• १२ पुस २०८१, शुक्रबार

‘‘खानपानमा ध्यान नदिँदा छालामा समस्या’’

blog

काठमाडौं, कात्तिक २४ गते । जाडो महिना सुरु भएसँगै छालामा विभिन्न समस्या देखिने गर्दछन् । छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठ जाडो मौसममा सुख्खा छाला हुनुका साथै हात, खुट्टा, ओठ फुट्ने जस्ता समस्या बढी देखिने बताउनुहुन्छ । त्यसबाहेक छाला खस्राे हुने, चिलाउने, शरीरबाट पाप्रा निस्कने, चिसोले हातखुट्टा सुन्निने, रातो फोका आउने, छालामा नीलो र रातो डाम देखिने, एलर्जी हुने जस्ता समस्या देखिने डा. श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार यो मौसममा हातखुट्टा, कान, नाक मुखलगायत कपडाले नछोपिने भागमा बढी असर गर्ने गर्छ । धेरै चिसो हुने हुँदा मानिसले कम पानी पिउँदा र खानपानमा ध्यान नदिँदा छालामा समस्या देखिन्छ । डा. श्रेष्ठका अनुसार एक पटक छालाका समस्या देखिएकाहरुलाई र बढी पानीमा काम गर्नुपर्ने मानिसमा छालामा समस्या देखिने सम्भावना बढी हुने गर्छ । जाडोमा छालामा समस्या आउनै नदिन छालालाई विशेष ध्यान दिनुपर्ने डा. श्रेष्ठको आग्रह छ ।

उहाँ भन्नुहुन्छ, “चिसो मौसममा हातखुट्टा वा शरीरको खुला भागलाई न्यानो पारेर राख्ने, चिसो पानी नचलाउने, पानी चलाउनुपरेमा पन्जा लगाएर चलाउने । काम गरिसकेपछि हात पुछेर तेल वा अन्य मोस्चराइजर क्रिम लगाएर न्यानो बनाएर राख्दा छाला सुख्खा हुनबाट बच्न सकिन्छ ।”

घरबाट बाहिर निस्कँदा न्यानो लुगा लगाएर निस्कन,  सकेसम्म धेरै तातो पानीले ननुहाउन चिकित्सको सुझाव छ । उहाँ भन्नुहुन्छ, “तातो पानीले नुहाउँदा छाला सुख्खा हुने हुँदा मन तातो पानीको प्रयोग गर्ने, नुहाइसकेपछि टावेलले बिस्तारै पानी पुछेर तेल वा अन्य मोस्चराइजर क्रिम लगाउने गर्नुपर्छ ।” जाडोमा दैनिक साबुनको प्रयोग नगर्न चिकित्सको सुझाव छ ।

चिकित्सकका अनुसार जाडो मौसममा छालामा समस्या आउन नदिन प्रशस्त पानी पिउनुका साथै खानपानमा जोड दिन आवश्यक छ । छालालाई सुख्खा हुन नदिन खुट्टामा नियमित बिहान साँझ मोस्चराइजर प्रयोग गरी न्यानो बनाएर राख्न चिकित्सको सुझाव छ । जाडो मौसममा छालाको स्याहार कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठसँग गरिएको भिडियो संवाद ।

भिडियो – मनोजरत्न शाही / केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।