• १३ वैशाख २०८१, बिहिबार

कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको प्रतिस्पर्धा

blog

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दिन पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासहितका शीर्ष नेता । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ५ गते । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । 

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बन्नुभएको छ । उहाँको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । 

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहनुभएका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल हुनुहुन्छ ।

मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दिन प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा र महामन्त्री थापा सिंहदरबार एकसाथ पुग्नुभएको हो । हँसिलो अनुहारसहित संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएका सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको साथ रहेको छ । 

पार्टी महामन्त्री थापालाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा‍‍‍. शेखर कोइराला र प्रदीप पौडेललगायतका नेताको साथ रहेको छ ।  

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।


सभापति देउवाको राजनीतिक यात्रा 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। समकालीन नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म लगातार उहाँ  विजय हुनुभएको छ। २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देउवा विजयी हुनुभएको हो। 

उहाँ २०७९ असार २९ गते पाँचौँ पटक देशको प्रधानमन्त्री हुनुभएको हो । उहाँले पाँचौँ  पटकसम्म देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भएर देशको शासनको बागडोर सञ्चालन गर्नुभएको छ। 

देउवा नेपाली कांग्रेसको सभापति पदमा दोस्रो कार्यकालको नेतृत्व गरिरहँदा प्रतिनिधि सभा सदस्य सदस्यमा विजयी हुनुभएको हो। २०४८ सालको प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा उहाँ ४५ वर्षको हुनुहुन्थ्यो। त्यो जीतसँगै उहाँ गृहमन्त्री बन्नुभयो। त्यसपछि उहाँको राजनीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ। 

उहाँ डडेलधुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएको हो। विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरेर करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनु भएको छ। 

पञ्चायत कालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित हुनुभयो। 

त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो। वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुराबाटै विजयी हुनुभएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र गठबन्धनलाई लिएर यो पटक चुनावमा जानु भएको हो ।

वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नुभयो। उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ। कानुनमा स्नातक उहाँले भारतको जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट मानार्थ विद्यावारिधि (पिएचडी) प्राप्त गर्नुभएको छ।

महामन्‍त्री थापाको राजनीतिक यात्रा

नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट महामन्‍त्री थापा नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको हो। नेपाली युवा राजनीतिक नेतामा उच्च छवि बनाउनु भएका थापा कांग्रेसका प्रभावशाली युवा नेतामध्ये एक हुनुहुन्छ।

उहाँ वि.सं. २०३३ सालमा काठमाडौंमा जन्मनुभएको हो। कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनबाट थापाको राजनीतिक क्षेत्रमा सक्रियता बढेको थियो। २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएपछि विद्यार्थी राजनीतिको नशाले उहाँलाई झन् आकर्षित गर्‍यो।  त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उहाँ स्ववियु सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा थापाको संलग्नता बढ्नु स्वाभाविक बन्यो। 


नेविसङ्घको उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुँदै उहाँ कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदमा विजयी हुनुभएको हो। उहाँ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा काठमाडौं क्षेत्र नं.४ बाट विजयी हुनुभएको हो । थापा पूर्व स्वास्थ्य मन्त्रीसमेत हुनुहुन्छ । कांग्रेसमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीको रुपमा लिने गरिन्छ ।  तस्बिर : केशब गुरुङ