• २० माघ २०८१, आइतबार

विवाह राजनीति

blog

 यमबहादुर दुरा 

कतिपय व्यक्तिलाई राजनीतिसँग ‘एलर्जी’ नै हुन्छ । राजनीतिमा चासो नहुँदा नहुँदै पनि कोही पनि राजनीतिको बाघपञ्जाबाट उम्कन सक्दैन। कसैलाई पत्यार नलाग्न सक्छ, मानव जीवन राजनीतिकै एक हिस्सा हो। यस सम्बन्धमा एउटा सर्वप्रचलित भनाइ उद्धरणीय छ, ‘राजनीति जताततै छ।’ हुन पनि राजनीतिले नछोएको कुनै क्षेत्र नै छैन। 

साथीसङ्गी, पति–पत्नी, प्रेमी–प्रेमिका, घर–परिवारका सदस्यलगायत तमाम मानवीय सम्बन्धमा राजनीति नभनेरै राजनीति चलिरहन्छ। मानवीय सम्बन्धमा चल्ने राजनीतिको ‘अन्डरकरेन्ट’ यति सूक्ष्म हुन्छ कि कतिपय अवस्थामा यी सम्बन्धको समीकरणमा राजनीतिक चलखेल भएको सुइँकोसम्म पनि पाइँदैन। राजनीति सर्वव्यापक हुँदाहुँदै पनि सूक्ष्म पनि छ।

राजनीतिका अनेकन दायरा छन्। बेग्लाबेग्लै राजनीतिक दायरालाई बुझाउन बेग्लाबेग्लै पारिभाषिक शब्दावली पनि प्रयोगमा आएका छन्। उदाहरणका लागि, घर–परिवारमा चल्ने राजनीतिलाई पारिवारिक राजनीति , कार्यालयमा चल्ने राजनीतिलाई कार्यालय राजनीति , प्रेममा जोडिएको राजनीतिलाई प्रेम राजनीति , खेलकुदसँग जोडिएको राजनीतिलाई खेल राजनीति , सञ्चार माध्यममा चल्ने राजनीतिलाई सञ्चार राजनीति , सङ्गीतसँग गाँसिएको राजनीतिलाई सङ्गीत राजनीति , सौन्दर्यसँग जोडिएको राजनीतिलाई सौन्दर्य राजनीति , विवाहसँग जोडिएको राजनीतिलाई विवाह राजनीति  भन्ने चलन छ।

यस बसाइमा विवाह राजनीतिबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ। विवाह मानव समाजको महत्वपूर्ण सामाजिक संस्था हो। विवाहसँग मानव जीवनका धेरै आयाम जोडिन आइपुग्छन्। विवाहले सम्बन्धित व्यक्ति र उसका नातागोताको इज्जत–प्रतिष्ठा, हैसियत, सम्पत्ति, वर्ग, जातीयता, धर्म, संस्कृति एवं पहिचानमा समेत प्रभाव पार्छन्, जसका तार राजनीति नभनेरै राजनीतिसँग जोडिएको हुन्छ। 

समाजका विभिन्न वृत्तमा प्रचलित विवाह राजनीतिका असङ्ख्य दृष्टान्त छन्। सम्पत्ति हत्याउने अभिप्रायले कलिलो उमेरका महिलाले वृद्ध व्यक्तिसँग विवाह गरेका अनेकन उदाहरण भेटिन्छन्। अचेल कतिपय रूपवती महिलाले धनवान पुरुषको सम्पत्ति लुट्पुट्याउने अभिप्रायले शृङ्खलाबद्ध रूपमा विवाह गर्ने गरेका समाचार आमसञ्चार माध्यममा बारम्बार आउने गरेका छन्। कतिपय धनीमानी तथा सफल व्यक्तिले आफूभन्दा कलिली महिलालाई ‘ट्रफी वाइफ’ का रूपमा भित्र्याएर शान–सौकत देखाएका दृष्टान्त पनि यदाकदा देखिन्छन्।


कतिपय परिवारले कुलघरानासँग वैवाहिक नाता गाँसेर आफ्ना इज्जत–प्रतिष्ठा र सम्पत्ति मजबुत बनाउने खेल खेलेका चर्चा पनि समाजका अन्तरकुन्तरमा बाक्लै सुनिन्छ। सामान्य परिवारदेखि सम्भ्रान्त परिवारसम्म यस्ता खेल प्रकट वा अप्रकट रूपमा चलिरहेका हुन्छन्, जसको भित्री खेल सबैले अनुभूत गर्न सक्छन् भन्ने पनि छैन तर पनि यी सबै गुप्त वा प्रकट रूपमा चलिरहने विवाहजन्य खेल विवाह राजनीतिका गोटी हुन्।

राजनीतिक वृत्तमा विवाह राजनीति झन चर्को देखिन्छ। नेपालको वर्तमान राजनीतिक रङ्गमञ्चमा रहेका केही चर्चित राजनीतिवाज पनि विवाह राजनीतिबाट मुक्त छैनन्। अझ राजनीतिक वृत्तमा घुमिरहेका विवाह राजनीतिका कतिपय घटना–परिघटना त अन्वेषण र उद्घाटन हुनसमेत बाँकी नै छ। 

विवाह राजनीति यस्तो प्रसङ्ग नेपालको राजनीतिक इतिहासमा पर्याप्त भेटिन्छ। सामान्य क्षत्रीय परिवारबाट उठेर राजनीतिक सिँढी चढ्दै राणा शासनको प्रवर्तक बनेका जङ्गबहादुर राणा, विवाह राजनीतिको एउटा दरिलो उदाहरण हुन्। उनले आफ्ना सन्तानको शाह (ठकुरी) राजखान्दानसँग वैवाहिक सम्बन्ध गाँसिदिएर आफ्नो वंशवादी शासनसत्ताको रखवारी गर्ने वातावरण तयार पारेको रोचक वृत्तान्त इतिहासका पानामा भेटिन्छन्। जङ्गबहादुर राणाले शाह राजखान्दानले राणाहरूसँग मात्र विवाह गर्न पाउने र अरू खलकसँग नपाउने परम्परा बसालेका थिए भन्ने वर्णन इतिहासका पानामा छताछुल्ल भेटिन्छन्।

ऐतिहासिक वृत्तान्तअनुसार वि.सं. १९११ मा जङ्गबहादुर राणाले आफ्ना सात वर्षका नाबालक छोरा जगतजङ्गको राजा सुरेन्द्रकी छ वर्षीया जेठी छोरी टीकाराज्यलक्ष्मी शाहसँग विवाह गराइदिएका थिए। यसैगरी वि.सं. १९१२ मा उनले आफ्ना अर्का छोरा जितजङ्गको राजा सुरेन्द्रकै माहिली छोरी नरेन्द्रलक्ष्मी शाहसँग विवाह गरिदिएका थिए। यी त केही दृष्टान्त मात्र हुन्। यस परम्परालाई वीरशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेरजस्ता राणा प्रधानमन्त्रीहरूले पनि अक्षरशः पालना गरेको देखिन्छ।

राणा र शाह खान्दानबीच वैवाहिक सम्बन्ध बलियो रहे पनि पछि आएर खचपच सुरु भएको पाइन्छ। खासगरी पञ्जाबी आमाबाट जन्मेका राजा त्रिभुवन चाहिँ राणा खान्दानसँगको विवाह गर्ने परिपाटीको विपक्षमा उभिएका थिए। उनले आफ्ना छोरीहरूको विवाह राणा खानदानलाई छलेर भारतका राजपूतहरूसँग गरिदिएका थिए भन्ने वर्णन सुनिन्छ। 

यद्यपि त्रिभुवनको सोचाइले पूर्ण रूपमा मूर्त रूप लिन भने पाएन। उनका छोरा महेन्द्रले २००९ सालमा हरिशमशेरकी छोरी रत्नराज्यलक्ष्मीसँग विवाह गर्ने इच्छा जाहेर गरे। छोराको इच्छाप्रति त्रिभुवनको तीव्र आपत्ति थियो। बुबाको तीव्र असहमति हुँदाहुँदै पनि महेन्द्रले रत्नराज्यलक्ष्मीसँग विवाह–बन्धनमा बाँधिएरै छाडे। आफ्ना छोराको निर्णयबाट रुष्टिएका त्रिभुवन छोराको विवाह अनुष्ठानमा अनुपस्थित रहेको भनाइ छ। यही कारणले त्रिभुवन र महेन्द्रबीच सधैँभरि तिक्ततापूर्ण सम्बन्ध रह्यो भन्ने चर्चा पनि सुनिँदै आएको हो।

राजखान्दान र राणाखान्दानमा मात्र होइन जनस्तरमा पनि विवाह राजनीतिले स्थान पाएकै छ। नेपालमा नागरिक तथा राजनीतिक वृत्तमा सधैँभरि चर्चाको शिखरमा रहने नागरिकतासम्बन्धी कानुनको एउटा महत्वपूर्ण पक्ष विवाह राजनीतिसँग जोडिएको छ। राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हालैको नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह बन्धनमा बाँधिने विदेशी महिलाले कति समय–अन्तरालमा नेपाली नागरिकता पाउने भन्ने विषय विवादको चुरो बन्दै आएको छ। यसमा विवाह राजनीति प्रस्टै दृष्टिगोचर हुन्छ ।

वैवाहिक संस्थाबारे सबै धर्ममा निश्चित धारणा बनेको पाइन्छ। बीबीसीको वेबसाइटमा प्रकाशित एक लेखका अनुसार मुस्लिम मतमा विवाहलाई मानव जीवनको आधारभूत पक्ष मानिएको छ। बीबीसीकै अर्को लेखमा क्रिश्चियन धर्मले विवाहलाई भगवान्बाट प्राप्त उपहारका रूपमा चित्रण गरिएको छ। बौद्ध धर्मले विवाहलाई अनिवार्य नभई ऐच्छिक विषय मानेको छ। वासु बरालकृत पुस्तक ‘हिन्दु सामाजिक सङ्गठनको प्रारूप’ मा हिन्दु धर्मले विवाहलाई सोह्र संस्कारमध्ये एउटा संस्कार मानेको उल्लेख गरिएको छ। बरालका अनुसार आत्माशुद्धि र सन्तान उत्पादनको धारणाबाट अभिप्रेरित भएर विवाह गरिन्छ, जुन एक धार्मिक आवश्यकता पनि हो। 

विवाह राजनीतिको अथाह सागरबारे आधुनिक समाजका बौद्धिक जगत् मौन रहने कुरै भएन। विवाह राजनीतिलाई केन्द्रमा राखेर विश्वका बौद्धिक जगत्मा अनेकन विचार–विमर्श भएका छन्। यसबारे अनेकन पुस्तकहरू लेखिएका छन्। क्रेग रिमरम्यान र क्लाइड विलकक्सद्वारा सम्पादित ‘पोलिटिक्स अफ सेम सेक्स म्यारिज’ (सन् २००७), जे मायजस्को ‘पोलिटिक्स अफ म्यारिज’ (सन् २०१२), सविता सिंहको ‘द पोलिटिक्स अफ म्यारिज इन मिडभिल इन्डिया’ (सन् २०१९), ‘भिक्टोरिया किम र साथीहरूको ‘द पोलिटिक्स अफ इन्टरनेसनल म्यारिज इन जापान’ (सन् २०२१), टेकनाथ गौतमको ‘पुनर्विवाह विमर्श’ (वि.सं. २०५५) जस्ता कृति विवाह राजनीतिमा केन्द्रित पुस्तक हुन्।

नेपाली समाजमा विद्यमान विवाह राजनीतिको प्रतिविम्ब लोकसाहित्य पनि राम्रैसँग भेटिन्छ। ‘आशालाग्दो केटा जेठाजु’, ‘हतारको बिहे कञ्चटमा सिन्दूर’, ‘मर्दका दसवटी’ जस्ता लोक कहावत्बाट नेपाली समाजमा युगौँदेखि चल्दै आएको विवाह राजनीतिको आरोह–अवरोहपूर्ण घटनाक्रमको छनक मिल्छ। यसैगरी ‘किन छेक्छस् मेरै माइती डम्म डम्म बादलु, फाटिदे हेर्छु म माइतीको देश’, ‘चौतारीमा बसौँ भने वरको पात फरर, माइती देश हेरौँ भने आँसु बरर’, ‘बढेर आयो त्यो काली गङ्गा बगायो बारी छेउ, बिरानो देशमा दियौ नि बाबा पाइनँ मैले भेउ’ जस्ता लोकगुञ्जनमा विवाह राजनीतिको गहकिलो भारीबाट मिचिएका चेलीका विरह–व्यथा भेटिन्छन्।

समाजमा प्रचलित एकल विवाह , कुलीन विवाह , बहुविवाह, बहुपति प्रथा, बहुपत्नी प्रथा, बालविवाह, अनमेल विवाह, सजातीय विवाह, अन्तरजातीय विवाहलगायत तमाम विवाह प्रणालीसँग दृश्य वा अदृश्य प्रकृतिका पारिवारिक एवं सामाजिक राजनीति जोडिएकै हुन्छन्। यी तमाम विवाह प्रणालीसँग सरोकारवाला व्यक्तिका इज्जत–प्रतिष्ठा, सम्पत्ति तथा सांस्कृतिक मूल्य–मान्यता जोडिएका हुन्छन्, जसको नाता प्रत्यक्ष वा परोक्ष रूपमा राजनीतिसँग गाँसिएको हुन्छ। 

नेपाल जस्तो देशमा समलिङ्गी विवाह, अन्तरजातीय विवाह र अन्तरधार्मिक विवाह बहसको विषय बन्दै आएको छ। समलिङ्गी विवाह त सबै देश तथा महादेशमा विवादास्पद बन्न छाडेको छैन। जेहोस् व्यक्ति वा समाज दुवैका लागि विवाह बहुआयामिक विषय हो। यसमा चाहेर वा नचाहेर राजनीति जोडिएकै हुन्छ। मानव समाज रहुञ्जेलसम्म विवाह राजनीति मत्थर हुने कुनै छाँटकाँट छैन। मत्थर हुनु पनि हुँदैन किनभने विवाह राजनीति समाजको एउटा महìवपूर्ण चालक शक्ति हो, जुन समाजको गतिशीलताका लागि अपरिहार्य नै छ।