• ७ वैशाख २०८१, शुक्रबार

नेपालको काष्ठकलाले मोहित मिलिन्द

blog

काठमाडौँ, कात्तिक २३ गते । सिङ्गापुरका विश्वप्रसिद्ध कलाकार ओङ किम सेङले एक पटक वाटर कलर पेन्टिङ ‘अक्सन’मा राख्नुभएको थियो। त्यो ‘अक्सन’मा केही पेन्टिङ नेपालका थिए। नेपालको काष्ठकला, मठमन्दिर र पुरानो सहरको झल्को दिने ओङ किम सेङको पेन्टिङ त्यही बेला देखेपछि भारतका विख्यात कलाकार मिलिन्द मुलिक नेपालप्रति मोहित बन्नुभयो। सोही नेपालमोहले एकहप्ते कलायात्राका क्रममा मुलिक नेपालमा हुनुहुन्छ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका तीन सहर (वसन्तपुर, पाटन, भक्तपुर) घुमेर उहाँले कला, सम्पदा र जनजीवनलाई क्यानभासमा उतार्नुभएको छ। न्यातपोल मन्दिरअघिल्तिर बसेर क्यानभास पोत्दै गर्नुहुने मुलिकले भन्नुभयो, “मलाई कुनै पनि सहरले यति धेरै तानेकै थिएन, म यहाँ आनन्दले बस्न सक्छु। यहाँको काष्ठकलाले मलाई यति धेरै तानिरहेको छ। म त विश्वका कलाकारलाई भन्छु, यहाँ आएर काम गर।” एक सर्जक र कलाकारका लागि नेपाल आफैँमा क्यानभासजस्तो लाग्ने बुझाइ उहाँको छ। भारतको पुनेमा बस्दै आउनुभएका मुलिकले विश्वका धेरै देशमा कलायात्रा गरिसक्नुभएको छ। 

नेपाल यात्रामा उहाँसँगै पाँच जना थाइल्यान्डका सहित २३ जना कलाकार छन् । उहाँको यो पहिलो यात्रा हो। यद्यपि, फेरि–फेरि नेपाल आउने वाचासमेत उहाँको छ। उहाँको वाटर कलर ‘डेमोस्टे«सन’ हेर्न कलापारखी र कलाविद्यार्थी जहाँ पनि झुम्मिन्छन्। नेपाल यात्रामा समेत त्यस्तै भयो। उहाँले भन्नुभयो, “मैले नेपाली कला त त्यति धेरै हेर्न पाएको छैन तर नेपाली त कलाप्रेमी रहेछन्। कलापारखी रहेछन्।” उहाँलाई काठमाडौँका प्यागोडा शैलीका अग्ला–अग्ला मन्दिर, त्यसमा कुँदिएका काष्ठकलाले ज्यादै मोहित बनाएको छ।