• ११ मंसिर २०८१, मङ्गलबार

युवा होइन, उत्पादन निर्यात

blog

युवाशक्ति नै देश विकासका संवाहक हुन्। राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेकै युवा वर्ग हो। युवाको आँट, जोश, जाँगर र हिम्मतलाई उपयोग नगरेसम्म देशले विकासको काँचुली फेर्न सक्दैन। नेपाललाई दक्षिण एसियाकै धेरै युवा जनशक्ति भएको देश भनिए पनि युवा रोजगारीका लागि विश्व बजारमा श्रम र सीप बेच्न बाध्य छन्। देशमा भएका युवा पनि अवसरको अभावले बरालिएका छन्। कोही राजनीतिक दलमा लागेर अनुत्पादक समय खर्च गरिरहेका छन् भने कोही कुलतमा फँसेका छन्। यसरी हेर्दा राज्यले युवाशक्तिलाई विकास निर्माणमा उपयोग गर्न सकेको छैन। उत्पादनको क्षेत्रमा लगाउन सकेको देखिँदैन। 

सरकारले युवालाई स्वदेशमा नै आयआर्जनका अवसरको व्यवस्था गर्नुपर्नेमा वैदेशिक रोजगारका लागि सम्झौता गर्दै श्रम बजारमा पठाउने काम गरेको छ। फलतः गाउँघरका खेतीयोग्य जमिन बाँझिएका छन्। किसान परिवारका गोठ भत्किएका छन्। गाउँघर वृद्धाश्रमजस्ता भएका छन्। एक दशक अगाडिसम्म खाद्यान्नमा आत्मनिर्भर भएका गाउँमा अहिले चामल, दाल, तेललगायतका खाद्य पदार्थ आयात नगरी खान पुग्दैन। खाद्यान्नमा परनिर्भरता बढ्दै छ। युवा जनशक्तिलाई कृषि, पशुपालनलगायतका क्षेत्रमा आधुनिक तथा व्यावसायिक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउनुपर्छ। यसो गर्दा हरेक स्थानीय तहमा भएका युवा जनशक्तिलाई आधुनिक कृषि तथा पशुपालनसम्बन्धी तालिम दिन प्रशिक्षण केन्द्रहरू राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्नुपर्छ।

हरेक पालिकामा कृषि तथा पशुविज्ञको व्यवस्था गरी त्यहाँको हावापानी, माटोको अवस्थाको अध्ययन, अनुसन्धान गरी उत्पादन गर्न सकिने खेती, फलपूmल तथा फस्टाउन सक्ने पशुपन्छीपालनका क्षेत्रमा युवा जनशक्तिलाई संलग्न गराउनुपर्छ। यसका लागि राज्यले आधुनिक कृषि एवं पशुपालनका तालिम, आर्थिक अनुदान, सहुलियत दरमा ऋण, बिमाको व्यवस्था, उन्नत स्तरको बीउबिजनको व्यवस्था, आधारभूत औजार सामग्री, बजार व्यवस्थापनलगायतको क्षेत्रमा सहयोग गर्न आवश्यक छ। 

युवा देश विकासका ऊर्जा हुन्। राज्यले मुलुकको विकास निर्माणमा गहनतम् भूमिका निर्वाह गर्न सक्ने युवाशक्तिलाई उपयोग गर्न नसक्नु मुलुकको दुर्भाग्य हो। अँध्यारो भविष्यको सङ्केत हो। मूलतः आर्थिक अभावका कारण युवा विदेश पलायन भएका हुन्। जीवन निर्वाह गर्न आफ्नै देशमा काम, दाम र माम नपाउँदा युवा बिदेसिएका हुन्। बरालिएका हुन्। अहिले नेपाल युवा निर्यात गर्ने मुलुकका रूपमा चिनिएको छ। दैनिक १५ सयको हाराहारीमा युवा रोजगारीका लागि विदेशिएको तथ्याङ्क छ। गाउँघरमा युवा छैनन्। युवालाई विदेश निर्यात गरेर उनीहरूका मातापितालाई वृद्धभत्ता दिने राज्यको नीतिले न देश विकास हुन सक्छ न त हाम्रा गाउँघर उत्पादनमा आत्मनिर्भर हुन सक्छन्। तसर्थ राज्यले युवा निर्यात होइन, उनीहरूको मेहनतबाट उत्पादित खाद्यान्न निर्यात गरी देशको आर्थिक स्रोतलाई उत्पादनमुखी बनाउन जरुरी छ।  

नेपाल कृषिप्रधान देश भएकाले कृषि तथा पशुपालनको क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण एवं निर्यातमुखी बनाउनु नै आर्थिक समृद्धिको मेसो हो। यसैगरी विकासको अर्को आधार पर्यटन, जल, जमिन, जङ्गल र जडीबुटीको उपयोग गर्न सक्नु हो। यसका लागि राज्यले तदनुकूलको शिक्षा एवं तालिमको व्यवस्था गर्नुपर्छ। देश विकास गर्ने युवाको मेहनत र पसिनाले हो। युवाको जोश, जाँगर, सीप र शक्तिलाई विकास निर्माणका कार्यमा लगाउन सकिएन भने देशले विकासको गति लिन सक्दैन। प्रजातन्त्रको पुनस्र्थापनापछाडि युवा विदेशिएका हुन्। स्वदेशमा बाँकी भएका युवा पनि बेरोजगारीले सताइएका छन्। देशलाई युवाविहीन बनाएर विकासले कसरी गति लिन सक्छ ? आर्थिक समृद्धि कसरी हुन सक्छ ? 

हाम्रा युवा अरू देशमा गएर कृषिको क्षेत्रमा कार्य गर्छन् भने तिनका परिवार स्वदेशमा आयात गरिएका खाद्यान्न किनेर खान्छन्। तिनका खेत बाँझै छन्। दिन प्रतिदिन खाद्यान्नमा परनिर्भरता बढ्दै छ। हामीले चामल, दलहन, गेडागुडी, तरकारी, प्याज, लसुन, धनियाँ, फलपूmल, माछामासुलगायतका खाद्यान्न भारत, चीनलगायत अन्य देशबाट आयात गर्दछौँ। केही दशक अगाडिसम्म खाद्यान्न निर्यात गर्ने हाम्रो देश आज खाद्यान्न आयात गर्न बाध्य छ। तसर्थ आर्थिक समृद्धिका लागि युवालाई स्वदेशमै आधुनिक कृषि प्रणाली, पशुपालन, मत्स्यपालन, माहुरीपालन, रेसम, फलफूल, तरकारी र पुष्पखेतीमा आकर्षित गराउनुपर्छ। आवश्यक परे व्यावसायिक तालिम दिई दक्ष बनाएर स्वरोजगार बनाउनुपर्छ। यसका लागि प्रत्येक स्थानीय तहमा युवा स्वरोजगार प्रशिक्षण केन्द्र स्थापना गरी उनीहरूलाई शैक्षिक योग्यता र इच्छाशक्तिको आधारमा व्यावसायिक तालिम दिएर आयआर्जनमा लगाउनेतर्फ राज्यको ध्यान जान जरुरी छ।

अब मुलुकको विकास तीव्र गतिमा अगाडि बढाउने बेला आएको छ। आफ्नै गाउँठाउँमा आयआर्जनका अवसर सिर्जना हुनसकेमा युवा देशमा नै बस्नसक्ने अवस्था रहन्छ। आफ्नै गाउँठाउँमा आयआर्जन गर्न सकिने ज्ञान एवं सीप भएमा युवा व्यवसाय खोज्ने, रोज्ने र टिकाउने कार्यमा लाग्छन्। रोजगारीका लागि विदेश जाने क्रम रोकिन्छ। विदेशमा भएका युवा बिस्तारै स्वदेश फर्कन सुरु गर्छन्। गाउँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुन थाल्छन्। स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुको किनबेचको कारोबारले ग्रामीण जीवनमा आर्थिक समृद्धि प्राप्त भई देशले विकासको गति लिन थाल्छ। राज्यले युवाशक्तिलाई उत्पादनको क्षेत्रमा लगाउन ठोस कार्यनीति बनाई कार्यान्वयन गर्न जरुरी छ।  

युवापुस्ता रहरले विदेशिएको होइन। स्वदेशमा आयआर्जन गर्ने अवसरको अभावले गर्दा उनीहरू काम, माम र जीवनयापनका लागि छिमेकी वा टाढाका मुलुकमा भौँतारिन बाध्य भएका हुन्। गाँस, बास र कपासको आवश्यकताले लाखौँको सङ्ख्यामा युवाशक्ति बिदेसिएको हो। अब निर्वाचित राजनीतिक दल एवं जनप्रतिनिधिले युवाको पिरमर्का बुझ्नुपर्छ। हाम्रोजस्तो देशको विकासको आधार कृषि नै हो। यस निर्वाचनमा बुढ्यौलीले छोएका, जाँगर हराइसकेका, सिद्धान्तका मात्र गफ गर्ने, भिजन, मिसन र एक्सन नभएकालाई मतदान नगरौँ। भिजन र विकासको कार्ययोजना भएका युवा नेतृत्व चयन गरौँ। देशबाट युवाको निर्यात होइन, उनीहरूको परिश्रमबाट उत्पादन भएका स्वदेशी उत्पादन निर्यात गर्ने रोडम्याप र कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गरौँ। 

युुवा अवस्था जीवनको उर्वर समय हो। पढाइ, लेखाइ, जागिर, व्यापार, उद्योगधन्दा या कुनै व्यवसायमा मानिस यही समयमा नै प्रवेश गर्छ र जीवनको यात्रा अगाडि बढाउँछ। मानिसको जीवनमा आफ्नो भाग्यरेखा आफैँ कोर्ने बेला पनि हो– युवा समय। कुनै पनि व्यक्तिले व्यवसाय रोज्ने र खोज्ने उर्वर समय भएकाले युवा समयलाई स्वदेशमा नै उपयोग गर्नुपर्छ। यसका लागि राज्यले प्रत्येक स्थानीय तहमा युवा व्यावसायिक तालिम केन्द्रको स्थापना गरेर शिक्षित युवालाई शैक्षिक योग्यता र व्यावसायिक इच्छाअनुसार प्रशिक्षित गराउन आवश्यक छ। 

अन्त्यमा मुलुकको गरिबीको चक्रलाई फाल्न गाउँको गुणात्मक विकास आजको आवश्यकता हो। यसका लागि सानदार कृषि जीवन पहिलो सर्त हो। गाउँको विकास र स्वरोजगारी सिर्जना गर्नका लागि पशुपालन, पन्छीपालन, मत्स्यपालन, जडीबुटी, जल, जमिन, पर्यटन र घरेलु उद्योगको स्थापना, ग्रामीण विद्युतीकरण, सिँचाइको व्यवस्था, उत्पादनको न्यायोचित मूल्यजस्ता कुरा अनिवार्य सर्त हुन्। तसर्थ उल्लिखित कार्यमा राज्य, सम्बन्धित निकाय, विज्ञ समूह एवं युवाशक्तिको बीचमा त्रिकोणात्मक समन्वय तथा सहकार्य हुन जरुरी छ। अब युवाशक्तिलाई निर्यात गर्ने होइन, उनीहरूको जोश, जाँगर, ज्ञान र सीपलाई उत्पादनमा लगाएर स्वदेशी उत्पादनलाई निर्यात गर्नुपर्छ। आत्मनिर्भरसहितको नयाँ नेपाल निर्माण गर्नु आजको आवश्यकता हो।