• २५ जेठ २०८२, आइतबार

भाषा साहित्यका साधक

blog

नेपाली भाषा साहित्यका साधक विजय चालिसे अब हामीमाझ रहनुभएन । विसं २००८ असार २२ गते पिता वरिष्ठ साहित्यकार रमेश विकल र आमा सुशीला चालिसेका कोखबाट काठमाडौँको उत्तरपूर्वमा रहेको रमणीय भूमि आरुबारीमा उहाँको जन्म भएको थियो । उच्च साहित्यिक घरानाका व्यक्ति चालिसेले सानो उमेरदेखि नै आफ्ना पिताको पदचाप अँगाल्दै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा सम्पूर्ण जीवन व्यतीत गर्नुभयो । झन्डै पाँच दर्जन कृतिका रचनाकार चालिसे गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक भएर कुशल पत्रकारका रूपमा पनि आफूलाई सुपरिचित गराउनु भयो । 

विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि जनगायक स्व. जेवी टुहुरे र पङ्क्तिकार एक दिन नयाँ सडकस्थित भूगोलपार्क वितरण गर्दै थियौँ चालिसेसँग अचानक भेट भयो । हामीलाई गोरखापत्र संस्थानभित्र लिएर जानुभयो । साहित्यिक पत्रिका मधुपर्कमा हामी दाजुभाइ र नागरिक आन्दोलनमा कलाकारको भूमिकाबारे केही लेख्नु पर्छ भनी वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सँग छलफल गर्नुभयो । श्रेष्ठले त्यो सुनेर खुसी व्यक्त गर्नुभयो । एक घण्टाको अवधिमा हामीले गोरखापत्र संस्थानको आगनीमा बसेर पत्रकारले सोधेका प्रश्नको उत्तर दियौँ । विचार मानिसको आआफ्नो हुन्छ नै । हामी दुवै जना पनि बेग्लाबेग्लै सिद्धान्तका भएर पनि जेवी दाइको र पङ्क्तिकारबिच दाजुभाइको गहिरो सम्बन्ध थियो । यो घनिष्ठता २०४६ सालको जनआन्दोलनताका भएको थियो । मधुपर्कका पत्रकारले सोधेका सबै कुरा बताएपछि चालिसेले आफ्नै कोठामा बोलाएर हामीलाई धन्यवाद दिएको स्मरण ताजै छ । 

हालको गोकर्णेश्वर नगरपालिकामा अवस्थित सहयोगी उच्च माविमा मेरा माइलो दाजु देवीचन्द्र जोशीले विसं २०३१ सालमा अध्यापन गराउनुभएको रहेछ । जसको श्रेय सो विद्यालयका तत्कालीन प्रअ वासुदेवप्रसाद पौडेललाई जान्छ । चालिसेले पनि त्यसबेला सोही विद्यालयमा पढाउनु हुँदो रहेछ । दुवैका बिच आत्मीय सम्बन्ध बढ्दै गएछ । त्यही सम्बन्धको सेतुले पङ्क्तिकार चालिसेसँग नजिक हुन पुग्यो । चालिसेले अक्षरको खेती गरी नेपाली साहित्यको सेवा गर्नु भयो । विसं २०८० भदौमा देवीचन्द्र दाइको र २०८२ जेठ १६ गते विजय दाइको परलोक प्रस्थान भयो । यी दुवै जना दाजु मेरो मानसपटलमा घुमिरहन्छन् । वासुदेव पौडेलकी छोरी सुजनासँग माइलो दाइको बिहे भएपछि यो सम्बन्ध परिवारमा परिणत भयो । 

राष्ट्रिय विकास सेवा (राविसे) अन्तर्गत विसं २०३५/३६ सालताका विजय चालिसे डोटी पुग्नु भएछ । नेपाली भाषा साहित्य र संस्कृतिको उर्वरभूमि डोटी (पुरानो नाम दङ्वाटवी) ले समग्र सुदूरपश्चिम प्रदेशको भाषा र साहित्यप्रति केही गर्ने हुटहुटी जगाएछ । वर्ष दिनको बसाइमा उहाँले शिक्षा दान दिनुका अलावा भाषा साहित्यको गरुङ्गो भारी बोकेर जन्मथलो काठमाडौँ फर्कनुभएछ । चालिसेद्वारा लिखित करिब ५५/६० वटा अमर कृतिमध्ये डोटेली लोक साहित्य नामक कृति अमूल्य छ । 

समग्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा साहित्य बोली रहनसहनका बारे विशेष चाख दिएर पङ्क्तिकारसँग छलफल गरिरहनु हुन्थ्यो । त्यसैले पनि अरू स्रष्टा भन्दा फरकपन उहाँमा थियो । जसरी देउडा संस्कृतिलाई रेडियो नेपालद्वारा प्रचार गर्नुभयो, त्यसरी नै खुलामञ्च र राष्ट्रिय सभागृहका चौरमा देउवा र चन्दलाई नचाएर राष्ट्रिय गुन लगाउनु भयो । सुदूरपश्चिमको माटोले तपाईंलाई चिरकालसम्म सम्झिरहने छ, भन्दै पङ्क्तिकारसँग गुनिलो भाषा प्रयोग गर्नुहुन्थ्यो । अब यसरी माया गर्ने व्यक्ति कति नै होलान् र ? दिन प्रतिदिन पुराना पुस्ताका स्रष्टा आआफ्नो बाटो लाग्दै छन् । नयाँ पुस्ता विदेश पलायन हुँदै छन् । पछिल्लो एक महिनाको अवधिमा साहित्यकार प्रदीप नेपाल, राजनीतिकर्मी तीर्थराम डङ्गोल र चालिसे गोलोक प्रस्थान गर्नुभयो । यी हरफ लेख्दालेख्दै गीतसङ्गीतका अर्का सेवक गणेश रसिक पनि बित्नुभयो । थाहा छैन भोलि कसको पालो आउने हो ? एक दिन त सबैको पालो आउँछ नै । 

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल २०६०/६१ ताका बन्द भए पनि प्रत्येक स्रष्टासँग संवाद कार्यक्रम चौतारी (पहिले भलाभली) नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । विशिष्ट स्रष्टासँगको संवादको भिडियो नेपाल टेलिभिजनले सुरक्षित राखेर विशेष गुन लगाएको छ । यसै शिलशिलामा विसं २०८० मङ्सिरमा साहित्यका उज्वल नक्षत्र चालिसेसँग नेपाल टेलिभिजनको चौतारी नामक कार्यक्रममा संवाद गर्ने साइत जुर्‍यो । ३० मिनेटका उक्त संवाद साहित्य र भाषासँग सम्बन्धित थियो । संवादमा उहाँले खुसी व्यक्त गर्दै ‘लोकतन्त्रको रक्षा केवल राजनीतिकर्मीले मात्र होइन लेखनीका मार्फत स्रष्टाले पनि गरिरहनु पर्छ’ भन्नु भएको पङ्क्ति सधैँ स्मरणीय छ । ‘‘काली कर्णाली प्रदेशको भाषा र संस्कृतिको सामान्य उपस्थितिबाहेक विशेष उपस्थिति केन्द्रमा हुन सकेको छैन, त्यसका लागि लागिरहनु पर्छ भनेर उहाँले सधैँ भनिरहनुहुन्थ्यो । साहित्यका मूर्धन्य व्यक्ति चालिसेले भन्नु भए जस्तै काली कर्णालीको जनजीवनबारे भाषा र साहित्य अनि समग्र संस्कृतिका ती उज्याला पाटाका बारे गहन रूपमा चर्चा हुन सकेको छैन, व्याख्या विश्लेषण हुन बाँकी नै छ । केही विज्ञजनले कलम चलाए, धेरैले धेरै विषयमा लेख्न बाँकी छ । 

चालिसे दाइसँग थोरै सङ्गत गर्ने मौका मिले पनि सार्थकै भयो । गएको कात्तिक महिनामा लघुकथामञ्च चितवनले भव्य साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । संस्थाका संयोजक तथा अध्यक्ष कृष्णजी शर्मा, घनश्याम डल्लाकोटीले दुई दिनसम्म विविध विधामा कार्यक्रमको आयोजना गर्दा विशिष्ट अतिथिका रूपमा चालिसेका देशभक्तिपूर्ण साहित्यिक रसास्वादन सबैले गर्न पाए । प्रमुख अतिथि प्राडा चूडामणि बन्धु, प्राडा बिदुर चालिसे, डा. पुस्कर लोहनी, गोपाल अस्क, ध्रुवमधिकर्मी, यमुना प्रधानाङ्गलगायत सयौँ चितवनवासी धरती पुत्रपुत्रीलाई देउडा गीतसङ्गीत सुनाउने मौका मिल्यो । सो अवसरमा चालिसेले नेपाली साहित्यमा देउडा गायनको उपस्थिति आफैँमा गरिमामय रहेको विचार व्यक्त गर्नुभएको थियो । 

गत वैशाख २४ गते गोरखापत्र संस्थानले आफ्नो १२५ औँ स्थापना दिवसको सन्दर्भ पारेर वरिष्ठ पत्रकार चालिसेलाई प्रधानमन्त्रीको हातबाट हार्दिकताका साथ विशेष सम्मान अर्पण ग¥यो । जुन आफैँमा ऐतिहासिक र सुखद क्षण थियो । यसरी सम्मानित भएको एक महिना पूरा नहुँदै उहाँ परलोक हुनुभयो । जीवित अवस्थामा नै उहाँसँग बसेर केही जिज्ञाषा राख्ने सोचाइ थियो, जुन अपुरो रह्यो । गोकर्णेश्वर महादेव अगाडिको घाटमा कान्छो छोरा आलोकले दागबत्ती दिइरहँदा जेठो छोरा अरुणको अभाव उहाँको आत्मामा खड्कियो होला । देशको नियति नै भन्नु पर्छ, विदेश गएका कतिपय छोराछोरीले आफ्नो पितामाताको अन्तिम दाहसंस्कारमा उपस्थिति हुन पाउँदैनन् । कान्छा भाइ तथा साहित्यकार महेन्द्र चालिसे र बहिनी तारा भन्दै थिइन दाजुको अभाव त खड्किने नै भयो । आगामी असार २२ गते समालोचक प्राडा ठाकुरप्रसाद शर्माद्वारा लिखित ‘द्रष्टाका दृष्टिमा स्रष्टा विजय चालिसे’ नामक कृति विमोचन गरिने कार्यक्रम पनि अधुरो नै रह्यो । 

अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित विशिष्ट साहित्यकार प्राडा बिदूर चालिसे, प्राडा शैलेन्द्र प्रकाश नेपाल, वेदमणि, ध्रुवराज थापा, मुरारी सिग्देललगायतका व्यक्ति भन्दै हुनुहुन्थ्यो, वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालले मृत्यु रोजेको बागमती नदीको तिरमा चालिसेको लास जलिरहँदा मौन भएर गोकर्णेश्वर महादेव मानव जगत्को तमासा हेरिरहेछन् ।