• १२ वैशाख २०८१, बुधबार

लोकतान्त्रिक अभ्यास

कांग्रेस अरूभन्दा फरक

blog

काठमाडौँ, पुस ८ गते । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभयो । बुधबार सम्पन्न निर्वाचनमा सभापति देउवासँगै महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको थियो । 

आफूभन्दा ३० वर्ष कान्छा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै गर्दा पनि प्रधानमन्त्री देउवा हँसिलो मुहारमा मनोनयनपत्र भर्न पुग्नुभयो । महामन्त्री थापाले पनि उत्साहपूर्ण मुद्रामा मनोनयन भर्नुभयो । 

यो दृश्य अहिले चर्चामा छ । राजनीतिशास्त्री एवं विश्लेषक प्रा. डा. लोकराज बराल र प्रा.डा. मीना वैद्य मल्ल कांग्रेसको यो अभ्यासलाई सकारात्मक नजिर भन्नुहुन्छ । 

बरालले भन्नुभयो, “कांग्रेस संसदीय दलको नेता चयनको सन्देश प्रस्ट छ । कांग्रेसले अरू केही नभए पनि हाँसेरै प्रतिस्पर्धात्मक ढङ्गले संसदीय दलको निर्वाचन सम्पन्न गरेको छ । देउवाजी दलको नेता निर्वाचित हुनुभयो । पार्टीको प्रतिपक्षका रूपमा गगन थापाले उम्मेदवारी दिएर प्रतिस्पर्धा भयो । यो उदाहरणीय लोकतान्त्रिक अभ्यास हो ।”

उहाँले दलको निर्वाचनलाई सम्मानपूर्ण र समझदारीका आधारमा निर्वाचन सम्पन्न हुनुले पार्टीभित्र लोकतान्त्रिक पद्धति स्थापित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनमा पनि आन्तरिक प्रतिस्पर्धा देखियो, पद्धतिको विकासमा कांग्रेसको अभ्यास सकारात्मक छ तर कांग्रेसले सैद्धान्तिक र व्यावहारिक विषयलाई ध्यान दिनुपर्छ ।”

उहाँले अरू पार्टीले पनि लोकतान्त्रिक प्रक्रिया थालनी गर्नुपर्ने बताउँदै नेतृत्वसँग प्रतिस्पर्धा गर्नेलाई निर्वाचनमा टिकटै नदिने र पार्टीबाट बिदा नै लिने अवस्था सिर्जना गर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “लोकतान्त्रिक अभ्यास पार्टीभित्र लोकतन्त्रको सञ्चार पनि हो । नेतृत्वसँग प्रतिस्पर्धा गर्दा टिकट नदिने, पार्टी नै छोड्नुपर्ने अवस्था भएको उदाहरण पनि छन् ।  डा. भीम रावल, घनश्याम भुसालजीजस्ता नेताहरू त्यसका उदाहरण हुन् तर कांग्रेसले जे अभ्यास गरेको छ, त्यो आन्तरिक लोकतन्त्र सुदृढ गर्न महìवपूर्ण छ ।”

‘प्रतिस्पर्धा नगर्ने संस्कार हाबी छ’

त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका पूर्वविभागीय प्रमुख प्रा. डा. मीना वैद्य मल्लले पात्र, प्रवृत्ति, जनताप्रतिको विश्वास र सोच एकातिर राखेर हेर्दा निर्वाचन सम्पन्न हुनु पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले निर्वाचन पारदर्शी र जवाफदेही भएकाले निर्वाचित भएर आएपछि जनतामा विश्वास कायम हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “चाहे कांग्रेसले गरोस्, चाहे एमाले, माओवादी वा अन्य कुनै पार्टीले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नु भनेको सकारात्मक सन्देश हो, राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने युवाको प्रवेश भएको पुष्टि हो यो ।” उहाँले देश लोकतान्त्रिक गणतन्त्रको अभ्यास गइसके पनि पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा नगर्ने, कार्यशैलीको विरोध नगर्ने, परिवर्तन पनि नचाहने र पुरानै नेतृत्वलाई निरन्तरता दिने प्रवृत्ति हाबी रहेको बताउनुभयो । 

साथै जनताको मानसिकता जो आए पनि फरक पर्दैन भन्ने भइसकेकाले त्यसलाई बदल्नेतर्फ राजनीतिक दल लाग्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “संस्थागत विकासका लागि पनि नेतृत्वमा प्रतिस्पर्धा र परिवर्तन आवश्यक छ । नभए व्यक्तिवाद हाबी हुन्छ । देशले के पाउँछ, जनताले के पाउँछन् भन्ने कुरा प्राथमिकता हुनुपर्छ ।”

कांग्रेस अरूभन्दा धेरै फरक

राजनीतिशास्त्री, कूटनीतिज्ञ एवं पूर्वराजदूत विजयकान्त कर्णले नेपाली कांग्रेस अरू राजनीतिक दलभन्दा धेरै फरक देखिएको बताउनुभयो । उहाँले नेतृत्वलाई चुनौती दिने, प्रतिस्पर्धा दिने र फरक मत राख्ने वातावरण अन्य राजनीतिक दलमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्ज र बुटवल महाधिवेशनसम्म एमालेमा लोकतान्त्रिक अभ्यास थियो तर पछिल्लो समय पार्टी कब्जा गर्ने उद्देश्यले नेतृत्व लागेको देखिन्छ, कांग्रेसबाहेकका दलहरूमा एक जनाले जे निर्णय गर्छ त्यही सर्वस्वीकार्य हुने पद्धति विकास गरिएको छ, यो राम्रो होइन ।”

नेतृत्वलाई कसैले चुनौती दिन नसक्ने अवस्था आएमा पार्टीभित्र आलोचनात्मक चेतना प्रवाह हुन नसक्ने बताउँदै पूर्वराजदूत कर्णले नेतृत्वको कार्यशैलीलाई चुनौती दिनेलाई पार्टीबाट हटाउनु भनेको आन्तरिक लोकतन्त्र कमजोर हुनु हो भन्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसमा बीपी कोइराला नेतृत्वमा हुँदा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई बोल्नुहुन्थ्यो । भट्टराई सभापति हुँदा गिरिजाप्रसाद कोइराला बोल्नुहुन्थ्यो, नेतृत्वको आलोचना गर्नुहुन्थ्यो । गिरिजाप्रसाद सभापति हुँदा भट्टराईसँगै देउवा बोल्नुहुन्थ्यो । अर्थात् कांग्रेसभित्र लोकतान्त्रिक परम्परा स्थापनाकालदेखि नै छ ।”