सन्तोष राउत
सोलुखुम्बु, कात्तिक १३ गते । पछिल्लो दुई दिन यता परेको हिमपात र प्रतिकूल मौसमका कारण सोलुखुम्बुको व्यस्त तेन्जिङ हिलारी विमानस्थल हवाई सेवा पूर्ण रूपमा ठप्प हुँदा पर्यटकहरु मारमा परेका छन् ।
बिहीबार बिहान केही समय मौसम खुल्दा हेलिकप्टरहरुको आंशिक उडान भए पनि कुनै पनि विमानले नियमित उडान वा अवतरण गर्न नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्ला सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहानैदेखि आकाशमा बाक्लो बादल भएको कारण उडान गर्न असम्भव बनेको हो । केही घण्टा मौसम अनुकुल भएसम्म करिब ६० भन्दा बढी हेलिकप्टरले उडान तथा अवतरण गरेका छन् । बुधबार लुबुचेमा हेलिकप्टर दुर्घटना भएपछि लुक्ला भन्दा माथि हेलिकप्टर उडानमा रोक लगाएकोमा बिहीबार भने मौसम हेरेर केही उडान भएको उहाँले बताउनुभयो ।
लुक्ला क्षेत्रमा हिजोदेखि नै निरन्तर मौसममा फेरबदल भैरहेको जनाइएको छ । मौसममा फेरबदल भइरहेकाले तत्काल उडान सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ । मौसम प्रतिकूलताका बाबजुद पनि बुधवार विभिन्न विमान कम्पनीले २० वटा उडान गरेका थिए भने ८० भन्दा बढी हेलिकप्टरले उडान भरेका थिए ।