• २२ वैशाख २०८१, शनिबार

परिवर्तनका लागि महिला उम्मेदवारको प्रतिबद्धता

blog

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेसी महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघको संयुक्त रुपमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी महिला उम्मेदवार । तस्बिर : कविता थापा

काठमाडौं, कात्तिक १७ गते। काठमाडौंका महिला उम्मेदवारले महिला, युवा सशक्त रुपमा अगाडि बढाउने, काठमाडौं हराभरा, ढलमुक्त, घर-घरमा पानी, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गरेर देश विकास गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ (क) का उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौंलाई हराभरा बनाउने योजना सुनाउनुभयो। 

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेसी महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघले संयुक्त रुपमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेतृ श्रेष्ठले वर्षौंदेखि राजनीतिमा सक्रिय रहेर देश र जनताको लागि काम गरेको जानकारी दिनुभयो। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले आफ्नो पाँच वर्षको कार्यकालमा काठमाडौंलाई हराभरा बनाउन, रानीपोखरीको शिखर शैलीमा पुननिर्माण र टुँडिखेललाई खुला बनाउने अभियानमा धेरै मिहिनेत गरेको सम्झना गर्नुभयो।  आगामी दिनमा पनि देश र जनताको हकहितको लागि नीति निर्माण गर्दै महिला, युवाका स्वास्थ्य, शिक्षा र बेरोजगारीका समस्यालाई हटाउने प्रबिद्धता जनाउनुभयो। 

मंसिर ४ गते हुने निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवारी दिने महिलाका प्रतिबद्धता लिने क्रममा महिला पनि विकास निर्माण कार्यमा अघि बढ्नसक्ने, पुरुषको तुलनामा महिलालाई सशक्त रुपमा आर्थिक क्रान्तिमासमेत अघि बढाउने, छोरीले पनि अंश लिन पाउनुपर्ने नीति नियम बनाउँदै युवा पुस्ताको जोस र जाँगरका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो। 

नेपाल सुशान पार्टीबाट उम्मेदवार दर्ता गर्नुभएका अन्जना शाहीलाई आफैं राजनीतिमा नआए देश नबन्ने देखेर राजनीतिमा लागेको बताउनुभयो। देशमा सुशासन, भ्रष्टाचारलाई जरैदेखि उखेल्ने, महिलाको अस्तित्व खोज्ने, महिलाको आवाज सबैले सुन्ने र सुनाउने प्रतिबद्धता उहाँले जनाउनुभयो। नेपाल आमाको संरक्षण र विकास गर्नका लागि अगाडि बढेको उहाँको भनाइ छ।  

महिला गैरसरकारी संस्था महासंघ अध्यक्ष शशी लामाले यस समयमा राम्रोसँग अभियान चलाउन सके महिलाको जित निश्चित रहेको बताउनुभयो। विभिन्न दलमा महिलाको स्थान न्यून रहेको बताउँदै उहाँले यस अवस्थामा युवाले राजनीतिमा चासो देखाउँदै स्वतन्त्रको आगमनले राम्रो संकेत गरेको जानकारी दिनुभयो।

कार्यक्रममा ललितपुर नगरपालिका क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले राजनीति एक फोहोरी खेल रहेको बताउँदै ‘स्वस्थ नेपाली र सुखी नेपाली’ मूल नारासँगै स्वस्थ राजनीति गर्ने प्रतिबद्धता जनाउनुभयो। सामाजिक, राजनीतिक, भौतिक, नैतिक, मानसिक हिसाबले स्वस्थ र समग्रमा एक स्वस्थ नागरिकले देशलाई दिनसक्नेसम्म योगदान दिने बताउनुभयो।

डा. कार्कीले महिला सशक्तिकरणको आवाज उठाउने, महिलाको हकमा सरकारले कम्तिमा स्नातक तहसम्म निःशुल्क शिक्षा दिन पहल गराउने, महिलामा देखिने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्ने आफ्नो एजेन्डा प्रस्तुत गर्नुभयो। डा. कार्कीले कार्यकारी प्रमुख महिला भएको संस्थामा आवेदन खुला गर्दा दोस्रो दर्जामा मात्रै खुलाएको पाइने बताउनुभयो। 

प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार सोबिता गौतमले वैदेशिक रोजगारमा गएका युवाको सदुपयोग गर्न पहल गर्ने, महिला, युवा पुस्तालाई अघि बढाउने र महिलामा मात्रै केन्दि«त नभएर हरेक युवालाई देशमै रोजगार दिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। 

आमाबुबाका पुस्ताले गर्दा छोराछोरकिो पुस्तालाई सहज भएको गौतमको भनाइ छ। आफू सदनमा पुग्नसक्ने सक्षम उम्मेदवार भएको बताउँदै युवा पुस्ताले परिवर्तन ल्याउने र नेपाललाई समृद्ध बनाउन खाका कोर्नका लागि आफ्नो योगदान रहने बताउनुभयो। सदनमा महिलाको अर्थपूर्ण सहभागिता खोजिरहेको कारणले एक सक्षम उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाइ छ। 

ललितपुर क्षेत्र नम्बर ३ (क) स्वतन्त्र पार्टीका उम्मेदवार सबिता महर्जनले एकल महिलाको हक र अधिकार सुनिश्चित गर्न पहल गर्ने बताउनुभयो। आफैं एकल महिला भएको कारण समाजमा एकल महिलाले भोग्नुपरेका दुःख र दुर्व्यवहार सेवा र सुविधा दिन पहल गर्ने, महिलालाई हरेक क्षेत्रमा सहभागी गराएर अघि बढाउने प्रतिबद्धता महर्जनले जनाउनुभयो। यस्तै, लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधि सभाका उम्मेदवार कल्पना धमलाले महिला समानताको हक, महिलालाई ३३ प्रतिशत सुनिश्ति गर्ने संविधानमा लेखिएको तर महिलालको लागि भने अवस्थामा परिवर्तन नआएको बताउनुभयो। संविधानको मौलिक हकलाई कानुन बनाएर लागु गर्ने प्रतिबद्धता जनाउने उहाँको भनाइ छ। 

काठमाडौंको क्षेत्र ९ मा रहेका मल्लकालीन, लिच्छवीकालीन सभ्यता र ऐतिहासिक सहरको रुपमा विकास गर्ने, काठमाडौंको कलंकीदेखि नागढुंगासम्मको नाका त्यही पर्ने भएकाले त्यस क्षेत्रलाई आवश्यकता आधारमा विकास गर्ने, सुरुङ मार्गको मुखमा एक ट्रमा सेवासहितको सुविधा सम्पन अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। 

यसबाहेक महिलाको क्षेत्रमा अर्थपूर्ण प्रतिनिधित्व, नीति निर्माणको तहमा नेतृत्व महत्वपूर्ण मुद्दा सँगै आजका युवाहरुको आवश्यक चाहनालाई सम्बोधन गर्ने नीति निर्माणमा लाग्ने, नेपाली राजनीतिमा युवाहरुको भविष्य सुनिश्चित गर्ने जिम्मा लिने र राजनीतिलाई सेवा क्षेत्र बनाएर मागनिर्देश गर्नेसमेत उहाँको प्रतिबद्धता रहेको छ। संकल्प तथा गैर सरकारी महासंघको संयुक्त आयोजनामा महिला जिताऔं अभियानअन्र्तगत संघ र प्रदेशका प्रत्यक्ष निर्वाचनका लागि प्रतिस्पर्धी रहेका महिला उम्मेदवारसँग चुनावी बहस कार्यक्रम विभिन्न पार्टीका महिला उम्मेदवारले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको हो।