• १६ चैत २०८०, शुक्रबार

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

blog

नगर प्रमुख बालेन्द्र साह र प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गर्नुहुँदै । तस्बिर : नेपाली सेना

काठमाडौं, मङ्सिर २८ गते । बुधबार २८ औँ महानगर दिवसको अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

काठमाडौं महानगरपालिका तथा सेनाको सहकार्यमा बुधबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह र प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गर्नुभएको हो ।

बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने उक्त स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्य रहेको सेनाले जनाएको छ ।


सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छातीसम्बन्धी रोगको उपचार हुने छ ।

त्यसै गरी सो शिविरमा रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्शसमेत निःशुल्क रूपमा उपलब्ध गराइने छ ।

शिविरमा ईसिजी तथा रक्तचाप, मधुमेह चेकजाँचलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराई चिकित्सकहरूको सिफारिस अनुसार निःशुल्क औषधिसमेत वितरण गर्ने व्यवस्था रहेको सेनाले जनाएको छ ।