• २३ वैशाख २०८१, आइतबार

संसदीय दलको नेतामा सभापति देउवालाई मेरो समर्थन : वरिष्ठ नेता पौडेल

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलमा समर्थन गर्न सिंहदरबार पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ५ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताउनुभएको छ ।

मङ्गलबार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रुपमा पुग्नुभएका वरिष्ठ नेता पौडेलले अहिलेको असहज परिस्थितिमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको असहज परिस्थितिमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’’

उहाँले संसदीय दलको नेतामा सभापति देउवा निर्विरोध हुने दाबीसमेत गर्नुभयो । तर कांग्रेस महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पार्टीका नेता डा. शेखर कोइरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसक्नुभएको छ ।

नेता पौडेलले नवनिर्वाचित कांग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्न आग्रह गर्नुभयो ।