• १६ चैत २०८२, सोमबार

गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने धेरै

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास (गुल्मी), चैत १६ गते ।
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्यामा धेरै भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट ९७ जनाले नयाँ नागरिकता बनाउँदा १२५ जनाले प्रतिलिपि लिएका छन् ।

नागरिकताको माया नगर्ने जथाभावी फ्याक्ने भएका कारण पनि प्रतिलिपि लिनेको सङख्यामा वृद्धि भएको हुन सक्ने गैरेले बताउनुभयो । यस्तै, राष्ट्रिय परिचयपत्र बनाउँदा र बैंकमा खाता खोल्दा पहिले भएका केही कमीकमजोरीहरु फेला पर्ने भएकाले पनि प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकतालाई माया गर्न, जथाभावी नफाल्न र संरक्षण गर्नका लागि आग्रहसमेत गरेको छ ।

सोही समय अवधिमा चार जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन सङ्कलन ११२, राहदानी वितरण १४४, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन २१७, राष्ट्रिय परिचयपत्र वितरण २७४, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २२  र दुई संस्था नवीकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट पाँच लाख ९२ हजार पाँच सय, संस्था दर्ता तथा नवीकरणबाट एक हजार पाँच सय, राष्ट्रिय परिचयपत्रबाट आठ हजार पाँच सय गरी कुल छ लाख दुई हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।