• १४ वैशाख २०८१, शुक्रबार

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, मङ्सिर २० गते । मोरङको पूर्वाञ्चल विश्वविद्यालयले माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। हाल आंशिक रूपमा अस्पताल सञ्चालन हुँदा मेडिकल कलेज सञ्चालन गर्न समस्या भएको भन्दै विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको हो। 

पूर्वाञ्चल विश्वविद्यालयको सभा कक्षमा सोमबार आयोजित पत्रकार भेटघाटमा मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट भर्खरै निर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर सुनीलकुमार शर्माले अस्पताल सञ्चालनका लागि सम्पूर्ण सहयोग गर्ने बचन दिनुभएको छ। शर्माले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो। शर्माले भन्नुभयो, “कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न पाइँदैन। त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो।” 

उहाँले विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा. विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा सघन रूपमा छलफल भइसकेको बताउनुभयो। अब कुनै पनि बहानामा अस्पताल सञ्चालन कार्य नरोकिने बताउनुभयो। 

शर्माले भन्नुभयो, “पहिले विश्वविद्यालयका ‘मदर इस्टिच्युट’हरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालसँग समन्वय गर्नुस्। ती इन्स्टिच्युटबाट सहयोग भएन भने एक वर्ष नोबेल शिक्षण अस्पतालले सम्पूर्ण सहयोग गर्नेछ। नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहनुभएका शर्माले एमडी र डीएम अध्ययन गरिरहेका चिकित्सक उपलब्ध गराउने जिम्मा जनप्रतिनिधि भएका हैसियतले म लिन्छु।” अस्पताल सञ्चालन भएपछि मेडिकल कलेज सुरु गर्न कुनै अप्ठ्यारो नभएको बताउनुभयो। सम्पूर्ण मापदण्ड पूरा गर्दा पनि सम्बन्धन प्राप्त भएन भने चिकित्सा शिक्षा आयोगमा टेन्ट टाँगेर धर्ना दिन आफू तयार रहेको उहाँको भनाइ थियो। 

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयले हाल अत्यन्तै सानो रूपमा अस्पताल सञ्चालन गरिरहेको बताउनुभयो। यही अवस्थामा मेडिकल कलेजको सम्बन्धन लिन नसकिने उल्लेख गर्दै उपकुलपति कोइरालाले स्थानीय समाजसँग अस्पताललाई जोड्न नसकेसम्म गोठगाउँमा विश्वविद्यालय भएको अनुभूति नहुने बताउनुभयो। कोइरालाले भन्नुभयो, “अब नयाँ शिराबाट कामअघि बढ्छ।” डाक्टर शर्मा विषय विज्ञ र यस क्षेत्रको माननीयसमेत हुनुभएकोले तीन सय शय्याको अस्पताल सञ्चालन हुनेमा ढुक्क रहन कोइरालाले आग्रह गर्नुभयो। विश्वविद्यालयका अस्पताल निर्देशक डाक्टर विपेश आचार्यका अनुसार हाल अस्पतालले ११ जना विशेषज्ञ डाक्टरसहित ८० जना जनशक्तिबाट चिकित्सा सेवा दिइरहेको छ। कम्तीमा तीन सय शय्या सञ्चालन गर्न अरू थप १५ जना विशेषज्ञ चिकित्सक र सोहीअनुसार डाक्टर नर्सको आवश्यकता पर्छ। विश्वविद्यालयले स्थापना कालमा सात सय शय्याको अस्पताल सञ्चालन गर्ने अनुमति लिएको थियो। पछि घटाएर तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय भयो। 

२०६५ सालमा ५० शय्याको अस्पताल सुरु गरेको विश्वविद्यालयले हाल आकस्मिक सेवासहित ३० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ। 

निर्देशक डाक्टर आचार्यले भन्नुभयो, “हामीले २०७७ कात्तिकमा पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय गोठगाउँमा सरेपछि यहाँ अस्पताल छ, भन्ने सम्म बनाएका छौँ। हाल दैनिक न्युनतम तीन सयदेखि ३८० जनासम्म बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन्।” अस्पतालमा आकस्मिक सेवा भए पनि हाल बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुँदै आएको छ। चौबिसै घण्टा आकस्मिक सेवा र विशेषज्ञ चिकित्सक उपलब्ध हुने हो भने पूर्वाधारका हिसाबले विश्वविद्यालय सुविधा सम्पन्न रहेको निर्देशक आचार्यको भनाइ छ। 

हाल चिकित्सा शास्त्रअन्तर्गत विश्वविद्यालयमा बिएस्सी नर्सिङ, पीबीबीएम, बीपीएच, बी फार्मेसी, बीएस्सी एमएलटी, एमपीएच र एम फार्मेसी गरी सात विषयमा सात सय विद्यार्थीले पढिरहेका छन्। 

पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा ३० करोड रुपियाँ लगानी गरी निर्माण गरेका भवनहरू कुनै समय काँसघारीले छोपिएका थिए तर यतिबेला विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने विषयले स्थानीय मात्र होइन। विश्वविद्यालय प्रशासन पनि उत्साहित भएको छ। नेपाल सरकारले विश्वविद्यालयलाई भोगचलन गर्न दिएको ८०५ बिघा जग्गामध्ये ८४ बिघा जमिनमा विश्वविद्यालयले घेराबार गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँमा आउँछ भनेर नपत्याएका स्थानीयहरू यतिबेला अस्पताल र मेडिकल कलेज सञ्चालन हुनेमा आशावादी छन्।