कोकिला भण्डारी
धनकुटा, चैत ७ गते । कोशी प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्तान्तरण गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएसँगै स्थानीय स्तरमा बहस सुरु भएको छ । विश्वविद्यालयले अस्पतालको स्वामित्व ग्रहण गर्दा धनकुटा अस्पतालको सय वर्षभन्दा पुरानो ऐतिहासिक पहिचान मेटिन सक्ने भन्दै नागरिकस्तरमा चिन्ता र चासो बढ्न थालेको हो ।
सरकारले अस्पताल हस्तान्तरणसँगै नर्सिङ (बीएस्सी नर्सिङ) का कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यद्यपि, सरोकारवालाले अस्पतालको मौलिक इतिहास संरक्षण हुनुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राईले अस्पतालको ऐतिहासिक गौरवलाई यथावत् राखेर मात्र हस्तान्तरण प्रक्रिया अघि बढाउन सुझाव दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको निर्देशनअनुसार विश्वविद्यालयले यससम्बन्धी पाठ्यक्रम समेत तयार गरिसकेको छ ।
धनकुटा जिल्ला अस्पताल विकास समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले शिक्षण अस्पताल बनाउने आम धनकुटावासीको चाहना बमोजिम नै प्रदेश सरकारले सो निर्णय गरेको बताउनुभयो । मन्त्री पराजुलीले भन्नुभयो, “पहाडी जिल्लाको स्वास्थ्य सेवामा यो कोसेढुङ्गा सावित हुनेछ । अस्पतालको ऐतिहासिकता नमेटिने गरी कानुनी अड्चन फुकाउन प्रदेश सरकार प्रतिबद्ध छ ।” उहाँले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिने जानकारी समेत दिनुभयो ।
सो अवसरमा प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार रिसालले चालू आर्थिक वर्षदेखि नै बजेटको प्रबन्ध गरिने बताउनुभयो । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले विश्वविद्यालयले जिम्मेवारी सम्हालेपछि यस क्षेत्रको स्वास्थ्य र शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन आउने दाबी गर्नुभयो ।
ऐतिहासिक पृष्ठभूमि
वि.सं. १९७० मा 'त्रिचन्द्र अस्पताल'का नाममा स्थापना भएको यो अस्पताल नेपालकै पुराना अस्पतालमध्ये एक हो । मोरङको बूढीगंगा–४ मा मुख्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय २०७६ असोज १६ गते देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा स्थापना भएको थियो । विश्वविद्यालयले स्थापनाकालदेखि नै आफ्नै अस्पतालको माग गर्दै आएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशसभा सदस्यद्वय इन्दिरा थापा र निरन राई, स्वास्थ्य सचिव यदुचन्द्र घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सभापति बालानन्द दाहाल लगायतले नागरिकले पाउने स्वास्थ्य सेवाको स्पष्ट खाका आउनुपर्नेमा जोड दिनुभएको थियो ।