• २८ असोज २०८२, मङ्गलबार

कैलासको दर्शन गर्ने सिजन सकियो, कोरोनायताकै बढी पर्यटक आगमन

blog

सिमकोट विमानस्थलबाट बाहिरिने क्रममा रहेका पर्यटक । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, असोज २८ गते । नेपाल र चीनको सिमाना हिल्सा नाका भएर मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या कोरोनापछि वृद्धि भएको छ । काठमाडौँ, नेपालगन्ज हुँदै हुम्लाको सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाशको तीर्थयात्राका लागि गत वैशाखदेखि असोज २१ सम्म यस वर्षका लागि छ हजारभन्दा बढीले यात्रा गरेका छन् । 

सिमकोट विमानस्थलबाट हेलिकोप्टरमा हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने यस वर्षका लागि यात्रा सकिँदा छ हजार ४०७ जना भारतीय तथा अन्य देशका धार्मिक पर्यटकले यात्रा गरेको प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले बताउनुभयो । 

शिथिल बनेको पर्यटन क्षेत्र केही उकासिँदै गरेको भए पनि चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको समय सकिएको छ । अहिलेसम्म पाँच हजार ९५८ भारतीय र बाँकी ४४९ जना अन्य देशका पर्यटकले अवलोकन गरेको जानकारी उहाँले दिनुभयो । दुई÷चार जनाको समूह भने आइरहने भए पनि मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय तीर्थयात्रीको आगमन भने पूर्ण रूपमा यस वर्षका लागि बन्द भएको छ । 

काठमाडौँ, नेपालगन्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको भए पनि कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीले धेरै सङ्ख्यामा हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेको कैलाश ट्राभल प्रतिनिधि विष्णु रावतले बताउनुभयो । सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटेल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको उहाँले जनाउनुभयो । 

एउटा होटेलले एक हजार पाँच सयसम्म पर्यटकलाई बास दिएर आफ्नो आर्थिक मन्दीलाई सुधार गरेको होटेल व्यवसायी मिमबहादुर तामाङले बताउनुभयो । यस वर्ष पर्यटकबाट सदरमुकाम सिमकोट र हिल्साका होटेल व्यवसायीले १० देखि ६० लाख रुपियाँसम्म कमाइ गरेको उहाँको दाबी छ । 

एक जना पर्यटकबाट होटेल व्यवसायीले एक रातको बास, डिनर र बिहानको खाजा गरी तीन हजार पाँच सय रुपियाँ लिने गर्दछन् । सिमकोट विमानस्थलबाट होटेल र हिल्साको हेलिप्याडबाट चीनको सिमानासम्म भरियाले पनि राम्रो रोजगारी पाएको बताउँदै उहाँले प्रतिझोला भरियालाई ५० रुपियाँ भाडा दिने व्यवस्था गरिएको बताउनुभयो ।

त्यसै गरी यो पर्यटकीय सिजनमा किसानको तरकारी पनि राम्रो खपत भएको छ । पहिलो तरकारी जिल्लाबाहिरबाटै खरिद गरेर ल्याउनुपर्ने भए पनि यस वर्ष स्थानीय किसानले उत्पादन गरेको तरकारी नै राम्रो खपत भएको हो । 

चीनले हुम्लाको हिल्सा नाका गत वर्ष वैशाख १८ देखि सञ्चालमा ल्याएको थियो । त्यसपछि २०८२ वैशाखदेखि असोजको तेस्रो हप्तासम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि पर्यटक आएका हुन् । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्छ । 

यस्तै पर्यटकीय सिजनमा सिमकोट विमानस्थलको उडान चाप निकै रहेको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँले एक दिनमा जहाज र हेलिकोप्टर गरी १६४ सम्म उडान भएको बताउँदै सिमकोटले एयर ट्राफिकको समस्या भोग्नु परेको जनाउनुभयो ।