हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज २८ गते । हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तीर्थालु तथा पर्यटकलाई लक्ष्य गरी तीन ठाउँमा स्वास्थ्य परीक्षण गरिन्छ । शरद र वसन्त ऋतुमा सडक र हवाईमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका तीर्थालुले लेक लागेर ज्यान गुमाउन नपरोस् भनी मन्दिरको प्रवेशद्वार, सिँढी र मन्दिर क्षेत्र गरी तीन स्थानमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था रहेको छ ।
प्रादेशिक अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित ‘हाई अल्टिच्युड’ उपचार केन्द्रले मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पदयात्रामा स्वास्थ्य समस्या भएको जानकारी पाएपछि स्वास्थ्यकर्मी परिचालन गर्ने गरिएको छ । छोटो समयमा उच्च भेग पुग्दा लेक लाग्ने जोखिम बढेपछि स्वास्थ्य परीक्षणले तीर्थालु र पर्यटकलाई सहज भएको ‘हाई अल्टिच्युड’ उपचार केन्द्रका हेल्थ असिस्टेन्ट अजय थापाले बताउनुभयो । थापा भन्नुहुन्छ, “मन्दिर क्षेत्रमा आउँदा अचानक बिरामी हुने धेरै हुनुहुन्छ, केन्द्रसम्म आउन नसक्नेलाई बाटोमै पुगेर उपचार गर्छौं ।”
मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने तीर्थालुमा बालबालिका र वृद्धवृद्धामा लेक लाग्ने समस्या धेरै देखिने गरेको छ । नेपालीको तुलनामा भारतीयमा समस्या देखिने गरेको हेल्थ असिस्टेन्ट थापाले बताउनुभयो । ‘हाई अल्टिच्युड’ उपचार केन्द्रमा सिजनमा दैनिक ५० जना र अन्य दिनमा १० जनाको स्वास्थ्य परीक्षण गरिन्छ । पर्यटकको शरीरमा अक्सिजन तह मापन गर्ने, दम, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगी धेरै आउने गरेका छन् । सेन्टरमा लेक लाग्दा आवश्यक पर्ने अक्सिजन, औषधीसहितका उपकरणसमेत रहेका छन् ।
दसैँतिहारको बिदामा नेपाली पर्यटकको मुक्तिनाथ मन्दिरमा अत्यधिक चाप हुन्छ भने अन्य सिजनमा भारतीय तीर्थयात्रीको अधिक भिडभाड हुने गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले गाउँपालिकाभित्र लेक लागेर समस्यामा परेको जानकारी हुनासाथै स्वास्थ्यकर्मीलाई परिचालन गर्ने गरिएको बताउनुभयो । प्रवक्ता गुरुङले भन्नुभयो, “मुक्तिनाथ मन्दिरमा आउँदा लेक लाग्ने समस्या छैन भन्ने सन्देश फैलाउन चाहन्छौँ, समस्या भए पनि सहजै उपचारको प्रबन्ध मिलाइएको छ ।” मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको लेक लाग्नुभन्दा अगाडि अपनाउनुपर्ने विधिका बारेमा समेत सचेतनामूलक अभियान सञ्चालन गर्ने गरिएको छ । हवाई र सडकमार्ग हँुदै मुस्ताङमा प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले समेत पर्चा र सामग्रीमार्फत घाँसा, जोमसोम एयरपोर्ट तथा अन्य नाकामा प्रहरीमार्फत सचेतनाका कार्यव्रmम पनि गर्दै आएको छ ।
निजी तथा सार्वजनिक सवारीसाधनमा आउनेलाई स्वास्थ्यमा समस्या भए परीक्षण गराएर मात्र मुक्तिनाथ जानु भनेर सल्लाह दिने गरिएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । प्रजिअ भुसालले भन्नुभयो, “यहाँ आउने पर्यटकको सबैभन्दा धेरै समस्या नै लेक लाग्ने हो, एकै पटक माथिल्लो क्षेत्रमा पुग्नेलाई समस्या धेरै देखिएको छ ।” पर्यटक ल्याउने र लैजाने गर्ने पर्यटन व्यवसायीले सडकको सहजताका कारण पर्यटक एकै दिनमा माथिल्लो मुस्ताङसम्म लैजाने गरेकाले लेक लाग्ने समस्या बढेको प्रजिअ भुसालको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा आएका १३ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । तिनमा आठ विदेशी र पाँच नेपाली थिए । मृत्यु हुने नेपालीमध्ये दुई जना पुरुष उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको दामोकरकुण्डबाहेक सबै भारतीय र नेपाली वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने र फर्किने क्रममा मृत्यु भएको थियो । समुद्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ ।
लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिँगटा लाग्नु पहिलो लक्षण हो । हिँड्न गाह्रो हुने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुरा खानुपर्ने र शरीरमा असहज महसुस भए तत्कालै आफू भएकोभन्दा तल्लो क्षेत्रमा फर्किएर उपचार गर्नु पर्छ । समयमै लेक लागेकाले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुने भए पनि हेल्चेक््रयाइँ गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुनिने गरेको छ ।