ऋजा कुटुव
हाम्रो विद्यालयले कहिलेकाहीँ शैक्षिक भ्रमण पनि लाने गरेको छ । यस क्रममा यही २०७९ भदौ ३१ गतेका दिन हामीलाई सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथीभरासम्म लगिएको थियो । त्यस दिन च्याह्मासिंहमा पढ्ने सबै विद्यार्थीलाई दुई समूहमा बाँडेर भ्रमणमा लाने योजना भएअनुसार हामी कक्षा ८ को एउटा सेक्सन र १० का विद्यार्थी एउटा समूहमा र ९ कक्षाका अर्को समूहमा बाँडियौँ । कक्षा ९ का विद्यार्थीहरू डोलेश्वर जान हिंडैें ।
लगभग ११ बजेतिर विद्यालयबाट हिँड्दा सिमसिमे पानी पर्न थाल्यो । भित्री बाटो हुँदै हाम्रो समूह सूर्यविनायक मूलसडक निस्क्यो । अरू दिन कक्षाभित्र कुचुक्क परेर बस्दै पढ्नुपर्ने हामी, आज सर, मेम र साथीसँगै खुला प्राकृतिक वातावरणमा रमाउँदै हिँड्न पाउँदा साह्रै आनन्द लागिरहेको थियो । हामी मधुरो स्वरमा गीत पनि गाउँदै हिँड्यौँ ।
मध्याह्नको घाममा सूर्यविनायक जङ्गलको उकालो ! अन्य साथीहरू त सजिलै हिँड्दै थिए । अलि मोटी भएकी हुँदा मलाई चाहिँ निकै गाह्रो भयो । म निराश भएर फर्कन खोज्दा साथी र सरहरूले, “अब यहाँसम्म आइसकेर बीचैबाट फक्र्यौ भने तिमीले आजको रमाइलो अनुभव गर्न पाउने छैनौँ । विस्तारै प्रयास गर न !” भनेर हौसला दिनुभयो । त्यसैले बीचबीचमा बस्दै भए पनि म विस्तारै हिँडन थालेँ । बल्लतल्ल १२.३० तिर हामी डाँडामा पुग्यौँ । त्यहाँ एकछिन थकाइ मारेर उत्तीस, चिलाउने, लालीगुराँश, मौवा, ऐँसेलुजस्ता रुख–वनस्पतिको अवलोकन ग(यौँ । साथीहरू फोटो खिचेर रमाउँदै थिए ।
त्यहाँबाट देब्रेतिरको तेर्सो बाटो केहीबेर हिँडेपछि हामी थोरै ओरालो झर्ने ठाउँमा पुग्यौँ । त्यहाँ देब्रेपट्टि सानो चौरमा एउटा दुर्घटनाग्रस्त ठूलो हवाईजहाजको अवशेषजस्तो देखियो । एक–दुई जना साथी बाटो छोडेर त्यतातिर जाँदै थिए । हामी भने सरासर बाटो लाग्यौँ । हाम्रो गन्तव्य पाथीभरा पुग्दा दिनको १.३० भएको थियो ।
बाटोको देब्रेतिर जङ्गलको मुखैमा रहेछ आकर्षक पाथीभरा मन्दिर । केही खुड्किला चढेर पुगिने । ताप्लेजुङको पाथीभरा मन्दिर पुग्न बाँकी नै रहे पनि नजिकैको पाथीभरा मन्दिर पुग्न पाउँदा मनै रमायो । यो मन्दिर स्थापना भएको चार वर्ष मात्र पुगेको रहेछ । पुजारीहरू बस्नका लागि होला, चिटिक्क परेको घर पनि थियो । मन्दिर प्रवेश गर्नुअघि जुत्ता–चप्पल वरै फुकालेर चारकुने खोपिल्टोमा जमाइएको पानीमा खुट्टा धोई जानुपर्ने व्यवस्था राम्रो लाग्यो । त्यहाँ एक जना मात्र पुजारी देखिनुभयो । सबैले पालैपालो मन्दिरको दर्शन ग¥याेँ र फूलपाती लियौँ । फोटो खिच्न छुटाउने त कुरै भएन ।
केहीबेर यताउति गरेर हाम्रो समूह फर्कने भयो । फर्कंदा, अघि देखेको हवाईजहाजनजिकै गयौँ । त्यो सैनिक अभ्यासका लागि बनाइएको रहेछ । रडको काठको तखता ओछ्याएर बनाइएको उक्त जहाजको पेटमा पुग्न भ¥याङबिनाको तला चढेजस्तो गरी जानुपर्ने रहेछ अति नै अप्ठ्यारो गरी झुण्डिएर । तल झर्ने बेलामा झन् गाह्रो ! एकतलामाथिबाट बुद्रुङ्ग हाम्फाल्नुपर्ने !
केटाहरू त सबैजसो र केही केटीहरू पनि तीन जना जति गए । त्रिभुवन सर, समीर सर सजिलै माथि गएर सजिलै हाम्फाल्नुभयो । उहाँहरू दुवै जना युवा हुनुभएको हुँदा यो भ्रमणमा विशेष आकर्षणको केन्द्र हुनुहुन्थ्यो । उकेस सर र इन्द्रसर पनि निकै फूर्तिलो देखिनुभयो । बाँकी हामीचाहिँ अरू चढेको र तल बाङ्ग र बुङ्ग हाम्फालेको देखेरै रमायौँ ।
त्यहाँ आधा घण्टाभन्दा बढी नै समय बितिसकेको थियो । डाँडाबाट यता फर्कंदा अब अघिको उकालो बाटो ओरालो थियो । हामीलाई भोक पनि लागिसकेको थियो । सूर्यविनायक मन्दिरमा पुगेर खाजा खाने कुरा भयो । हामी सबैले झोलामा बोकेकै थियौँ । खाजा खाइसकेपछि हामी सबैले आ–आफूले बनाएका फोहोर त्यहाँ राखिएको भाँडोमा हालेर तह लगायौँ । त्यसपछि नाचगानमा रमाउन थाल्यौँ । त्यसमा सर–मेमहरूले पनि साथ दिनुभयो । अपराह्नको चार बज्न लागेको थियो । हामी अब सबैजना लामबद्ध भएर घरतिर लाग्यौँ । यो भ्रमणले हामीलाई प्रकृतिबाट सिक्ने, नयाँ साथीहरूलाई चिन्ने र सरहरूसँग अझ नजिक हुने मौका दियो । त्यो दिनको रमाइलो म कहिल्यै भुल्न सक्तिन ।