• १९ असार २०८१, बुधबार

सहज देखिए महिलाले चलाएका मतदानस्थल

blog

चितवनको भरतपुर १० स्थित भरतपुर माविमा रहेको मतदान स्थल र सो मतदानस्थलमा कार्यरत मतदान अधिकृत एवं सुरक्षा प्रमुख । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, मंसिर ४ गते । भरतपुर –१० का भुवन आचार्य अपराह्न २ बजे भरतपुर १० स्थित भरतपुर माध्यमिक विद्यालय मतदान स्थलमा मतदान गरेर फर्कनुभयो । सोही वडाका विश्वनाथ ओझाले पनि सोही मतदान स्थलबाट बिहान सबेरै मतदान गर्नुभयो । सपरिवार मतदान गर्न त्यहाँ पुग्नुभएका दुई परिवारको बुझाइमा सो मतदान स्थल गत निर्वाचनमा भन्दा फरक देखियो । 

मतदान गरेर फर्कँदै गर्नुभएकी मञ्जिमा ओझालाई त्यहाँको व्यवहारले मोहित बनायो । मतदातालाई स्थलमा प्रवेश गर्न सहज थियो, अनि स्नेही वातावरण, किन यस्तो भयो उहाँलाई थाहा थिएनन् । गोरखापत्रसँगको कुराकानीमा उहाँलाई थाहा भयो त्यहाँ महिलाले मात्र मतदान स्थल सञ्चालनको जिम्मेवारी पाएका छन् ।

भरतपुर मावि केन्द्रमा कार्यरत मतदान अधिकृत सुशीला वाग्लेका अनुसार बुथमा चार मतदान अधिकृतसहित ३२ जना कर्मचारी, २३ जना सुरक्षाकर्मी र १२ स्वयम् सेवक कार्यरत छन् । सो मतदान केन्द्रको सुरक्षामा खटिनु भएकी प्रहरी नायव निरीक्षक दीपा कार्की यसअघि गत आम निर्वाचनमा मकवानपुरमा रहँदा समेत यस्तै प्रकृतिको बुथ सञ्चालन गरेको अनुभव सुनाउनुभयो ।

सकेसम्म मतदातामैत्री वातावरण सिर्जना गरेर सुरक्षा प्रबन्ध मिलाइएको उहाँको भनाइ छ ।  महिलाले मात्र सञ्चालन गरेको चितवनको अर्को भरतपुर –१५ श्रीपुर मावि मतदान स्थलकी मतदान अधिकृत लक्ष्मी देवानका अनुसार उक्त स्थलमा दुई मतदान अधिकृतसहित १६ जना कर्मचारी, १३ जना सुरक्षाकर्मी र आठ जना स्वयंसेवक खटिएका छन् । 

दुवै मतदान केन्द्रमा बिहान सबेरैदेखि शान्तिपूर्ण रूपमा मतदान भएको छ । भरतपुर मावि मतदान स्थलमा चारवटा मतदान केन्द्र, तीन हजार चारसय २९ मतदाता छन् । श्रीपुर माविमा दुई केन्द्रमा गरी एक हजार ५३५ मतदाता रहेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कुल १६२ मतदान स्थल र ४६० वटा मतदान केन्द्र रहेका छन् ।