• १६ चैत २०८२, सोमबार

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

blog

फेवाताल

फडिन्द्र अधिकारी
लेखनाथ, चैत १६ गते ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन्द्र) ले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदामा फेवातालका अतिक्रमण हटाउन ९० दिनभित्र प्रक्रियाअघि बढाउने उल्लेख छ ।

प्रधानमन्त्री शाहले सर्वाेच्च अदालतको आदेश बमोजिम तालको अतिक्रमण हटाउने अभियान र सौन्दर्यकरणबारे चासो राख्नुभएको हो । आइतबार साँझ पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई टेलिफोन गरी तालको अवस्था र पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको हो ।

मानवीय र प्राकृतिक दुवैथरी अतिक्रमणले खुम्चिँदै गएको फेवाताल किनारमा अहिले पनि मापदण्डभित्रै संरचना बनिरहेका छन् भने ताल सिरानको सिमसार पुर्ने क्रम पनि जारी छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रधानमन्त्री शाहलाई उद्धृत गर्दै भन्नुभयो, “फेवातालको अतिक्रमण हटाउने काम कहाँ पुग्यो, के काम बाँकी छ भनेर सोध्नुभयो ।”

तालको सीमाङ्कन सकेर अहिले दूषित र मुआब्जा दिनुपर्ने जग्गा छुट्याउने क्रम चलिरहेको छ । “फेवातालको वरिपरि गरी करिब ४० हजार कित्ता जग्गा छन्,” प्रमुख आचार्यले भन्नुभयो, “कुनको मुआब्जा दिनुपर्ने, कुन दिनुनपर्ने दूषित जग्गा हुन भनी छुट्याउँदै छौँ । प्रधानमन्त्रीलाई त्यसको रिपोर्ट चाँडै लिएर आउँछु भनेको छुु ।”

पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल (गनेस) पर्यटनमन्त्री बन्नु र सरकारको प्राथमिकतामा फेवाताल संरक्षण पर्दा निकै खुसी लागेको प्रमुख आचार्यको भनाइ छ । सर्वाेच्च अदालतको आदेश बमोजिम फेवातालको किनारबाट ६५ मिटर मापदण्ड कायम गर्ने र सो क्षेत्रमा हरियाली क्षेत्र बनाउने तयारी छ ।

यसका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा बनेको समितिले काम गरिरहेको छ । समितिले बनाएको उपसमितिले दिएको प्रतिवेदनका आधारमा दूषित जग्गाको दर्ता खारेज गर्ने र व्यक्तिको लालपुर्जा भएको जग्गाको मुआब्जा दिने प्रक्रिया सुरु हुनेछ ।

सर्वाेच्चले तालको उच्च विन्दुबाट ६५ मिटर क्षेत्र खाली गरी हरियाली क्षेत्र बनाउन भनेको छ । २०३१ सालअघि दर्ता भएका जग्गाको मुआब्जा दिन र २०३१ सालमा तालको बाँध फुट्दा दर्ता गरिएका जग्गाहरुलाई दूषित मानी खारेज गर्न भनेको थियो । 

तालको मापदण्डमा महानगरको शिक्षा महाशाखा, नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय, प्रहरी कार्यालय, रत्नमन्दिर, हिमगृह, दर्जनौं होटल, केही रेष्टुरेन्ट, कफी हाउस, जलारीहरुको गाउँ नै पर्छ ।