टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), चैत ७ गते । पानी परेपछि उर्लिएर आउने छल्दी खोला तर्न स्थानीयलाई ठूलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्खामा खोला पस्नुपर्ने बाध्यता थियो ।
पालुखा माविको टारीतिरका बिद्यार्थीलाई नजिकै पुल नहुँदा लामो बाटो भएर बिद्यालय पुग्ने वा खोलामै जोखिम मोलेर पस्ने भन्ने दुई बिकल्प मात्र थिए । अहिले इस्मा गाउँपालिका –२ अन्तर्गत छल्दी टारी र पालुखा जोड्न झोलुङ्गे पुल निर्माण भएको छ ।
स्थानीय बासिन्दा तथा विद्यार्थीको आवत–जावत सहज बनाउने उद्देश्यले सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
आस्था सम्झना जेभी, अर्घाखाँचीले एक करोड ७१ लाख ८४ हजार ४६० रुपियाँमा पुल निर्माणको जिम्मा पाएको छ । आगामी भदौ ३ गते काम पूरा गर्ने गरेर निर्माण व्यवसायीले २०८२ भदौ ३ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार पाँच महिना अगाडि नै काम सकिएपछि स्थानीय खुसी भएका छन् ।
वर्षा याममा खोलामा पानीको बहाव बढ्दा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवत–जावतमा जोखिम मोल्नुपर्ने अवस्था थियो । पुल नहुँदा कतिपय अवस्थामा विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित हुने समस्या हटेर गएको इस्मा गाउँपालिका –२ का स्थानीय रामप्रसाद घिमिरेले बताउनुभयो ।
हालै निर्माण भएको पसल पालुखा माविको गेटमै छ । जसको कारण बिद्यालयका बिद्यार्थी र शिक्षकहरु सबैभन्दा बढी खुसी छन् । ठुलो बर्षा भएको बेला बिद्यार्थी र शिक्षक बिद्यालय आउन लामो समयदेखि पाइराखेको सास्ती हटेको पालुखा माविका प्रध्यानाध्यापक बाबुराम खत्रीले बताउनुभयो ।
उहाँका अनुसार हस्चिौरको सिर्पु, राले, टारी, हुलाके, घर्तिफाँट, गुरुवा लगायतका गाउँका बिद्यार्थीहरु पुलबाट लाभाम्बित हुनेछन् । अहिले पालुखा माविमा ३५१ बिद्यार्थी रहेका छन् ।