिएको छ । पर्यटकहरूको सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने तयारी भइरहेको तुलसीपुर उपमहानगरपालिका वडा १९ का वडाध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।