• ६ वैशाख २०८१, बिहिबार

नारायणी नदीमा डल्फिन देखियो

blog

कावासोतीको अमलटारी नजिक नारायणी नदीमा देखिएको डल्फिन । तस्बिर सहयोग : टेक महतो

मीना कंडेल

कावासोती, मङ्सिर १५ गते । पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डल्फिन देखिएको छ । कावासोती नगरपालिकाको दक्षिणमा रहेको अमलटारी नजिक नदीमा डल्फिन देखिएको हो । 

जाडो यामका चराको सङ्ख्या बढ्दै गएका कारण नेचर गाइड टेक महतो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती जङ्गल क्षेत्रमा चराको अवलोकन र तस्बिर कैद गर्ने क्रममा नदीमा डल्फिन देखिएको बताउनुभयो । 

विदेशी पर्यटकहरू पनि नदीमा चरा अवलोकनका लागि आउने गर्छन् । नेचर गाइड महतोले भन्नुभयो, ‘साथीहरूसँग डुङा लिएर नदीमा जाँदैगर्दा अमलटारी घाटमा डल्फिन देखियो ।’ डल्फिन देखिएको बारेमा स्थानीयहरूले जानकारी गराएपछि आफू दुई सातादेखि त्यसैको खोजीमा लागेको उहाँको भनाइ छ । पानीको सतह घटेको बेलामा नदीमा खेलिरहेको अवस्थामा डल्फिन देखिएको उहाँले बताउनुभयो ।  

महतो पक्षी संरक्षण सङ्घमा पनि आबद्ध हुनुहुन्छ । यसअघि सन् २०१८ मा पहिलो पटक त्रिवेणीधाम नजिक भैलौजीस्थित नारायणी नदीमा डल्फिन देखिएको थियो । गत वर्ष चरा गणनाको समयमा भैलौजीमै डल्फिन देखिएको उहाँको भनाइ छ । 

टोलीमा अमलाटारीकै थारु कम्युनिटी लजका कर्मचारीहरू नारायणीमा डुङ्गामा सयर गरिरहेका बेला डल्फिन देखिएको र तस्बिर लिइएको महताले बताउनुभयो । महतो नेचर गाइडका रूपमा विगत ९ वर्षदेखि कार्यरत हुनुहुन्छ ।