काठमाडौँ, कात्तिक १३ गते । नेपाली कांग्रेसका जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाले पार्टीको विधान संशोधन गरेर आफ्ना लागि प्रवेशको ढोका फराकिलो बनाउन माग गरेका छन्।
बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनमार्फत जेन–जी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधान ल्याउनुपर्ने माग गरेका हुन्।
उनीहरूले कांग्रेस पार्टीमा नयाँ पुस्ताको सहभागिता आवश्यक भएको बताउँदै भने, “कांग्रेसको यौवन फर्काउन विधानमा संशोधनको ढोका खोल्नुपर्छ, जसबाट सबै तहमा प्रतिष्पर्धात्मक अवसर मिलोस्।”
पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले जेन–जी आन्दोलनमा सहादत प्राप्त युवाहरूको सम्झनामा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थापना नै आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। उनीहरूले भने, “अब सबै बदलिनुपर्ने छ र सबै मिलेर देश बदल्नुपर्ने समय आएको छ।”
उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुकमा सुशासनको स्थापना नै जेन–जी प्रदर्शनको मूल माग थियो। नेपाली कांग्रेसले आफ्नै भित्र पनि आन्तरिक सुशासन आयोग गठन गरोस्, जसले सरकारका तीनै तहमा रहेका प्रतिनिधिहरूको विगतको कामको समीक्षा र भविष्यका लागि कार्यमापदण्ड तयार गर्न सकोस्।”
भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेन–जी प्रदर्शनमा अत्यधिक बल प्रयोगको घटनाको गहिरो छानबिन गर्नुपर्ने माग पनि उनीहरूले दोहोर्याएका छन्। उनीहरूले भने, “त्यो घटनामा दोषीमाथि कारबाही गर्ने निर्णय भइसकेको छ, अब पार्टी त्यसप्रति प्रष्ट रूपमा उभिनुपर्छ।”
त्यस्तै, भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीमा जो कोही संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत गरिएको छ। उनीहरूले पार्टीले हरेक भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गर्न ठोस प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्।
उनीहरूले पार्टीको नियमित वा विशेष महाधिवेशन चाँडै आयोजना गरेर परम्परागत दलबाट आधुनिक राजनीतिक दलका रूपमा रुपान्तरणको रोडम्याप सार्वजनिक गर्नुपर्ने सुझाव दिएका छन्। साथै, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न कांग्रेसले अग्रसर हुनुपर्ने पनि उनीहरूको माग छ।
उनीहरूले कांग्रेसले अब ‘भाेट रेडी नेपाल’ अभियान सञ्चालन गरेर लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउन सहयोग गर्न जाेड दिएका छन् ।
युवाहरूले कांग्रेसको नवयुवा नर्सरीका रूपमा रहेको नेपाल विद्यार्थी संगठनलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
जेन–जी पुस्ताको तर्फबाट धारणा राख्ने युवाहरूमा विकल राई (खोटाङ), साजन योञ्जन (सिन्धुपाल्चोक), विनोद राज जोशी (दार्चुला), करुणा कटुवाल (धनकुटा), श्रीकृष्ण भट्टराई (रुपन्देही), दिनेश चौधरी (बर्दिया), मनोज पुरी (काठमाडौं), मञ्जु विश्वकर्मा (कपिलवस्तु), करिना पुरी (सिन्धुपाल्चोक), सिर्जना स्नेही (बझाङ), गौरव पाण्डे (बारा), मुना नेपाली (पाँचथर), विजय पुन मगर (जाजरकोट), किरण तिवारी (रुपन्देही), नीलम कार्की (झापा), सन्तोष भण्डारी (गुल्मी), आशा नामजाली मगर (कैलाली), दिपेन धिमाल (झापा) र सुशिल गोदार (कास्की) छन्।