बैतडी समाचारदाता
बैतडी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेशको बैतडीमा छाउपडीका कारणले भन्दा बढी भिडबाट लडेर महिलाको मृत्यु तथा अङ्गभङ्ग हुने गरेका छन् । छाउपडी गोठभन्दा घाँस काट्ने क्रममा हप्तैपिच्छे भिरबाट लडेर गम्भीर घाइते भएर अस्पतालको शय्यामा छटपटाउनुपर्ने अवस्था रहेका छन् । यही जेठ १८ गते घरनजिकै घाँस काट्न गएकी सिगास गाउँपालिका–६, नाकराकी १४ वर्षीय तुलसी खडायत लडेर गम्भीर घाइते भएकी छन् । घाइते बालिकालाई बेहोस अवस्थामै बैतडीबाट धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याइएको छ ।
घरमा एकल आमा मात्रै रहेकी घाइते बालिकाको आर्थिक अभावले उपचारमा समस्या भइरहेको उहाँका काका नाता पर्ने कृष्ण खडायतले बताउनुभयो । बालिकाको घरमा एकल आमा र एक जना दाइ मजदुरी गर्न भारतमा भएकाले बालिकालाई छिमेकी नातेदारको सहयोगमा अस्पताल पु¥याइएको छ । घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा समस्या भइरहेको परिवारको गुनासो छ । युवतीको उपचारमा अहिलेसम्म ४० हजार खर्च भइरहेको खडायतले बताउनुभयो ।
हरेक वर्ष ग्रामीण क्षेत्रमा ८/१० जना महिलाको भिरबाट लडेर ज्यान जाने गरेको छ । बैतडीसहित प्रदेशका छ वटा जिल्लामा घाँस काट्न जाँदा गएको तीन वर्षमा ८० जना महिलाको भिरबाट खसेर मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरा र डडेलधुरामा घाँस काट्न जाँदा भिरबाट खसेर ज्यान गुमाउने महिलाको सङ्ख्या वर्ष २०७८/७९ मा २१ जना, २०७९/८० मा २९ जना, २०८०/८१ मा ३० जना रहेका छन् ।
छैन दुर्घटना बिमा
महिला अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी, बालविवाह र लैङ्गिक हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आए पनि घाँसको त्यान्द्राले ज्यान गुमाउनेको कुनै तथ्याङ्क छैन । भिरबाट लडेर ज्यान गुमाउने महिलाको न दुर्घटना जीवन बिमा छ न त सुरक्षाको कुनै कार्यक्रम नै गरेको देखिन्छ ।
प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अछाम, बैतडी र दार्चुलाका महिलाले भिरबाट लडेर ज्यान गुमाउँदै आएका छन् । छाउपडी प्रथा उन्मूलनका लागि गोष्ठी र सेमिनारमा बर्सेनि लाखौँ रुपियाँ खर्च हुँदै आए पनि घाँसका लागि ज्यान गुमाउने महिलाका बारेमा सरोकारवाला निकाय मौन बसेको महिला अधिकारकर्मी सुचित्रा वडले बताउनुभयो ।
घाँस काट्न जाँदा भिरबाट खसेर मृत्यु हुने महिलाको परिवारलाई स्थानीय सरकारले कुनै राहत दिन सकेका छैनन् । कठिन परिश्रम गर्ने महिलाको दुर्घटना बिमा र कार्यस्थलमा सुरक्षाका सामग्रीका रूपमा पहाड चढ्दा प्रयोग गरिने सुरक्षित डोरी स्थानीय सरकारले वितरण गर्नुपर्ने बैतडी सिगासका शिक्षक सुन्दरसिंह धामीले बताउनुभयो ।