जुम्ला समाचारदाता
जुम्ला, जेठ २५ गते । यहाँको हिमा गाउँपालिकाले खानेपानीका मुहानको पहिचान र संरक्षणका विषयमा जलकचहरी आयोजना गरेर गहन छलफल थालेको छ । बढ्दै गरेको जनसङ्ख्या, जथाभाबी वनफँडानी, डढेलोका कारण पानीका स्रोत सुक्दै जान थालेपछि खानेपानीको दिगो समाधानका लागि जल सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा पालिकाभित्रका खानेपानीका मुहानको अवस्था, स्रोत संरक्षणमा भएका प्रयास, जलवायु परिवर्तनले खानेपानीका क्षेत्रमा पारेको असरका विषयमा छलफल भएको थियो । खानेपानीका क्षेत्रमा स्थानीयको लगाबका विषयमा समेत चर्चा भएको हो । खानेपानीको अधिकार, अवस्था, सम्भावना विषयमा बहसका लागि जलकचहरी आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकामा सञ्चालित खानेपानी योजनाको सञ्चालन र दिगोपनाका विषयमा जलकचहरी आयोजना गरिएको बताउनुभयो ।
गाउँपालिकाले बस्तीमा ‘एक घर, एक खानेपानी धारा’ को आयोजना अगाडि बढाइरहेको अवस्थामा खानेपानी सम्बन्धमा बैठक तथा अन्तर्क्रिया गरेर थप जिम्मेवार बनाउने लक्ष्य अनुसार कार्यक्रम गरेको जनाएको छ । जलकचहरीमा हिमा गाउँपालिकाको खानेपानी अवस्था र त्यसमा आआफ्नो क्षेत्रबाट दिगोपनाका लागि गर्ने काम र कर्तव्यलगायतका विषयमा जानकारी गराइएको छ ।
सो अवसरमा जलकचहरीमा मुहान र खानेपानीको संरक्षणका लागि १२ बुँदे प्रतिबद्धतासमेत गरिएको छ । खानेपानीको दिगो व्यवस्थापनका लागि कार्यविधि बनाउने, पालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाएर कार्यान्वयनमा लैजाने, सामुदायिक धारामा कोषको व्यवस्थापन गर्ने, हरेक वर्ष वार्षिक रूपमा खानेपानी आयोजनाको प्रतिवेदन वडा र पालिकामा पेस गर्ने प्रतिबद्धता गरिएको गाउँपालिकाले जनाएको छ ।
एक घर एक पोषण बगैँचा र घरबारीको व्यवस्थापन गर्ने, पानीको स्रोत सुक्दै जाने प्रक्रियालाई रोकथाम गर्न वृक्षरोपण गर्ने, बर्सातको समयमा र बर्सातपछिको पानी परीक्षण गराउने, विद्यालयमा खानेपानी तथा सरसफाइ स्वच्छता योजना निर्माण गरेर कार्यान्वयन गर्नेदेखि खानेपानी योजनाको खातापाता व्यवस्थित गर्ने र प्रत्येक वर्ष सार्वजनिक परीक्षण गर्ने जलकचहरीमा प्रतिबद्धता गरिएको गाउँपालिकाले जनाएको छ ।
हिमा गाउँपालिकाका वास संयोजक सुमिता शाहीले खानेपानी योजनाको दिगो व्यवस्थापन र सञ्चालनको मुख्य उद्देश्य राखेर जलकचहरी गरिएको जानकारी दिनुभयो । सम्मेलनमा ३१ वटा खानेपानी आयोजनाका पदाधिकारी, जनप्रतिनिधि, खानेपानीसँग सरोकार राख्ने निकायको सहभागिता थियो ।