काठमाडौँ, कात्तिक ११ गते । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र उपचारको क्रममा मृत्यु भएकी महिलाका आफन्तबिच सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबिच भएको छलफलपछि सहमति भएको हो । नवजात शिशुको उपचार र अध्ययनका लागि सहयोग गर्ने सहमति गरिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकले जानकारी दिनुभयो।
उहाँ भन्नुहुन्छ, “मृतकको उपचार हुँदा लागेको खर्च र शिशुको पेडियाट्रिक समयसम्म उपचार खर्च छुट दिने सहमति भएको छ ।”
सहमतिपछि मृतकका परिवार तथा आफन्तले अस्पतालमा श्रद्धान्जली सभा गरेर शव बुझ्ने तयारी गरेका छन् ।
नर्मल डेलिभरी (सुत्केरी) हुनुभएकी खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मीनाश्री राईको शुक्रबार राति मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमबार अस्पताल तोडफोड गरेका थिए ।
मीनाश्री राई सुत्केरी भएपछि रक्तस्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
आफन्तले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै प्रदर्शन गरेका थिए । सोमबार प्रहरी र मृतकका आपन्तबिच झडप भएको थियो।