टीकापुर, चैत ७ गते । चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न ठिक्क भएको मुसुरो र केराउ बालीलाई क्षति पुर्याएको हो ।
“उखेलेको मुसुरो खेतमै थियो, अचानक पानी आइहाल्यो । पालले छोप्दा पनि पूरै ढाक्न सकिएन र सबै भिज्यो,” टीकापुर नगरपालिका–२ राजीपुरका अर्जुन ठकुल्लाले भन्नुभयो, “सबैको मुसुरो पाकेको थियो, पानी परेपछि गाउँका किसानको मुसुरो खेती गलेको छ ।”
राजीपुरकै चुलुवा चौधरीले पनि ३० कठ्ठा खेतमा लगाएको मुसुरो र केराउ पाकेर सड्न थालेपछि उखेल्न थालेको बताउनुभयो । यस्तै, राजकुमारी चौधरीले २० कठ्ठा जमिनमा उखेलेर राखेको मुसुरो भिजेर बिग्रिएको र बाँकी रहेको मुसुरो पनि हतार–हतार उखेल्न थालेको जानकारी दिनुभयो । वर्षासँगै चलेको हावाहुरीले भर्खरै बाला लाग्दै गरेको गहुँ बाली समेत ढालेको छ ।
टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोतीसिंह विकले बेमौसमी वर्षाले वसन्ते मकै, लहरे तरकारी र अरहरलगायतका बालीलाई फाइदा पुगे पनि पाकेको मुसुरो र केराउलाई भने नोक्सानी गरेको बताउनुभयो । कैलाली मुसुरो र केराउ राम्रो उत्पादन हुने क्षेत्र हो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार टीकापुर क्षेत्रमा बिहीबार बिहानदेखि शनिबार बिहानसम्म १२ मिलिमिटर वर्षा मापन गरिएको छ ।