राधा लुइटेल
फिदिम, असोज २८ गते । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो ।
गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको डेरीतर्फ फर्कदै गर्दा राईले चलाएको मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको थियो ।
केही दिनअघि पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट दुध ओसार्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेकाे हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले दुर्घटनाको खबर सुन्नासाथ त्यसतर्फ प्रहरी परिचालन गरी मुचुल्का बनाएर राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो । बाढी र पहिरोका कारण पाँचथरका ग्रामीण सडक क्षति हुँदा दुर्घटना बढेका छन् ।