• १३ असोज २०८१, आइतबार

विश्वकप फुटबल ‘पहिलो महिला रेफ्री’

blog

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ सुरु भइसक्यो । विश्वका सबै फुटबल समर्थकलाई फुटबलको ज्वरोले च्यापिसक्यो भन्दा हुन्छ । नेपालीहरू फुटबललाई धेरै माया गर्नुहुन्छ । त्यसैले नेपालमा विश्वकपको चर्चा नहुने कुरै भएन । नेपालमा विश्वकपका खेल प्रायः राति हुन्छ तर हामी निद्रा नै मारेर पनि विश्वकप हेर्ने गर्छौं । तिमीहरूलाई पनि निद्रा नै मारेर भए पनि टेलिभिजनमा फुटबल हेर्न मन लाग्छ होला । कतिले निद्रा मारेर फुटबल हेर्ने योजना बनाइरहेको होला तर स्कुल जानुपर्ने विद्यार्थीले राति जाग्राम बस्नु राम्रो पनि हुँदैन । यद्यपि विश्वकपका केही खेल चाँडो पनि हुन्छन् । त्यसैले चाँडै हुने खेल र हाइलाइट्स हेरेर विश्वकपको मज्जा लिन सकिन्छ । अहिले त धेरै स्कुलमा विश्वकप फाइनल हेर्न भोलिपल्ट बिदा दिने चलन पनि आइसक्यो ।

अहिले त तिमीहरूको कुराकानीको विषय घर, स्कुल सबैतिर सायद अहिले विश्वकप नै होला । विश्वकप जित्ने टिम को होला ? रोनाल्डो र मेसीले राम्रो खेल्ला कि नखेल्ला ? कसले धेरै गोल गरेर गोल्डेन बुट जित्ला ? सर्वश्रेष्ष्ठ खेलाडी को होला ? सर्वश्रेष्ठ गोलरक्षक भएर गोल्डेन ग्लोभ्स कसले जित्ला ? अबको एक महिना   साथीहरूबीच यस्तै गफ होला तिमीहरूको सायद आदि इत्यादि गफ हुन्छ होला । तिमीहरूले त आफूलाई मनपर्ने टिमको जर्सी पनि किनिसकेका होलाउ ।

यस्तो विश्वलाई नै फुटबलमय बनाउने विश्वकप फुटबलबारे केही चर्चा गरौँ है त । तिमिहरूलाई थाहा छ, विश्वकपको सुरुवात कहिले भएको हो । सन् १९३० मा उरुग्वेमा पहिलो पटक विश्वकप भएको हो । सो समय उरुग्वे फुटबलमा सर्वश्रेष्ठ टिममध्ये एक थियो । त्यसै पनि पहिलो विश्वकपको आयोजना गर्ने अधिकार उरुग्वेलाई दिएको हो । उरुग्वेलाई विश्वकपको आयोजना दिनुमा अर्को दुई कारण पनि छ । एक  उरुग्वे आफ्नो पहिलो संविधान बनाएको शतकीय वार्षिकोत्सव मनाउने क्रममा थियो । अर्को सन् १९२८ को ओलम्पिक्समा उरुग्वेले नै फुटबलको उपाधि जितेको थियो ।

त्यसबेला फिफाका तत्कालीन अध्यक्ष जुलेस रिमेटले उरुग्वेलाई आयोजनाको अधिकार दिनुभएको हो । विश्वकप फुटबलको परिकल्पनाकार पनि हुनुहुन्छ रिमेट । त्यसैले पनि सुनको असली विश्वकप ट्रफी पनि जुलेस रिमेटकै नाम दिइएको छ । अहिले विश्वकपको २२औँ संस्करण भइरहेको छ ।

 कतारमा २८ दिनमा ३२ टिमले कुल ६४ खेल खेल्नेछन् । मङ्सिर ४ गते सुरु भएको प्रतियोगिता पुस ३ गते सकिनेछ । सोही दिन विश्व विजेताको छिनोफानो हुनेछ ।


विश्वकप जित्न सक्ने टिमहरू

यसपालि ब्राजिल, बेल्जियम अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्डलाई विश्वकप विजेताका रूपमा हेरिएको हो । फिफा विश्ववरीयतामा ब्राजिल नम्बर १ मा रहेको छ । ब्राजिललाई विश्वकप फुटबलको सबभन्दा सफल टिमभन्दा पनि हुन्छ । । हुन पनि पाँच पटक विश्वकप उपाधि जितेर कसैले राख्न नसकेको कीर्तिमान ब्राजिलले बनाएको छ । सन् १९३० मा सुरु भएको विश्वकपदेखि अहिलेसम्म लगातार खेल्ने एक मात्र टिम हो । विश्वकप फुटबल भन्नासाथ यसको दावेदारका रूपमा सबभन्दा अग्रपङ्क्तिमा आउने नाम ब्राजिल हो । बेल्जियम एक टिमका रूपमा सबभन्दा बलियो छ । अर्जेन्टिनाको टिमलाई लियोनेल मेसीले प्रेरणा दिनेछ । फ्रान्स अहिलेको विश्व च्याम्पियन हो । त्यसैगरी इङ्ग्ल्यान्डको टिम पनि बलियो छ ।


स्टार खेलाडीहरू

कतार विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका किलियन एमबापे, ब्राजिलका नेमार, बेल्यिमका केभिन डि ब्रुयनजस्ता विश्व चर्चित फुटबलरमा सबैको नजर हुनेछ । यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबल खेलाडी मेसी र रोनाल्डोको यो अन्तिम विश्वकपका रूपमा पनि हेरिएको छ । मेसी र रोनाल्डोले अहिलेसम्म विश्वकपको उपाधि जित्न पनि सकेका छैनन् । त्यसैले यस पटक यी दुवै महान् खेलाडीलाई फुटबलबाट बिदा हुनुअघि विश्वकप जित्ने अन्तिम अवसर छ ।


जाडो महिनामा पहिलो पटक विश्वकप

पछिल्ला विश्वकपलाई हेर्ने हो भने जुन, जुलाई महिनामा आयोजना हुने परम्परा रहेको छ तर कतार विश्वकप यसको अपवाद बनेको छ । कतार निकै गर्मी हुने देश हो । त्यसैले यस्तो अवस्थामा गर्मी महिनामा विश्वकप खेल्नु सम्भव हुँदैछ । त्यसैले फिफाले जाडो महिनामा विश्वकप खेलाउने निर्णय गरेको हो । यस समयमा पनि दिउँसो कतारमा अत्यधिक गर्मी हुने भएकोले विश्वकपका खेलहरू हुने आठवटा रङ्गशाला एयर कन्डिसन हुने भनिएको छ ।


एसियामा दोस्रो पटक

विश्वकप फुटल एसियामा दोस्रो पटक आयोजना भएको हो । सन् २००२ मा जापान र दक्षिण कोरिया संयुक्त रूपमा विश्वकप आयोजना गर्ने पहिलो एसियाली देशहरू बनेका थिए । अहिले कतारमा भएको विश्वकपमा मध्यपूर्वी क्षेत्रमा भएका पहिलो विश्वकप फुटबल हो ।


पहिलो पटक महिला रेफ्री

विश्वकप फुटबलमा पहिलो पटक महिला रेफ्रीले पनि खेल सञ्चालन गर्दैछ । जसलाई विश्व फुटबलमा एक क्रान्ति मानिएको छ । जापानकी रेफ्री योसिसी यामसिता फ्रान्सकी स्टेफनी फ्रापर्ट र रुवान्डाकी सालिमा मुकासान्गाले पुरुषहरूले खेल्ने विश्वकप फुटबल खेलाउनेछ । यसैगरी ब्राजिलकी नुआजा बेक मेक्सिकोकी कारेन डियाज मेडिना र अमेरिकाका काथरन नास्बिट सहायक रेफ्रीका रूपमा मैदानमा देखिनेछन् ।