• ९ मंसिर २०८१, आइतबार

चोभार बन्दरगाह अब ‘लजिस्टिक हब’

blog

काठमाडौँ, मङ्सिर १४ गते । काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाहलाई ‘लजिस्टिक हब’का रूपमा विकास गरिने भएको छ । लामो समय प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन ‘लजिस्टिक हब’ बनाउन लागिएको हो । गत चैत २२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सञ्चालनमा आएदेखि हालसम्म बन्दरगाहमा ७५ वटा कन्टेनरमा सामान भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएका छन् । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको एक भागमा आयात निर्यातको कामसँगै अर्को भागमा ‘लजिस्टिक हब’का रूपमा विकास गर्न लागिएको जानकारी दिनुभयो । बन्दरगाहमा बनेको पूर्वाधारलाई अधिकतम प्रयोग गर्नुपर्छ  भनेर  पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङको सुविधा उपलब्ध गराउन लागिएको जानकारी उहाँले दिनुुभयो । ‘लजिस्टिक हब’का रूपमा विकास गर्न यसको पूर्वाधार निर्माणको काम अन्तिम चरण पुगेकाले शुल्क केही दिनमै निर्धारण गरिने जानकारी उहाँले दिनुभयो । 

प्रभावकारी रूपमा आयात निर्यातको काम हुन नसकेपछि बन्दरगाहभित्र रहेको पूर्वाधारलाई प्रयोग गरी सवारीसाधन पार्किङ र गोदाम स्थलका रूपमा प्रयोग गर्न लागिएको छ । न्यूनतम शुल्क लिएर सवारीसाधन पार्किङ सुविधा उपलब्ध गराइने उहाँले बताउनुभयो ।  

चक्रपथमा बसेका मालवाहक ट्रकलाई पार्किङ सुविधा उपलब्ध गराउनुका साथै व्यवसायीले निश्चित शुल्क तिरेर गोदामका रूपमा प्रयोग गर्न पाउने व्यवस्था गर्ने समितिको योजना छ । बन्दरगाहमा आन्तरिक दुई सयवटा ट्रक पार्किङ गर्ने सुविधा रहेको समितिले जनाएको छ । बन्दरगाहमा साना उद्यमीले उत्पादन गरेका सामान प्याकेजिङसमेत गर्न सकिने समितिले जनाएको छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले व्यवस्थापन कमजोरीले बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले ‘लजिस्टिक हब’ बन्न कठिन रहेको बताउनुभयो ।  बन्दरगाह प्रयोगविहीन अवस्थामा राख्नुभन्दा ‘लजिस्टिक हब’मा रूपमा विकास गर्नु राम्रो भए पनि व्यवस्थापन गर्न कठिन रहेको उहाँको भनाइ छ । बन्दरगाह नियमन गर्ने र व्यवस्थापन गर्ने निकाय छुट्टाछुट्टै नहुँदा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । 

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले चोभार सुक्खा बन्दरगाहसम्म सामान ल्याउन छुट्टै एलसी खोल्नुपर्ने र भन्सार बिन्दुमा कर र भ्याट दुवै शुल्क तिर्नुपर्ने भएकाले व्यवसायीले सामान ल्याउन नसकेको बताउनुभयो ।

समितिका अनुसार हाल बन्दरगाहमा बाहिरी मुलुकबाट आयात गरेर ल्याइएका पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनी रहेका छन् । बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायतका पूर्वाधार निर्माण गरिएको छ । यो बन्दरगाहभित्र भन्सार जाँचपाँस कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदामघर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा छन् । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा यो बन्दरगाह निर्माण गरिएको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।