अस्मिता पोखरेल
धादिङबेंसी, असोज २८ गते । धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान गरिएको छ । डिभिजन वन कार्यालय धादिङले वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान गरेकोे हो ।
“प्रकृतिको अस्तित्व स्वीकार गरौं, संरक्षणको स्तर उकासौं” भन्ने नारासहित आयोजना गरेको विशेष कार्यक्रममा ९ जना जीवित र ३ जना दिवंगत व्यक्तिलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भरतबहादुर के.सी.को प्रमुख आतिथ्य थियो । मन्त्री के.सी.ले जिल्लाभित्रका सक्षम सामुदायिक वनहरूले असक्षम सामुदायिक वनलाई सहयोग गर्ने नीति अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक वनको ब्याकलक अन्त्य गरी बागमती प्रदेशभरका सबै सामुदायिक वनहरूको कार्ययोजना पूर्ण रूपमा भएको घोषणा गरिने कार्ययोजना रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले हालका वनसम्बन्धी कानुनी प्रावधानका कारण वन पैदावार निकासीमा समस्या उत्पन्न भएको बताउनुभयो ।
उहाँका अनुसार यस्ता अवरोधका कारण नेपालले हरेक वर्ष अर्बौं मूल्यका काठ विदेशबाट आयात गर्नुपरेको छ, जबकि देशभित्रका काठहरू जङ्गलमै सडेर नष्ट हुने अवस्था सिर्जना भएको छ । उहाँले यस्तो समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न प्रदेश सरकार र वनमन्त्रीलाई पहल गर्न आग्रह गर्नुभयो । यो सम्मानले अरूलाई पनि संरक्षणमा संलग्न हुन प्रेरित गर्ने ढुङ्गानाले भन्नुभयो।
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले समाजका अग्रणी व्यक्तिहरूको वन संरक्षणमा रहेको योगदान प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा संरक्षण अभियानलाई अझ प्रभावकारी र व्यापक बनाइने जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा “वातावरण शिक्षा” नामक पुस्तक पनि सार्वजनिक गरिएको छ । डिभिजन वन कार्यालय धादिङद्वारा प्रकाशित उक्त पुस्तक विशेष गरी बालबालिकामा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो ।