• ११ कात्तिक २०८२, मङ्गलबार

धानको पाँजा रुझेपछि कृषक चिन्तित

blog

धान सुरक्षित गर्न खेतमा काम गरिरहेका वालिङ–१० कृषकहरू । तस्बिर : गोरखाप

राधाकृष्ण डुम्रे

वालिङ(स्याङ्जा), कात्तिक ११ गते । काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । 

मङ्गलबार बिहानबाट परेको बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएको हो । वर्षाले भित्राउन ठिक्क परेको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारी दिएको छ ।

वर्ष दिनसम्म खाने धान बाली भिजाएपछि कृषकलाई चिन्ता परेको छ । वालिङ नगरपालिका–८ का कृषक खेमकान्त कोइरालाले ४ रोपनी खेतमा लगाएको धान खेतमा नै रुझेको छ । वर्ष भरी खाने धान नराम्रोसँग रुझ्दा आफू चिन्तित भएको उहाँले बताउनु भयो ।

स्याङ्जाका धेरै कृषक यती बेला चिन्तामा छन्, तिहार मनाएर धान भित्र्याउने तयारी गरेको कृषकलाई ठुलो वर्षाले चिन्तित बनाएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार बेमौसमी झरीले जिल्लाका अधिकांश क्षेत्रमा पाकेर काटेको धान भिझाएको छ । धान भिझेर कति क्षती हुन्छ त्यस्को विवरण सङ्कलन गर्न समय लाग्ने हमालले बताउनु भयो । 

जिल्लाका ११ वटै पालिकामा धान बाली लगाइने गरेको छ । आँधी खोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङका क्षेत्र, सेती दोभान फाँटहरू र बिरुवा फाँटहरू धान खेतीका उर्वर क्षेत्र हुन ।

स्याङ्जामा सावित्री, मन्सुरी, रामधान,हाइब्रिड प्रकृतिका साथै केही उन्नत जातका धान खेती गरिन्छन् भने केही ठाउँमा स्थानीय जातका धान पनि रोप्ने गरिन्छ । 

राति नै पुगे कृषक खेतमा 

गएरातिबाट हल्का वर्षा सुरु भएसँगै जिल्लाका धेरै कृषक धान भित्राउन राति नै खेतमा पुगेका थिए । केही दिन पानी पर्न सक्ने भन्दै मौसमबिद्ले सूचना जारी गरेको भन्दै कृषकले सम्भव हुने धानलाई सुरक्षित तरिकाले राख्न सक्रिय भएका हुन् । 

यहि मौका छोपेर धान भित्राउन खेतमा पुगको वालिङ नगरपालिका–१० का किसान कृष्णबहादुर थापाले बताउनु भयो । उहाँले भन्नुभयो,“पानी पर्ने नै भयो काटेर सुकाएको धान एकै ठाउँमा जम्मा गरेर त्रिपालले ढाकेर सुरक्षित बनाउन सकिन्छ कि भनेर राति नै खेतमा आएका हौं ।”