• २८ असोज २०८२, मङ्गलबार

धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलबबाट वञ्चित

blog

धनुषास्थित छिरेश्वरनाथ नगरपालिकाको कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असोज, २८ गते । धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनीक समास्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएको बताइएको छ ।

नेपाल शिक्षक सङ्घ धनुषाका सुरेश यादवले मिथिला, छिरेश्वरनाथ, जनकपुरधाम, धनुषाधाम, सहिदनगर, कमला, हंसपुर, धनौजी, मुखियापट्टी मुसहरनिया, मिथिला बिहारी, औरही र जनकनन्दिनी गरी १२ वटा स्थानीय तहका शिक्षक साउन महिनादेखि तलब पाउन नसकेको बताउनुभयो । चाडपर्वको बेलामा समेत तलबभत्ता नपाउँदा शिक्षक निराश बनेको उहाँले सुनाउनुभयो । 

उहाँका अनुसार शिक्षकले सम्बन्धित स्थानीय तहका प्रमुखलगायत सरोकारवाला निकायमा पटकपटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ हुन सकेको छैन । सङ्घीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबिचको आन्तरिक मतभेदका कारण रोकिएको हो । 

उहाँले भन्नुभयो, "सङ्घीय सरकारले शिक्षकको तलब मासिक रूपमा निकासा गर्ने व्यवस्था गरेको छ, तर स्थानीय तहको बेथितिले शिक्षक समस्यामा परेको छ । यदि दिपावलीअघि पनि तलब उपलब्ध नगराए सङ्घर्षका घोषणा गर्छाैं ।" शिक्षकको तलब यथाशीघ्र निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गर्नुभयो । 

राष्ट्रिय कर्मचारी आन्दोलन परिचालन समिति छिरेश्वरनाथका संयोजक विष्णुदेव यादवले तलबभत्ता रोकिँदा साधारण जीवन यापन गर्नसमेत आर्थिक सङ्कट उत्पन्न भएको दुखेसो सुनाउनुभयो । उहाँले दसैं, तिहार र छठजस्ता पर्वका बेलामा समेत कर्मचारी तलब भत्ताबाट बञ्चित हुनुपरेको बताउनुभयो । 

जिल्लाको १८ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहले आर्थिक वर्ष २०८२-०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न नगर सभा गर्न सकेको छैन । नगर सभा सम्पन्न गरेका सात वटा स्थानीय तहले पनि प्रशासनीक समस्याका कारण शिक्षकको लगायतका कर्मचारीको तलब भत्ता उपलब्ध गराउन सकेको छैन । बजेट समयमै नआउँदा स्थानीय विकास, पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा समेत असर परेको स्थानीयको भनाइ छ । 

छिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामउदगार अधिकारीले नगर सभा नभएकाले शिक्षकको तलब भत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो । नगर प्रमुख सुखदेव यादवले नगर सभा सम्पन्न गर्न नियमित छलफलमा रहेको जानकारी दिनुभयो ।