• २० कात्तिक २०८१, मङ्गलबार

थारू जातिमा विवाह

blog

नेपालमा विभिन्न जातजातिअनुसार आ–आफ्नै तरिकाले विवाह उत्सव मनाउने प्रचलन रहिआएको छ । त्यसमध्ये थारू समुदायमा हुने विवाह परम्पराको आफ्नै खालको विशेषता र महŒव रहिआएको छ ।  

विगतमा थारू समुदायमा विवाह खासगरी सानै उमेरमा गर्ने चलन रहेको थियो । त्यसमा पनि सानो छोराको विवाह उमेर पुगेकी कन्यासँग गरिदिने परम्परा रहेको थियो । जसका कारण छोेरा हुर्किंदा हुर्किंदै बुहारी चाहिँ बूढी भइसक्ने र छोराले अर्को विवाह गर्ने अवस्था रहन्थ्यो तर अहिले यो अवस्थामा धेरै नै सुधार आइसकेको छ । यसैगरी पहिले आमा बुवाले हेरिदिएको केटासँग केटीले विवाह गर्नैपर्ने अनिवार्य नियम थियो तर अहिले अवस्था ज्यादै बदलिएको छ ।

थारू समुदायमा विवाहका लागि तल्लो र उपल्लो जात वा थरमा भेदभाव छैन । सबै थरकाले एक आपसमा बिनासामाजिक रोकतोक विवाह गर्न सक्छन् तर थारूले आफ्नो गोत्रभित्र पर्ने जतिसुकै पुरानो गोतियार भए पनि हाडनाता लाग्दछ भन्ने मान्यताअनुरूप चेलीबेटी दिने तथा लिने चलन छैन ।

यस जातिमा विवाह गर्नका लागि ज्योतिष, ब्राह्मण आदिको सहयोग लिएर केटा र केटीको जन्मकुण्डली हेरी साइत मिलाइराख्नु पर्दैन । फागुन महिनाको शनिबारबाहेक अरू सबै दिन विवाह गर्नका लागि उपयुक्त दिन मानिन्छ । 

थारू समुदायमा विवाह गर्ने विभिन्न तरिका रहेका छन् । जुन यस प्रकार रहेका छन् : 

(क) सोहोरा दोहोरा चलैना (कुरा चलाउनु) 

विवाह गर्न योग्य छोराछोरी भएपछि खासगरी घरको प्रमुखले विवाहका लागि आफ्ना हितैषी, नातेदारमार्फत विवाहको कुरा चलाउन पर्दछ । जसलाई सोहोरा दोहोरा चलैना भनिन्छ ।

(ख) दुलही व दुलाहा हेर्ना (दुलही र दुलाहा हेर्ने)

कात्तिक र मङ्सिर महिनाको सुरुसँगै थारू समुदायमा भोज, विवाहको प्रसङ्ग पनि सुरु हुन्छ । त्यसपछि घरको कुनै अगुवा हातमा लौरो लिएर आफ्नो नातागोता र इष्टमित्रकहाँ केटा वा केटीको खोजीमा निस्कन्छन् । यस क्रममा दुलाहा पक्षले दुलही र दुलही पक्षले दुलाहाको घरद्वार हेर्ने गर्दछन् तर अचेल दुलाहा दुलही स्वयं एकअर्कालाई हेरी मन पराउने चलन विकास भएर गएको छ । थारू समुदायमा विवाहका लागि दुवैतर्फबाट कुरा मिल्यो भने कसम खुवाउने कर्म पूरा गरिन्छ । जसलाई थारू संस्कारमा डोना उठैना भनिन्छ ।  

(ग) बर देखाई, पक्का पोह्री, ठोकठाक (वर देखाउनु अथवा पक्कापक्की गर्नु)

विवाहका लागि दुवै पक्ष मन्जुर भएपछि त्यसलाई औपचारिक मान्यता दिनका लागि गरिने भोजलाई पक्का पोह्री भन्ने गरिन्छ । जसलाई ठाउँअनुसार ठोकठाक, बर देखाई आदि पनि भनिन्छ । पक्का पोह्रीका लागि दुलाहा वा दुलहीको घर निर्धारण गर्ने, गते वा दिन तय गर्ने तथा समयसमेत निर्धारण गर्ने कार्य दुवै पक्षको आपसी सहमतिबाट गरिन्छ । 

त्यसैगरी दुलाहा तथा दुलही दुवैले एकापसमा टीका तथा माला लगाइदिने चलन पनि छ । यसपछि दुलाहाका बुवा वा निजको जेठो दाजुले उपस्थित सबैलाई टीका लगाइदिने गर्दछन् । त्यसपछि दुलही पक्षका अतिथिले दुलाहालाई टीका लगाई गच्छेअनुसारको पैसा दिने गर्दछन् । अनि खानपिन कार्य सुरु हुन्छ । 

पक्का पोह्री भोजमा सुँगुरको मासु र जाँड, रक्सी अनिवार्य हुनु पर्दछ । यसका साथै अन्य परिकार पनि तयार पारी अतिथिहरूलाई खुवाइन्छ । यसैबेला दुवै पक्षका इष्टमित्रबीच चिनजान गराउने तथा नयाँ नाता फेर्ने कार्य पनि हुन्छ । साथै दुवै पक्षलाई सजिलो तथा व्यावहारिक हुने गरी विवाहको दिन तय गर्ने तथा लगन जुराउने कार्य पनि यसैबेला गरिन्छ । पक्का पोह्री गर्ने चलन हाल पनि थारू समाजमा जीवन्त रहेको छ ।

(घ) भोज कैना (बिहे गर्ने)

विवाह सुसम्पन्न गर्ने क्रममा विवाहको तयारी भव्य रूपमा गर्ने गरिन्छ । घर लिपपोत गरी सफा बनाइन्छ । जाँड, रक्सी आफ्नो घरमा बनाउनुका साथै गाउँका नातागोतालाई पनि बनाउन दिइन्छ । जङ्गलमा गई सालको पात टिपेर ल्याई दुना टपरी आदि बनाउने गरिन्छ । 

(ङ) निउटा बँट्ना (निम्तो बाँड्ने)

थारू चलनअनुसार भोज वा विवाहको निमन्त्रणामा हल्दीको दुई दुई पोटी दिने गरिन्छ । यसका लागि निम्तो बाँड्ने काम गाउँका सहयोगीले गर्दछन् । नजिकका अतिथिलाई दुई÷चार दिन अगावै आउनसमेत विशेष आमन्त्रण गर्ने चलन छ । 

(च) चाउर पर्छ जैना

बरात जानुभन्दा एक दिन अगाडि सगुनका रूपमा तथा जन्तीले खाना खाने भन्ने नाउँमा चामल, दाल, नुन, तेल, बेसार र अन्य तरकारी दुलहीका घरमा पठाउने गरिन्छ । जसलाई चाउर पर्छ जैना भन्ने गरिन्छ । यसरी जाँदा यी सामग्री अन्दाजी नापअनुसार पठाउने चलन छ तर अचेल नाम मात्रको पठाउने चलन चल्न थालेको छ । सगुन लिएर चाउर पर्छ जानु अगाडि भोजिन्याले घरको देवस्थानमा दियो बाली पूजा गर्ने गर्दछिन् ।

(छ) डिउली डर्ना

जन्ती जानु अघिल्लो साँझ घरको बहरीमा डिउली डर्ना गर्नुपर्दछ । यो काम दुलाहा र दुलही दुवैको घरमा गरिन्छ । डिउली डर्ना काम भोजिन्या र नेधरिन्याहरूले गर्नुपर्दछ । डिउली डर्ना जाँतोमा मास पिस्नु हो । 


मास दाललाई थारूले उरुद भन्ने गर्छन् । मास छिटो छिटो पिस्ने काम गरिन्छ । यो पिस्ने क्रममा सुरहवाहरूले बेलाबेलामा जाँतोको बिँड समाती पटक पटक रोक्ने गर्दछन् । यसपछि भोजिन्या तथा तिनका सहयोगी मिली माँगर गाउने गर्दछन् र डिउली डार्न दिन अनुरोध पनि सोहीअनुसार पटकपटक गर्दछन् । 

(ज) बरात जैना (जन्ती जाने)

जन्ती जानेलाई थारू भाषामा बरात जैना भनिन्छ । जन्ती जाने दिन बिहानैदेखि भान्से महिलाहरू खानपिनको व्यवस्था गर्नमा लाग्छन् । यस दिन दुलाहालाई विशेष तयारी गर्ने कार्यक्रम रहन्छ । जुन क्रममा दुलाहाको खुट्टा र जिउमा तेल लगाइदिने गरिन्छ । त्यसपछि दुलाहाकी दिदीबहिनीले नजिकैको कुवामा उनलाई मिचिमिची नुहाइदिने गर्छन् । 

दुलाहालाई पूजा गराइसकेपछि दुलाहाको शृृङ्गारको काम सुरु हुन्छ । दुलाहाको पहिरनमा टाउकोमा सेतो पगिया, जिउमा सेतो जामा, त्यसमाथि रातो रङको दुइटा सप्की, कम्मरमा सुरुवाल र गरगहना हुन्छ । दुलाहाको साथमा रहने दुलाहाकै दुरुस्त लुगा लगाई एक वा दुई जनालाई सैवलवा सप्राउने कार्य पनि सँगै गरिन्छ । यस क्रममा पनि दुलाहाकी आमा, काकी, भाउजूहरूले दुलाहा सिँगार्ने, माँगर गाउने चलन छ । जस्तै ः

हाँसी हाँसी दुल्हारे फेँटवा जे पहिरे, 

सुगुना झाँकी रे झाँकी जावै रे ।

देहु दुल्हा भैया हमहुक फेँटवा, 

हमहु चलवी बरियात रे ।।

(झ) छाई पठैना (दुलहीको बिदाइ गर्ने)

जन्ती आइसकेपछि दुलहीको घरमा दुलहीलाई सिँगारपटार गर्ने कार्य सुरु हुन्छ । दुलहीका साथीहरूले दुलाहाले दिएको लुगा लगाइदिने गर्दछन् । विभिन्न खालका गरगहना लगाई दुलहीलाई राम्री बनाउने काम गरिसकेपछि दुलहीका आमा, भाउजूहरू छोरीको बिदाइका क्रममा जोरले रुन थाल्छन्, जसलाई थारू भाषामा भेँट्ना भनिन्छ ।

दुलहीलाई शृङ्गार गरिसकेपछि दुलहीका दाजु वा भाइले दुलहीलाई पिठ्युँमा बोकेर बाहिर ल्याउँछन् । दुलहीलाई डोलीमा चढाउने काम भन्सरियाहरूले गर्दछन् । यो काम निकै कठिन हुन्छ किनकि दुलही सजिलै डोलीमा बस्न मान्दिनन् । डोलीमा दुलहीलाई स्याहार्नका लागि एक जना नकोँदी (दुलही स्याहार्ने) पनि बस्ने गर्छिन् केही समयका लागि मात्र ।

दुलही रुन छोडेपछि ती नकोँदी पनि अन्यको साथमा गई बस्छिन् । दुलही बसेपछि दुलाहाले एक लात डोलीमा हान्ने चलन पनि कतै कतै छ । यसपछि दुलही रुन छोड्नु पर्दछ । दुलहीको भुर्की वा लोटा बोकेर आउने दुलहीको भाइको अझ ठूलो मान हुन्छ दुलाहाको घरमा । निजलाई दुलाहा पक्षबाट केही नगद रकम दिने समेत गरिन्छ । दुलहीका लागि भनी भाइले बोकेर ल्याएको लोटामा साजेको पानी हुन्छ । दुलहीलाई पानी पिउन मन लागेमा सोही लोटाको पानी मात्र पिउन दिने गरिन्छ ।

(ञ) दुलाहा दुलही पर्छना

दुलही लिएर जन्ती फिर्ता भएपछि दुलाहा चँडोलबाट ओर्लिन्छ । दुलहीलाई भने डोलीबाट भन्सरियाहरूले मिलेर ओराल्छन् । त्यसपछि दुलाहा र दुलही दुवैलाई घरको मूल ढोकानिर उभ्याई पर्छिने कार्य हुन्छ । यसका लागि घरको ढोका अगाडि गुन्द्री बिच्छाइन्छ । त्यसको अगाडि दियो बालिन्छ । गुन्द्रीमा दुलाहा दुलहीलाई उभ्याई दुवैको टाउकोको घेरा बनाई चामलले पाँच, सात पटक घुमाएर दुवैको टाउको आपसमा ठोक्काउने गरिन्छ, जसलाई थारू भाषामा दुलाहा दुलही पर्छिने भनिन्छ । 

पर्छिसकेपछि घरमा पस्नै लाग्दा दुलाहा र दुलहीको लुगा बलियो गरी गाँठो पारिदिनु पर्दछ । गाँठो जति बलियो हुन्छ त्यत्तिकै बलियो सम्बन्ध रहन्छ भन्ने मान्यता छ । दुलही लिएर दुलाहा डिहुरार (पूजाकोठा) जाने क्रममा बीचबीचमा फुपू, दिदीबहिनी र भान्जीहरूले बाटो छेक्ने चलन छ । यस्तो बेला दुलाहाले विभिन्न किसिमको वाचा गर्ने, जिन्सी तथा नगद उपहार दिएर बाटो फुकाउने चलन रहेको छ ।

डिहुरार पुगिसकेपछि दुलाहा र दुलही दुवै जनालाई देउथान अगाडि गुन्द्रीमा बसाइन्छ । त्यसबेला दुलाहा र दुलही दुवैलाई देउथानका देउताको पूजा गर्न लगाइन्छ । त्यसपछि दुलहीले दुलाहाको खुट्टामा तेल लगाइदिने, दुलाहाको जुठो रक्सी खाने जस्ता क्रियाकलाप सम्पन्न गरिन्छ ।

यसैगरी दुलही पु¥याउन भनेर आएका नकोँदी पठलहरालाई भन्सरियाहरूले विशेष सत्कार गर्ने गर्दछन् । दुलहीको साथमा आएका पाहुना प्रायः भोलिपल्ट घर फर्किन्छन् । दुलहीले दुलाहाको घरमा आएको पहिलो रात चाहिँ आफ्नो साथीसङ्गीहरूसँगै बिताउने गर्छिन् । भोलिपल्ट पठलहरी बगाल सबै फिर्ता भएपछि त्यस दिनको रात भने दुलही आफ्नो दुलहाको साथमा बिताउन पाउँछिन् ।

दुई-चार दिन दुलहाको घरमा बसिसकेपछि दुलाहा र दुलही दुवैजना पहिलो पटक दुलहीको घरमा जान्छन् । पहिलो पटक ससुराली आउँदाको स्वागत ज्यादै भव्य र स्मरणीय हुन्छ । केही दिनको बसाइपछि पुनः दुलाहा दुलही आफ्नो घर फर्कन्छन् । अलि लामो समय बसेपछि फेरि विशेष तयारीका साथ ससुराली घर जान्छन् । त्यसबेला दुलाहाले दुई÷चार जोर गुन्द्री, सोही सङ्ख्यामा मचिया, पङ्खा साथमा लिएर जान्छन् । दुलहीका नजिककोे आफन्तजस्तै मामा, फुपू आदि नातेदारहरूकहाँ नवविवाहितहरू पालैपालो आतिथ्यता ग्रहण गर्न जाने चलन छ ।