• २८ असोज २०८२, मङ्गलबार

उस्कलोमै झुल्यो केदारी बासमती

blog

बैतडी समाचारदाता 

बैतडी, असोज २८ गते । जिल्लाका अधिकांश ठाउँमा आयातित धानको बिउ रोप्ने चलन भित्रिएका बेला मेलौली नगरपालिकामा आकाशे पानीको भरमा उस्कलो खेतमै रैथाने केदारी बासमती फलेको छ । केदारी बासमतीको भात माणसँग खाने चलन छ । 

बैतडीमा स्थानीय रातो बासमती, केदारी बासमती, डाँडा बासमती, हिमाली, माइती धान, झिनी, शान्ति, चिउडी धान, अञ्जना, घिउपुरी, लालचन्द र जौले धान गरेर १२ प्रजातिका रैथाने धान फल्ने गरेको छ । पछिल्लो समय उत्पादन बढाउने नाममा आयातित धान भित्रिन थालेपछि केही रैथाने धानको बिउ भने मुस्किलले पाइने गरेको छ । 

मेलौली नगरपालिका–९ मा उस्कालो खेतमै केदारी बासमती फलेको भूमि अधिकार मञ्चका अगुवा नरीराम लोहारले बताउनुभयो । स्थानीय केदारी जातको धान सुक्खा सहने धान भएकाले यसलाई कुलो लाग्ने खेत र आकाशे पानीको भरमा उस्कलो बारीमै पनि रोप्न सकिने उहाँले बताउनुभयो । 

उहाँले केदारी बासमतीलाई दाल तरकारी आवश्यक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केदारी बासमतीको भात पाक्ने बेला माड निकालेर घ्युमा झानेर भातसँग खाने चलन छ । केदारी बासमती फल्ने बेला खेतमै मग मग बास्ना आउने भएकाले मुसा बढी लाग्ने भएकाले दुई पटक गोडमेल गर्नु पर्छ ।” 

बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा उस्कलो खेतमा केदारी बासमती र जौले धान रोप्ने चलन रहेको छ । जिल्लाको पाटन, सुर्नया, गोकुलेश्वर, हाट, महाकाली किनारको शेरा, तिरखडेनी, विनायक र सिगासको ढुङ्गाढ क्षेत्रमा धान खेती हुँदै आएको छ । यो वर्ष समयमै पानी परेकाले धान बाली राम्रो फलेको कृषि ज्ञानकेन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । 

जिल्लामा पछिल्लो समय आयातित धान खुमल–४, राधा प्रजाति बढी फल्ने गरेको उहाँले बताउनुभयो । जिल्लामा करिब छ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ । पछिल्लो समय रैथाने धान छिटपुट रूपमै पाइने गरेको उहाँले बताउनुभयो । बैतडी पहिलो पटक पाटन क्षेत्रका किसानलाई २०४५ सालमा खेती प्रणाली नामको प्रोजेक्टले खुमल–४ को धानको बिउ भित्र्याएर दिएपछि यहाँ रैथाने धान रोप्न छाडिएको छ । स्थानीय किसान राजेश पन्तले खुमल–४ प्रजातिको धान सुरुमा प्रतिएक किलो बराबर करिब ६० किलो फले पनि बिस्तारै उत्पादन घट्दै जान थालेको बताउनुभयो । उहाँले खुमल–४ मा अहिले बाला लाग्ने बित्तिकै पहेँलो भएर बोट सुक्ने जस्ता समस्या देखिएको बताउनुभयो । पाटन क्षेत्रमा स्थानीय रैथाने धानको बिउ लोप भएकोमा अहिले पछुतो लागिरहेको उहाँले बताउनुभयो । 

बैतडीवासीलाई वार्षिक करिब ४८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क अनुसार धान, गहुँ र मकै गरी बैतडीमा वार्षिक २९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । यसमध्ये धान छ हजार मेट्रिक टन फल्ने गरेको छ । अपुग हुने वार्षिक १८ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आउने गरेको तथ्याङ्क छ ।