• १४ वैशाख २०८१, शुक्रबार

गुणस्तरीय काम गर्न आग्रह

blog

काठमाडौँ, मङ्सिर २३ गते । सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । 

भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायबीचको सहकार्य आवश्यक भएको बताउनुभएको छ । सरकार र निर्माण व्यवसायी मिलेर अगाडि बढेमा मात्र भौतिक पूर्वाधारका ठूला योजना निर्माण हुन सक्ने धारणा मन्त्री चौधरीले व्यक्त गर्नुभयो । 

१५औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार राजधानीमा गरेको प्रभातफेरीको उद्घाटन गर्दै मन्त्री चौधरीले सो धारणा व्यक्त गर्नुभएको हो । 

भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको बताउँदै उहाँले भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले पाउनुपर्ने रकम निकासा भएको छैन, कानुन नै संशोधन गरेर भए पनि यस्तो समस्या समाधान गर्नुपर्छ ।” सो अवसरमा मन्त्री चौधरीले महासङ्घको मुखपत्र ‘निर्माण समाचार’को विमोचनसमेत गर्नुभयो । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी नै समृद्धिका सारथि भएको बताउँदै मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायी अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको अध्यक्ष सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन ।” महासङ्घका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राख्नुभयो । 

यसअघि मन्त्री चौधरीसमेत सहभागी हुनुभएको बाजागाजासहितको प्रभातफेरी दशरथ रङ्गशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासङ्घ सचिवालय अनामनगरमा आई टुङ्गिएको थियो ।

चालीस जनाद्वारा रक्तदान

निर्माण दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गर्नुभयो । रक्तदाताहरूलाई नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाललगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।