• १५ वैशाख २०८१, शनिबार

सुकेटार–विराटनगर परीक्षण उडान

blog

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको ट्विनअटर जहाज । फाइल तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते । नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो । 

ताप्लेजुङस्थित निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बिहीबार निगमको ट्विनअटर जहाजले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको जानकारी दिनुभयो । इन्चार्ज लिम्बूका अनुसार सुरुमा जहाज काठमाडौँबाट ताप्लेजुङ आएर उतै फर्किएको थियो । दोस्रो पटक पुनः ताप्लेजुङ आएको जहाज यात्रु ओरालेर परीक्षण उडानका लागि विराटनगर गएको र विराटनगरदेखि ताप्लेजुङ नै आएर यहाँबाट काठमाडौँका यात्रु लिएर जहाज फर्किएको इन्चार्ज लिम्बूले बताउनुभयो ।

विगत २०६५ सालयता नेपाल एयरलाइन्सले ताप्लेजुङ–विराटनगर उडान गरेको थिएन । सो समयभन्दा अघि भने निगमले विराटनगर–ताप्लेजुङ नियमित उडान गर्ने गरेको थियो । ताप्लेजुङ–विराटनगरको नियमित उडान रोकिएपछि लामो समय अर्थात् १४ वर्षसम्म काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ मात्र उडान हुँदै आएको थियो । 

पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगर भएपछि ताप्लेजुङ–विराटनगर उडान गर्नुपर्ने माग हुँदै आएको छ । यात्रु तथा सेवाग्राहीको मागलाई दृष्टिगत गर्दै ताप्लेजुङ–विराटनगर उडान सञ्चालन गर्ने तयारी स्वरूप परीक्षण उडान गरिएको बताइएको छ ।