एकेन्द्र महता
अछाम सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्येको एक पहाडी जिल्ला हो । भाषा, साहित्य, कला, ऐतिहासिक महत्वका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले पनि अछाम भरिपूर्ण छ । यहाँ रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदादेवी मन्दिर, वैद्यनाथ मन्दिर, बिम्कोट दरबार, मङ्गलसेन दरबार, विनायकका पञ्चदेवल, दर्नाका देवल, बान्नीगढी, जयगढ, बयलपाटा आदि धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थान छन् ।
अछाममा ५६ हजार ३४७ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १० हजार ३०८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । १० हजार ६१९ हेक्टर भूभाग वनजङ्गलले ढाकेको छ । अछाममा प्रतिनिधि सभाका दुई वटा क्षेत्र र प्रदेश सभाका चार वटा क्षेत्र रहेका छन् भने १० वटा स्थानीय तह छन् त्यसमध्ये चार वटा नगरपालिका, छ वटा गाउँपालिका रहेका छन् । स्थानीय तहमा ९१ वटा वडा रहेका छन् । साँफेबगर, सदरमुकाम मङ्गलसेन, कमलबजार र विनायक यहाँका मुख्य बजार क्षेत्र हुन् । दुई लाख २९ हजार ८१६ जनसङ्ख्या रहेको अछामको साक्षरता ९५.५५ प्रतिशत छ । यहाँ ९५७ शैक्षिक संस्था र ४२ वटा सामुदायिक अध्ययन केन्द्र छन् ।
सडक सञ्जाल
कैलालीको बौनियाँ हुँदै बझाङको ताक्लाकोट पुग्ने सेती लोकमार्गको २०४ किलोमिटरमध्ये ८० किमी पश्चिम अछाम भएर जाँदै छ । सो लोकमार्गका सूचना अधिकारी केशव मिश्रका अनुसार यो सडकको कैलाली र अछाममा धेरै ट्र्याक खुलेका छन् । डोटीमा ट्र्याक खोल्न सुरु भएको छ । यो आर्थिक वर्षमा सडकतर्फ ७६ अर्ब ४६ करोड र पुलमा नौ करोड ३६ लाख रुपियाँ विनियोजन भएको छ ।
यस्तै अछामको पूर्वदेखि पश्चिमसम्मको बिच भागलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडेको छ । यो सडकले छ वटा स्थानीय तहका १७ वटा वडालाई जोडेको छ । प्रदेशको गौरवको योजना चिसापानी–जङ्गलघाट–बडीमालिका सडक निर्माणाधीन अवस्थामा रहेको छ । यस सडकले पनि अछामको आधा भूभाग समेटेको छ । सो सडकको जङ्गलघाट–बाँसकाडा (अछाम) खण्ड २३ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको र बाँसकाडा–गैरीटाँड १५ किमी कालोपत्रे भइसकेको पूर्वाधार विकास कार्यालय साँफेबगरका इन्जिनियर देवीप्रसाद उपाध्यायले बताउनुभयो ।
ठडियो मङ्गलसेन दरबार
सशस्त्र द्वन्द्वकालमा माओवादीको आक्रमणले ध्वस्त भएको ऐतिहासिक मङ्गलसेन दरबार ठडिएको छ । मङ्गलसेन नगरपालिका–५ मा रहेको सो दरबार माओवादीको २०५८ फागुन ४ गते आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको थियो । सघन सहरी विकास आयोजना अन्तर्गत पुरातìव विभागको करिब नौ करोड लगानीमा दरबारको पुनर्निर्माण भएको हो । हाल दुई करोड बजेटमा पर्खाल र प्रवेशद्वार निर्माण भइरहेको छ ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालत, कारागारलगायतका महìवपूर्ण कार्यालय थिए । पछि प्रशासनबाहेक अन्य कार्यालय अर्को भवनमा सरेका थिए । आक्रमणका बेला जिल्ला प्रशासन दरबारमै थियो । मङ्गलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सुरु भएर विसं १९४१ मा पूरा भएको बताइन्छ । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको सो तीनतले दरबारमा ३० कोठा थिए । दरबार परम्परागत शैलीमै पुनर्निर्माण गरिएको छ ।
मङ्गलसेन दरबार । तस्बिर : प्रकाशविक्रम शाह
पर्यटन विकासको सम्भावना
ऐतिहासिक एवं प्राकृतिक, धार्मिक, सांस्कृतिक र मेला पर्वले अछाम पर्यटनका लागि ठुलो सम्भावनायुक्त क्षेत्रभित्र पर्दछ । रामारोशन बाह्र बन्ड (ताल), अठार खण्ड (मैदान) को नामले चर्चित छ । यो क्षेत्र विशाल घाँसे मैदान, आकाश पुग्ने जस्तै अग्ला पहाड, रङ्गीबिरङ्गी विभिन्न प्रजातिका लालीगुराँस, हरियाली भइरहने जङ्गल र वन्यजन्तुको बासस्थल पनि हो ।
रामारोशनलाई नै शिरानी बनाएर बग्ने कैलाश नदीको किनारैकिनार रामारोशनसम्मै पुग्ने सडक पहुँच रहेको छ । प्रदेश सरकारले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरेर पर्यटन विकाससम्बन्धी गतिविधि सञ्चालन गरिरहेको समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताउनुभयो ।
रामारोशन क्षेत्र । तस्बिर : प्रकाशविक्रम शाह
जलविद्युत्का काम अघि बढ्दै
अछाममा कर्णाली, सेती, बुढीगङ्गा, कैलाशखोला जस्ता दर्जनौँ गाड र खोला छन्् । अछामलाई समृद्धितिर डो¥याउन साँफेबगर क्षेत्रमा २० मेगावाट क्षमताको बुढीगङ्गा जलविद्युत् आयोजना निर्माण प्रक्रियामा छ । साँफेबगर नगरपालिका–१३, बाबलाको बुढाबगर र मेल्लेख गाउँपालिका–४ को कुस्कोटमा बाँध र वडा नम्बर ८ हात्तीकोटमा विद्युत्गृह निर्माण गरिने भएको छ । सो आयोजना स्थल पुग्न सडक, पुल, कार्यालय, आवास र क्याम्पका भवन निर्माण भइसकेका छन् । टनेल, ड्याम र पावर हाउस निर्माण कार्यका लागि ठेक्काको काम भइरहेको आयोजनाका प्रमुख सुरेन्द्र घिमिरेको भनाइ छ । यो आयोजना बनाउन कुवेत, साउदी र नेपाल सरकारले नौ अर्ब खर्चिने भएका छन् ।
अछाम बयलपाटा अस्पताल
दुःखी, गरिब र असहायका लागि साँफेबगर नगरपालिका–७ स्थित बयलपाटा अस्पताल वरदान मान्निछ । न्याय हेल्थ नामक गैरसरकारी संस्थाबाट सामुदायिक रूपमा सञ्चालन गरिएको यो अस्पतालले सबै किसिमका स्वास्थ्य परीक्षण, उपचार र औषधी निःशुल्क रूपमा प्रदान गर्दै आएको छ ।
प्रदेश सरकार, स्थानीय तह र वैदेशिक सहायताबाट अस्पतालले नियमित सेवा दिइरहेको छ । अस्पतालले प्रदान गर्ने सेवामा अन्तरङ्ग र बहिरङ्ग, प्रयोगशाला, हड्डी, दाँत, मानसिक स्वास्थ्य र युएसजी रहेका छन् । अस्पतालले गर्भवती तथा सुत्केरी, स्वास्थ्य बिमा, एम्बुलेन्स सेवा र सामुदायिक स्वास्थ्य सेवासमेत प्रदान गरिरहेको अस्पतालका सूचना अधिकारी पूर्णबहादुर
खड्काले बताउनुभयो । बयलपाटा अस्पताललाई प्रदेश सरकारले हालसम्म २४ करोड अनुदान दिएको छ । सो अस्पतालबाट दुर्गम पहाडी जिल्ला अछाम, डोटी, बाजुरा, दैलेख, कालीकोट, मुगु, हुम्लालगायतका नागरिकले सेवा लिइरहेका छन् ।
सो अस्पताललाई दिगो रूपमा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशकै अस्पताल बनाएर लैजाने प्रक्रिया थालनी भएको छ । प्रदेश सरकार मातहतकै सदरमुकाम मङ्गलसेनस्थित जिल्ला अस्पतालसँगै बयलपाटा अस्पतालले सेवा दिन थालेपछि यस क्षेत्रका आर्थिक स्थिति कमजोर भएका बिरामीलाई उपचारमा सहजता भएको छ ।
झोलुङ्गे पुलले घटाएको दुरी
सुदूरपश्चिमै सबैभन्दा बढी उचाइमा मेल्लेख गाउँपालिकाको ऋषि दहमा झोलुङ्गे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका–१, ऋषि दहको लिफ्रुदेखि वडा नम्बर २ डाँडाश्री जोड्न झोलुङ्गे पुल निर्माण भएको हो । सहरी विकास मन्त्रालयको डेढ करोडको लागतमा बनेको पुलको लम्बाइ २७८ मिटर र उचाइ करिब १२५ मिटर रहेको छ । लिफ्रुखोलामा निर्माण भएको पुल यो प्रदेशकै अग्लो भएको पुल निर्माण पक्षका प्रमुख कर्ण विष्टको भनाइ छ ।
झोलुङ्गे पुल । तस्बिर : एकेन्द्र महता
लिफ्रुखोलामा झोलुङ्गे पुल निर्माण भएपछि लिफ्रु र डाँडाश्रीका स्थानीयको यात्रा अवधि छोटिएको छ । लिफ्रु र डाँडाश्री आवतजावत गर्न कम्तीमा पनि दुई घण्टा समय लाग्ने गरेकोमा अहिले २० मिनेटमा डाँडाश्रीबाट लिफ्रु पुग्ने गरेको स्थानीय बुद्धि धामीले बताउनुभयो । वडा नम्बर २ का वडाध्यक्ष कुशलराज बुढाले लिफ्रुखोलामा झोलुङ्गे पुल निर्माणले लिफ्रुदेखि डाँडाश्री एकआपसमा जोडिएको बताउनुभयो । डाँडाश्रीबाट गोपाले गाउँस्थित चण्डीका माविमा पढ्न जाने विद्यार्थीलाई समेत पुलले सजिलो भएको छ ।
सामाजिक विकास र सशक्तीकरण
सामाजिक विकास कार्यालयले शिक्षा र सामाजिक विकासको क्षेत्रमा विभिन्न रचनात्मक काम गरिरहेको छ । स्थापनाको पाँच वर्षको अवधिमा सो कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा विद्यालय भवन, सूचना, सञ्चार प्रविधि, सशक्तीकरण तथा सिप विकास, अनुदान अल्पकालीन सेवामा सहयोग, भाषा तथा संस्कृतिको क्षेत्रमा पनि काम गरिरहेको छ ।
सो कार्यालयले चालु आर्थिक वर्षका लागि १३ करोड २५ लाख रुपियाँ बजेट पाएको थियो । कार्यालयका प्रमुख डम्बरबहादुर रावलका अनुसार विद्यालयमा भवन, घेरापर्खाल, खेल मैदान, मन्दिर र मर्मतका ९६ योजना रहेका छन् । यस्तै दलित, महिला, अपाङ्गतालाई क्षमता तथा सिप विकास तालिम, लोक सेवा कक्षा, विशेष अनुदान तथा सहयोग ज्येष्ठ नागरिक दिवा सेवालगायतका कार्यक्रम सञ्चालनमा छन् ।
सिँचाइ तथा तटबन्ध
चालु आवका लागि प्रदेश सरकारले अछाममा ३१७ योजनामा बजेट विनियोजन गरेको छ । जसमध्ये २५ तटबन्धन र २९२ वटा सिँचाइका योजना रहेका छन् । ३१७ योजनाका लागि ४० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
त्योमध्ये हालसम्म १७ करोड रुपियाँ खर्च भएको सिँचाइ डिभिजन कार्यालय अछामका सूचना अधिकारी नरेश थापाले बताउनुभयो । खेतीयोग्य जमिन कटान र बस्ती असुरक्षित हुन थालेपछि तटबन्धका लागि बजेट आउन थालेका छन् ।