• १३ कात्तिक २०८२, बिहिबार

ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने

blog

ताप्लेजुङको फुङलिङ बजार । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो । 

बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै कात्तिक १४ गतेबाट लागू हुने गरि हरेक साताको एक दिन शुक्रबार बजार पसल बन्द हुने जनाएको छ । सङ्घले चाडपर्वमा उपभोक्ताको चापलाई दृष्टिगत गर्दै करिब एक महिना सम्मका लागि बजार पसल शुक्रबार समेत खुला गरेको थियो । नेपालीहरूको महान् पर्व दशैँ, तिहार तथा छठ जस्ता चाडमा उपभोक्ताको चाप बढी हुने भएकाले गत भदौ २७ गते शुक्रबार देखि कात्तिक ७ गतेसम्म खुलाउने निर्णय गरेको थियो । 

पर्वहरू सम्पन्न भएसँगै उपभोक्ताको चापसमेत कम हुने भएकाले पुनः पूर्ववत् रुपमा नै साताको शुक्रबार बजार पसल बन्द गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो। 

वि सं २०६० सालदेखि नै पाक्षिक रुपमा फुङलिङका बजार पसलहरु बन्द गरिदै आइएको सङ्घले जनाएको छ । पुनः २०६३ सालदेखि भने साप्ताहिक रुपमा नै बजार बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको सङ्घको भनाइ छ । 

सङ्घका अनुसार बजार पसल बन्द गरेर साताको एक दिन व्यवसायीहरूलाई सामाजिक काममा प्रेरित गराउने तथा कर्मचारी राखेर व्यवसाय सञ्चालन गर्नेको हकमा मजदुरलाई एक दिन बिदा प्रदान गर्ने लगायतको कारणले शुक्रबार पसल बन्द गरिँदै आइएको छ ।