कमल खत्री
धम्बोझी, कात्तिक ११ गते । नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणको तयारी तिव्र गतिमा अगाडि बढिरहेको छ ।
प्रतियोगितामा सहभागिताका लागि सोमबार सम्म एक सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जानकारी गराएको छ । प्रतियोगिता नेपालगन्ज रङ्गशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ ।
प्रतियोगिताको व्यवस्थापकीय तयारीका लागि नेपाल पौडी सङ्घका प्राविधिकहरूले सोमबार नेपालगन्ज पौडी पोखरीको निरीक्षण गर्नु भएको छ । काठमाडौँबाट आउनुभएका प्राविधिक प्रतिनिधिहरू विष्णु खड्का, अनिष महर्जन, दीपक सागर सिंह सहितको टोलीले रङ्गशालामा गएर पौडी पोखरीको निरीक्षण गरेको छ ।
प्रतियोगिताको तयारीलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो । प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको सङ्ख्या बढाउनुका साथै पौडीको स्तरलाई समेत बढाउन सहयोग गरिरहेको न्यौपानेले बताउनुभयो ।
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १०० मिटर तथा खुला समुहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नुहुने छ । प्रतियोगितामा ५६ वटाइभेन्ट्स समावेश गरिएको पौडी आयोजक नेपालगन्ज स्वीमिङ क्लबका वरिष्ट उपाध्यक्ष सुर्यमणी अधिकारीले बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल पौडी सङ्घका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका पदाधिकारी लगायतका अतिथीहरूको सहभागिता रहने छ ।
नेपाल पौडी सङ्घसँग सहकार्य गरेर आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालगन्ज न्युरो अस्पताल, सिद्धार्थ बैँक, जस्मिन पेन्ट्स, क्रिस्टिलो वाटर, वाल्किन र डटवर्कले सहयोग गरेका छन् ।