रातको निक्र्याैलअनुसार नै मैले उनीहरूलाई भनेको थिएँ–
“म अब जोनलाई हेर्न छोड्छु ।”
“किन ?”
“यसै ।”
“यसै भन्ने पनि हुन्छ ? केही त कारण होला, आवर्ली कम भयो वा यस्तै ।”
जुन कारणले मैले उनीहरूको काम छोड्ने खोजेको हुँ त्यो सत्य भन्न मेरो ठाउँमा अर्को भएको भए पनि गाह्रो मान्थ्यो होला । यसो पनि हैन, अझ आँटै गर्ने थिएन भन्नुपर्छ । किनभने उसले त्यो भनिदिँदा उनीहरू अपमानित हुन्थे । उसले उनीहरूबारे के महसुस गर्दो रहेछ भन्ने कुरा उनीहरू थाहा पाउँथे । ऊप्रतिको उनीहरूभित्र बनिरहेको राम्रो धारणमा हुरी चल्ने थियो । त्यसकारण मैले आफ्नो भित्री कुरा उनीहरूलाई भन्ने त कुरै भएन । महिनौँदेखि म उनीहरूको प्रिय पात्र भइरहेको थिएँ । उनीहरूभित्रको त्यो प्रिय मलाई म आफैँले वध गर्न किन चाहन्थेँ र । त्यसकारण अर्थोकै कुनै झुटको भर लिने सोचमा भनेको थिएँ,
“त्यस्तो केही होइन ।”
“अनि के हो त ?”
हरेक कुराको लम्बे व्याख्या माग्ने चरित्रका थिए उनीहरू । केही भन्यो कि यसोउसो भनेर उनीहरूलाई त्यसको बेलिविस्तार व्याख्या सुनाउनु पथ्र्याे । तर भन्ने कारण सोचेर बस्ने मेरो स्थिति पनि थिएन । वार्ताको सिलसिलामा जोडिन केही न केही भनिहाल्नु पथ्र्याे नै । त्यसकारण मेरो मुखबाट फ्याट्ट निस्क्यो, “फुर्सदमा बसेर अर्को जब खोज्न ।”
मलाई त्यस क्षण यै सुझेको थियो । त्यसकारण यो जे सुझ्यो त्यै भन्दिएको हुँ ।
वास्तवमा यो जब छोडेपछि मैले अर्को जब खोज्नु त पर्छ नै । त्यसै बसेर बाँच्न सक्ने मेरो अर्को कुनै आर्थिक आधार, भर केही छैन । त्यसकारण मैले भनेको तिनले पत्याउन, ढाँटेको बिल्कुल नलागोस् भन्ने ध्ययमा म थिएँ नै । मलाई सुझ्यो पनि त्यस्तै सत्य लाग्ने कुरो । यसको प्रभावमा उनीहरूले भनी पनि हालेँ,
“त्यो त ठीक छ, केही छैन तर तिमीलाई आवर्ली रेट बढाउन पर्ने भए बढाइदिन्छौँ, अर्को जब खोज्ने झन्झट किन गर्छौ ?”
उनीहरूको यो प्रस्ताव लोभलाग्दो थियो । तर बदलिन थालेको आफ्नो स्वभाव र शरीरमा आउन थालेको अस्वाभाविक अनर्थको तरङ्गले म आत्तिन थालेको थिएँ । म यो स्वभावबाट तत्काल मुक्त हुन चाहन्थे । म उनीहरूझैँ हुन् के बेर ? यो आशङ्काले मलाई भित्रभित्र गलाउन सताउन थालेको थियो । त्यसकारण म यो काम छोडिहाल्ने आफ्नो निर्णयको माथिल्लो तहमा पुगिसकेको थिएँ । अरू काममा यिनीहरूले दिने रेटभन्दा जत्तिसुकै कम रेटमा काम गर्न परे पनि यो काम चाहिँ छोड्छु, छोड्छु भन्ने निर्णयमा पुगिसकेको मलाई रेट बढाइदिने प्रलोभन प्रेरित उनीहरूको प्रस्तावले डगमगाउन सकेन । मैले भनिनै हालेँ,
“नो, सरी, आई वान्ट समथिङ्स चेन्ज ।”
“चेन्ज ? ह्वाट चेन्ज ?”
“नेचर अफ जब ।”
“सो ह्वेर यु वान्ट टु गो ?”
“एकाउन्टिङको वा त्यस्तै किसिमको अर्को कुनै जबमा ।”
“कहाँ ?”
“कतै ।”
“ओके, कहिले छोड्ने सोचमा छौ ? दुई हप्ता त हामीलाई पनि अर्को कुनै व्यक्ति खोज्न समय लाग्छ । अझ त्योभन्दा बढी पनि लाग्न सक्छ ।”
“हुन्छ, म एक महिना कुर्न सक्छु ।”
“ओके, साउन्ड्स गुड ।”
यो टुङ्गोमा आएपछि म हल्का भएँ । मैले उनीहरूलाई थप केही भनिरहनुपर्ने वा स्पष्ट पारिरहनुपर्ने केही रहेन । उनीहरू जोनका लागि अर्को बेबिसिटर खोज्न थाल्ने भए ।
म आफ्ना लागि अर्को काम खोज्न लाग्ने छु ।
मैले जोनलाई हेर्न सुरु गर्दा ऊ भर्खर चार महिनाको थियो । अब त ऊ आफैँ उभ्भिने, हिँड्ने भएको छ । केही शब्दहरू बोल्न थालेको छ । थामी नसक्नु चकचक गर्छ ।
जोनको बेबिसिटिङको यो काम मेरा लागि निकै चुनौतीको थियो । वास्तवमा पहिले नगरेको र गरिएला भन्ने नसोचेको काम । इन्टरभ्युको दिन डेभिडले मसँग सोधेको खास प्रश्न नै यै थियो,
“डु यु ह्याब एनी एक्स्पिरेन्स ?”
मसँग नभएको एक्स्पिरेन्स मैले भन्ने कुरै थिएन । त्यसकारण सहज मुद्रा र स्वरमा मैले उसलाई भनेको थिएँ,
“नो सर ।”
वास्तवमा उनीहरूको विज्ञापनमा पनि कतै एक्स्पिरेन्स्ड हुनुपर्ने सङ्केतसम्म थिएन । त्यसकारण म यो जबका लागि एप्रोच गर्न हौसिएको थिएँ । यो विज्ञापन साप्ताहिक मेट्रो जब हन्टको एघारौँ पृष्ठमा प्रकाशित भएको थियो । त्यसको हेडिङ थियो–
“मेल बेबिसिटर वान्टेड ।”
त्यस विज्ञापनको आश्चर्य यै थियो । अझ त्यसमा लेखिएको थियो, “महिला बेबेसिटरले सम्पर्क गर्ने कष्ट नगर्नुहोला, हामी पुरुष बेबिसिटर चाहन्छौँ ।”’ एक किसिमले महिलालाई निषेधझैँ गरिएको विज्ञापन थियो । यो पढ्दै म छक परेको थिएँ । खासमा त्यसको हेडिङले नै मलाई स्वाट्ट तानेको थियो । मैले उनीहरूको त्यो विज्ञापनको अद्योपान्त बेहोरा दोहो¥याई, तेहे¥याई पढेको थिएँ । त्यसमा इच्छुक व्यक्तिले फोनमा वा इमेल गरेर सम्पर्क गर्न सकिने लेखिएको थियो । मैले त्यै गरेको थिएँ । तर इमेल हैन मैले फोन गरेको थिएँ ।
त्यस विज्ञापनमा सम्पर्कका लागि भनेर दुईवटा फोन नम्बर दिइएको थियो । मैले त्यसमा छापिएको सुरुको नम्बर पन्च गरेको थिएँ । पन्च गरेपछि त्यसमा पाँच सात रिङ टोन गइरह्यो, गैरह्यो तर फोन उठेन । सातौँ रिङटोनपछि पुरुष स्वरको रिकर्डेड भ्वाइस मेसेज सुनियो । त्यसले भन्दै थियो, “अहिले मसँग तपाईंको सम्पर्क हुन् सकेन, तपाईं आफ्नो नाम, फोन नम्बर र तपाईंको भन्नु केही भए त्यसबारे सानो मेसेज छोड्नु होला । म तपाईंलाई कलब्याक गर्ने छु, धन्यवाद ।” यहाँसम्म पूरा सुनेपछि मैले त्यै गरेको थिएँ । उसको मेसेज बक्समा फोन गर्नुको कारण र आफ्नो फोन नम्बर भनेर छोडेको थिएँ । केही घण्टापछि मलाई उसको कलब्याक आएको थियो ।
“हेलो ?”
“तपाईं मिस्टर साम हो ?”
“हो, म बोल्दै छु ।”
“म डेभिड ।”
“ए !”
“मैले तपाईंको मेजेज सुनेँ ।”
“ओ ! यस, हाउ यु डुइङ सर ?”
“गुड, गुड, थ्याङ्क यु ।”
“यु वेलकम सर ।”
“त्यसो भए तपाईं इन्ट्रेस्टेड हुनुहुन्छ ?”
“यस ।”
“पहिले हामी भेटेर कुरा गरौँ कसो ?”
“हुन्छ ।”
“आज साँझ तपाईंलाई फुर्सद छ ?”
“छ सर ।”
“भेरी गुड, छ बजेको समय कसो हुन्छ ?”
“हुन्छ सर ।”
“हामी क्याम्ब्रिज सिटीको वान ओ नाइन कनाल स्ट्रिटको नम्बर चार सय आठको अपार्टमेन्टमा बस्छौँ, तपाईं त्यहीँ आउनुस् ।”
“हस ।”
साँझको रमणीय समयमा म उसको अपार्टमेन्टमा पुगेको थिएँ ।
अक्टोबर महिनाको सुरुका दिनको साँझ थियो । यो यताको मौसम फेरिएको महिना पनि हो । सडकमा चिसो, चिसो, शीतल, शीतल महसुस हुने हल्का हावा चलिरहेको थियो । रुखका अधिकांश पातहरूले रङ फेर्न थालिसकेका थिए । ती रङ्गीन हुने क्रममा राता, पहेँला, सिम्रिके हुँदै थिए । रङ्गिएका ती पातहरू चेप्टा पाते फूलहरूझैँ देखिन्थे । खुलेको आकाशको साँझ रक्तिम हुँदै थियो । वातावरण अत्यन्त सुन्दर, प्रिय र मोहक बनिरहेको थियो ।
बाइस तले अपार्टमेन्ट विल्डिङको अठारौँ तलामा छ चार सय आठ नम्बरको उसको अपार्टमेन्ट । उसको बैठक अर्थात् लिभिङ रुमबाट चाल्र्स रिभरको जलप्रवाह शान्त, सौम्य देखिन्छ । बैठकको झ्यालसँगै जोडिएको एउटा सानो पोर्च छ । यो पोर्च पनि चाल्र्स रिभरपट्टि छ । झ्यालबाट भन्दा यो पोर्चबाट चाल्र्स रिभरको प्यानोरामिक दृश्य देखिन्छ । यहाँबाट चाल्र्समा साना याचहरू, डुङ्गाहरू, मोटर बोटहरूमा रमाउनेहरूको गतिविधि राम्रैसँग हेर्न सकिन्छ । पोर्चमा आउनासाथ चाल्र्सको जल प्रवाह र त्यस पारि बोस्टन सहरका सम्पूर्ण हाइराइजहरूको मोहक चमक देखिन्छ । कठोर जाडोका दिनहरूबाहेक विशेष गरी गर्मी र शरदका साँझहरू उनीहरू यो पोर्चमा बसेर बिताउँछन् । दिउँसो जोन न्याप लिइरहेको बेलाको एकाध घन्टा म पनि यै पोर्चमा बस्नेगर्छु । एक दिन यस्तै मौकामा फ्रिजबाट उनीहरूले राखेको बियरको एक क्यान निकालेको थिएँ । र, यै बसेर त्यसको सुर्कोको आनन्द लिएको थिएँ । पोर्चबाट देखिने चाल्र्स रिभर, त्यसमाथि बनेको बोस्टन र क्याम्ब्रिज सहर जोड्ने लामो पुलकको प्यानोरामिक नजारा हेर्दै बियर पिउनुको निकै मजा लिइरहेको थिएँ म त्यस क्षण । तर यो मैले गर्नुहुने काम चाहिँ थिएन । तथापि आफ्नो मनको लोभ थाम्नै नसकेर मैले त्यसो गरेको थिएँ । वास्तवमा हाइराइज अपार्टमेन्टको पोर्चमा बसेर सुदूरतिर हेर्दै बियर तन्काउनुको आनन्द कस्तो हुँदो रहेछ भन्ने अनुभव गर्न चाहन्थेँ म । धेरै दिनदेखि मेरो मथिङ्गलमा यै चाहको भूत चढेको थियो । त्यस दिन मैले आफ्नो शिर चढेको यै भूत झारेको थिएँ ।
अन्तरवार्ताको क्रममा त्यस दिनको साँझ उसले मलाई म बियर पिउँछु कि पिउन्न भन्ने पनि सोधेको थियो । मैले उसलाई ढाँटेको थिइन् । सहजताकासाथ भनेको थिएँ, “कहिलेकाहीँ सोसियल्ली ।”
उसले पनि सहज रूपमै रियाक्ट गरेको थियो, “नो प्रोब्लेम ।”
“अनि चुरोट ?”
“नो ।”
“भेरी गुड ।”
त्यस साँझ उसले अन्तरवार्ताको शैलीमा उद्देश्यतः मेरो मनहरू खोतलेको थियो । मेरा स्वभावहरू बुझ्न खोजेको थियो । त्योभन्दा अगाडि उसले अपार्टमेन्टको ढोका खोल्नासाथ ढोका बाहिर प्यासेजमा प्रतीक्षामा उभ्भिरहेको मलाई देखेर” म डेभिड, कम इन” भन्दै मसँग हात मिलाएको थियो । भित्र छिराएर उसले मलाई हार्दिकताकासाथ सोफामा बसाएको थियो । उसको प्रस्तुति रसिलो र सौहार्दपूर्ण थियो ।
उसले मलाई सोधेको पहिलो प्रश्न थियो,
“तपाईं विवाहित हो ?”
“हैन ।”
“कुनै गर्ल फ्रेन्ड ?”
“छैन ।”
“कत्ति वर्षको हुनुभयो ?”
“तीस वर्षको भएँ ।”
“यसको मतलब तपाईं अहिलेसम्म सिङ्गल नै हुनुहुन्छ ?”
“हजुर ।”
“साना बच्चाहरू कसरी स्याहारिन्छन् भन्ने तपाईंसँग कुनै अनुभव छैन ।”
“छैन सर, तर म सक्छु ।”
“त्यो हामी सिकाउँला ।”
“हस सर ।”
डेभिडसँग यसरी कुरा भइरहँदा जोन लिभिङ रुमको दाहिने कुनामा राखिएको झुलौनामा सुतिरहेको थियो । बेला बेला मेरा आँखा त्यता जान्थे । त्यसकारण डेभिडले मलाई भनेको थियो,
“उसलाई मैले भर्खर सुताएको हुँ ।”
“ए ।”
त्यस साँझ डेभिडले मलाई एक घण्टा अल्झाएको थियो । ऊ मेरो हृदयको भित्रभित्र पस्ने कोसिस गरिरहेको थियो । मैले उसले सोधेका सबै कुराहरू फ्रेस र सहज मुद्रामा दिएको थिएँ । उसले सोधेको थियो, “गे कमुनिटीप्रति तपाईंको के धारणा छ ?”
मैले भनेको थिएँ, “मेरो कुनै पूर्वाग्रह छैन, म उनीहरूप्रति सम्मानभाव राख्छु ।”
“तपाईं आफू त यो कम्युनिटीको हैन नि ?”
“सरी, म हैन ।”
“नो प्रोब्लेम, यो जरुरी पनि छैन ।”
“सेक्सका लागि स्त्री पुरुष नै हुन जरुरी छ ?”
मैले सजिलो जवाफ दिएको थिएँ,
“छैन ।”
तर उसले चित्त बुझाएन । त्यस्तै छोटो प्रश्न सोध्यो, “किन ?”
“किनभने यो व्यक्तिको बायोलजिकल मामिला हो, प्राकृतिक इन्सटिङ्टको कुरा हो, व्यक्तिको नेचरल ड्राइभ हो ।”
“कुनै गे कपललाई देख्नासाथ तपाईंको मनमा कस्तो प्रतिक्रिया उठ्छ ?”
“जस्तो कुनै स्त्री, पुरुष जोडीलाई देख्दा हुन्छ ।”
“कुनै किसिमको असहज त महसुस गर्नु हुन्न नि ?”
“नो ।”
“अनि सिङ्ल गे वा लिस्बेनियनलाई वा ट्रान्सजेन्डरलाई देख्दा नि ?”
“त्यस्तै हो ।”
“भन्नाले ?”
“सामान्य रूपमा लिन्छु ।”
“तिनलाई देखेर तपाईंको मनमा घृणा जाग्छ कि ?”
“नो ।”
“मैले तपाईंसँग केही प्रसिद्ध अमेरिकन एलजीबीटीक्यू कम्युनिटीका व्यक्तिहरूको नाम लिनुस् भने भनेँ ककसको नाम लिनु हुन्छ ?”
“राजनीतिज्ञ पिट बुटिजियज, नाटककार टोनी कुस्नर, टीभी टक होस्ट एलन दी जेनरस, रोबिन रोबर्ट्स, कमेडियन निल प्याट्रिक्स हेरिस, गायक याडाम ल्यामबर्ट ।”
म अरू केही एलजीबीटीक्यू सेलिब्रेटीहरूको नाम लिन्थेँ हुँला । किनभने ती मेरो सम्झनामा आइरहेका थिए । तर उसले मलाई रोक्दै भनेको थियो, “गुड इनफ, थ्याङ्क्यु ।”
“यु वेलकम सर ।”
त्यसपछि उसले केही साधारण कुरा जस्तो आवश्यक पर्दा म स्याटरडे, सन्डे उपलब्ध हुन् सक्छु कि सक्दिनँ, कुनै दिन अपर्झट पर्दा म लेट आवरसम्म बस्न सक्छु कि सक्दिनँ, मैले फ्लुको भ्याक्सिन लिएको छ कि छैन भन्ने यस्तै यस्तै कुरा सोधेको थियो । यी सबका मेरा जवाफ उसको अपेक्षाअनुसारका नै थिए । अन्त्यमा सोध्नु केही बाँकी नभएपछि उसले भनेको थियो, “एभेरी थिङ्स लुक्स गुड, खुसी लाग्यो, तपाईं आउनुभयो, तपाईंसँग राम्रो कुरा भयो ।”
“थ्याङ्क यु, म के आशा गरौँ त ?”
“म आफ्नो वाइफलाई तपाईंको बारेमा भन्छु अनि हामी निर्णय गर्छौं, लेट यु नो, ओके ?”
म त्यहाँ हुन्जेल उसले वाइफ भनेको मान्छे घरमा फर्किएको थिएन । उसले सुरुमै मलाई भनेको थियो,
“मेरो वाइफ हार्भी कामबाट फर्किने बेला हुँदै छ ।”
दोस्रो दिनको साँझ मलाई हार्भीकै फोन आएको थियो ।
“हेलो ?”
“हेलो आर यु साम ।”
“यस ।”
“म डेभिडको स्वास्नी हार्भी ।”
“ओ ! हाउ यु डुइङ ?”
“गुड गुड, एन्ड यु ?”
“फाइन ।”
“कहिलेबाट हाम्रो बच्चा हेर्न सक्नुहुन्छ तपाईं ? हामीलाई अर्को हप्तादेखि आवश्यक पर्छ, आउन सक्नु हुन्छ ?”
जवाफका लागि मैले केही कुरा सोच्नुपर्ने थिएन । म उनीहरूको फोनमा यै कुरा सुन्ने प्रतीक्षामा थिएँ । भनिहालेँ,
“सक्छु ।”
“ओके, भेरी गुड, हामीलाई अब आउने मङ्गलबारबाट तपाईंको आवश्यकता पर्छ, डेभिडलाई त्यस दिनबाट जबमा जानुपर्छ ।”
“हुन्छ ।”
“तर तपाईं सोमबारबाटै आउनुस् ।”
“ओके ।”
“सोमबार डेभिड घरमै हुन्छ, उसले तपाईंलाई भन्नुपर्ने, सिकाउनुपर्ने कुरा सब सिकाउने छ, मङ्गलबारबाट तपाईंले एक्लै बच्चा हेर्नुपर्छ, सक्नुहुन्छ नि ?”
थाङ्नामा सुतिरहने बच्चालाई हेर्न के नै गाह्रो होला र ? मैले यस्तै सोचेको थिएँ । त्यसकारण त्यस्तै सोचले सहज भएर मैले उसलाई भनेको थिएँ,
“सक्छु, ढुक्क हुनुस् ।”
सोमबारको त्यस दिन म पुगेपछि डेभिडले मलाई प्रमुख रूपमा बच्चाका लागि गर्नुपर्ने यी बेसिक कुरा सिकाएको थियो–
डाइपर फेर्न ।
दिसा वाइप गर्न ।
क्रिम दल्न ।
फर्मुलाको दूध बनाउन ।
दूधदानी, निप्पलहरू स्यान्टाइज गर्न ।
बच्चालाई दूधदानीबाट दूध खुवाउँदा काखमा राख्न र समाउन ।
बच्चालाई ख्वाएपछि आफ्नो छातीमा टाँसेर डकार (बर्प) गराउन ।
सुताउँदा कपडा बेर्न अर्थात् स्वाडल गर्न ।
बच्चालाई स्टोलरमा राख्न, त्यसको बकल बाँध्न, एलिभेटरबाट स्टोलर तल ग्राउन्डमा ओराल्न र सुरक्षित बाहिर घुमाउन ।
यी सब मैले जान्नुपर्ने कुराहरू थिए ।
त्यस दिनभरमा ऊ ती कुराहरूमा मलाई एकदम ट्रेन बनाउने कोसिसमा थियो । विशेषतः मेरो जिम्मामा आफ्नो बच्चा ढुक्कले छोड्न सकियोस भन्ने हिसाबमा थियो ऊ । त्यसकारण ऊ मलाई एक एक कुरा सिकाइरहेको थियो । सावधान हुनुपर्ने कुरा भनिरहेको, बुझाइ रहेको थियो । र, म उसलाई ध्यानले सुनिरहेको थिएँ, उसले सिकाएका कुरा जानिरहेको थिएँ ।
त्यसको अर्को बिहानदेखि जोनलाई रुँग्ने मेरो ड्युटी सुरु भएको थियो ।
अहिले जोन तीन वर्षको भइसकेको छ । ऊ दुई महिनाको हुँदा उनीहरूले उसलाई एडप्ट गरेर ल्याएका रहेछन् । डेभिडले मलाई त्यसै दिन भनेको थियो,
“जोनलाई हामीले एडप्ट गरेका हौँ ।”
यसदेखि बाहेक जोनबारे उनीहरूले मलाई अरू केही भन्न चाहेनन् ।
म काम गर्न थाल्दा यी समलिङ्गी जोडीको सँगै बसाई सात वर्षको भइसकेको थियो । उनीहरूले आफ्नोबारे भनेका थिए,
“हामी लोग्ने स्वास्नीको रूपमा जोडिएको सात वर्ष भयो ।”
“नाइस, गुड टु नो ।”
“थ्याङ्क यु ।”
वास्तवमा उनीहरू कानुनी रूपले नै विवाहित जोडी हुन् । वैध विवाहित जोडी हुन नै उनीहरू पाँच वर्षअगाडि टेक्ससबाट यो राज्य म्यासाचुसेटमा आएका थिए ।
अन्तरवार्ताको बेला डेभिडलाई मैले जेजस्तो भनेको भए पनि दाह्री खौरने उनीहरू दुई पुरुष मानवलाई लोग्ने स्वास्नीको रूपमा देख्नु पर्दा सुरु सुरुका दिन मलाई निकै अप्ठेरो लाग्थ्यो । मेरा आँखा असहज हुन् पुग्थे । तर उनीहरूको अगाडि आफ्नो अनुहारको भाव सम्प्रेषणमा त्यस्तो केही प्रकट नहोस् भन्नेमा म सचेत हुन्थे । समय बित्दै गएपछि मेरो मन र आँखा सहज हुन थाले । सुरु सुरुमा उनीहरूलाई देख्नासाथ मेरो मनजस्तो हुन्थ्यो यस्तो हुन् छोड्यो । म सहज हुन थालेँ । लोग्ने स्वास्नीको रूपमा उनीहरू मेरा लागि सहज देखिन थाले । म दुवैलाई उनीहरूको नाम काढेर सम्बोधन गर्थें । तर कहिलेकाहीँ झुक्किएर म हार्भीलाई ‘म्याडम’ भन्थे । यो सुनेपछि हार्भी मख्ख पथ्र्याे । वास्तवमा हार्भी आफूलाई म्याडम नै भनाउन चाहन्थ्यो । तर झुक्किँदाको बेलाबाहेक अरू बेला म उसलाई हार्भी नै भन्थेँ । उसलाई म्याडम भन्न मेरो अन्तर नै जाग्दैनथ्यो । एक बिहान उसले मलाई भनेकोे पनि थियो, “इफ यु लाइक टु से मी म्याडम, यु क्यान से, नो प्रोब्लेम ।”
तर स्तनको उबार नभएको पूर्णतः फ्ल्याट छाती भएको, पाल्दा गालामा यत्रतत्र दाह्री हुने अनुहारको, शृङ्गार नगरेको बेला पूरै पुरुष देखिने उसलाई म्याडम भन्न मलाई अप्ठ्यारो नै लागिरह्यो । मेरो मुखबाट म्याडम सुन्न हार्भी लालायित भइरहन्छ । तर म उसलाई म्याडम भनिहाल्न सक्दिनँ ।
हार्भी दैनिक दाह्री खौरन्थ्यो । मेकअपका प्रशाधनहरू दलेर आफ्ना सेभिङ स्पटहरू छोप्थ्यो । यसका लागि ऊ बाथरुममा बढी समय बिताउँथ्यो । म जोनको बेबी सिटिङका लागि ८ बजे पुग्थेँ । यस बेला प्रायः डेभिड काममा निस्किसकेको हुन्थ्यो । अक्सर म उसलाई भेट्दिनथेँ । आफ्नो काम गर्ने कम्पनीमा पुग्न उसलाई चालीस मिनेट ड्राइभ गर्नुपर्छ । त्यसका लागि ऊ आठ बजेभित्र तयार भएर अपार्टमेन्टको अन्डरग्राउन्ड गराजमा आफ्नो कार निकाल्न झरिसक्छ । बिहान धेरैजसो डेभिडसँग मेरो भेट नहुने कारण यै हो । नियमित रूपमा बिहान मेरो भेट हार्भीसँग मात्र हुन्थ्यो । म पुग्दा ऊ जोनलाई ख्वाउने, प्याउने धन्दामा हुन्थ्यो । म पुगेपछि जोन मेरो जिम्मामा छोडेर ऊ बाथरुमभित्र पस्थ्यो । जोनका लागि गर्नुपर्ने बाँकी काम म पूरा गर्न थाल्थेँ ।
हार्भी बाथरुमबाट निस्केपछि कुनै स्त्रीझैँ मस्किँदै ऊ मलाई सोध्ने गर्छ, “हाउ आई लुक्स ?”
पाउडर पोतेको उसको क्लिन सेभ्ड नसुहाउँदो अनुहार हेर्दै म भन्थेँ, “प्रेटी ।”
कुनै बिहान भन्थेँ, “गोर्जियस् ।”
कुनै बिहान, “भेरी ब्युटिफुल ।”
मेरो यो बाध्यात्मक झुटोले ऊ प्रफुल्ल हुन्थ्यो, र भन्थ्यो, “थ्याङ्क यु ।”
त्यसपछि ऊ लुगा फेर्न आफ्नो वाकिङ क्लजेटभित्र पस्छ । ऊ हडबडाइरहेको हुन्छ । लुगाफेरेर निस्केपछि कारको साँचो टिपेर हतारहतारमै ऊ मलाई भन्छ, “ओके साम, जोन अब तिम्रो जिम्मामा, आई एम भेरी लेट, बाई ।”
“ह्याव अ नाइस डे ।”
ऊ मलाई थ्याङ्क यु पनि भन्न भ्याउँदैन । ढोका खोलेर एलिभेटरतिर कुदिसक्थ्यो ।
साँझ डेभिड वा हार्भीमध्ये कुनै एक आएपछि म निस्कन्थेँ । तर धेरैजसो डिभिड नै पहिले घर आइपुग्थ्यो ।
यो रुटिनमा म जोनको बेबी सिटर भएको बत्तीस महिना भइसकेको छ ।
समयको यस्तो लामो अवधिदेखि दुई गे जोडी डेभिड र हार्भीको दैनिकजसो आपसी मायाप्रीतिका व्यवहार हेर्दा हेर्दा म डेभिडजस्तै हार्भीसँग आकर्षित हुन थालेको छु । उसलाई देखेपछि मलाई उसको ओठ चुमौँ चुमौँ हुन्छ । डेभिडलाई देख्दा पनि मलाई त्यस्तै हुन्छ । समलिङ्गीहरूप्रति म पूरै आकर्षित हुन् थालेको छु । तर यसको विपरीत कुनै केटी देख्दा अब मलाई त्यस्तो हुँदैन । तपाईंहरूलाई फ्य्राङ्क्ली भन्छु, तिनलाई देख्दा मभित्र हुने तरङ्ग अब हुन छोडेको छ । एक प्रकारले विपरीत लिङ्गीप्रति आकर्षित हुने मभित्रको पहिलेको इनस्टिन्ट मरिसकेको छ ।
म आफूमा पलाएको यै मनोग्रन्थीले चिन्तित छु । मेरो चिन्ता यत्ति मात्र हैन । म आक्रामक पनि हुन थालेको छु ।
डेढ महिनाअगाडिको कुरा हो । कुरा पनि हैन, यो घटना नै हो । भर्खर रात परेको बेला थियो । विभोर अमात्य अपार्मेन्टमै थियो । त्यो उसको डे अफको दिन थियो । म ऊसँगै दुई कोठाको अपार्मेन्ट सेयर गरेर बसेको छु । त्यस बेला ऊ किचेन सिन्कमा उभिएर भाँडा सफा गरिरहेको थियो । कामको एकोहोरो धुनमा उसले म भित्र पसेको चाल पाएको थिएन । मैले जुत्ता फुकालेँ । भाँडा माझ्न त्यसरी ध्यानस्त भएको उसलाई देख्नासाथ म उत्तेजित भएछु । म सीधै ऊतिर लस्केर पछिल्तिरबाट उसलाई आफ्नो अँगालोमा कस्न पुगेँ । त्यत्ति मात्र हैन, त्यही पोजमा उसको गाला पनि आफ्ना दाँतका डाम लाग्नेगरी टोकिदिएँ । एकसुरमा लागेको ऊ झस्क्यो, आत्तियो । भाँडा पखाल्दापखाल्दैका आफ्ना चिसा हात उसले आफ्ना गाला सुम्सुम्याउन लग्यो ।
“के ग¥या दाइ यस्तो ?”
“तर्साएको ।”
“यस्तो पनि तर्साउने तरिका हो ।”
“हो नि ।”
“अनि गालामा ?”
सचेत हुँदै मैले भनेँ,
“सरी ।”
मन थाम्नै नसकेको आफ्नो त्यस्तो गल्तीले म आफैँ लज्जित भएको थिएँ । बिलकुल चुपचाप म आफ्नो कोठामा गएको थिएँ । तर त्यसको दस दिनपछि फेरि ऊसँग त्योभन्दा चर्को व्यवहार गर्न पुगेको थिएँ । रातको १० बजेको बेला थियो । ऊ आफ्नो ओछ्यानमा पल्टिसकेको थियो । आकर्षणको त्यस्तै थामी नसक्नुको प्रभावमा म उसको पलङ्ग छेउ पुगेको थिएँ । ऊ उत्तानो परेर मस्त सुतिरहेको थियो । म उसको ओठतिर झुकेँ । र, तृप्त हुने कोसिसमा तिनलाई चुमिदिएँ । ऊ मस्त ह्विस्की पिएर पल्टिएको रहेछ । उसको मुखबाट त्यसको दुर्गन्ध ह्वासह्वास्ती निस्किरहेको थियो । तथापि मलाई घिन लागेन । म फेरि उसको ओठतिर झुकेँ र त्यसै गरी ती ओठ चुमेँ । मलाई उसको छातीतिर हात लान मनलाग्यो । मैले त्यसै गरेँ । यस पटक ऊ चर्कै चलमलायो । तर बिउँझिएन । मेरो मन ऊ सँगै पल्टिने थियो । उसलाई अँठ्याएर सुत्ने थियो । तर मैले त्यो आँट गर्न सकिन । म रोक्किएँ । सम्हालिँदै आफ्नो कोठामा आएँ ।
त्यो रात म आफैँसँग लज्जित थिएँ । आफ्नै कर्तुतमा चिन्तित थिएँ । यो प्रवृत्ति झन् झन् बढ्न थाल्यो भने के गर्ने ? हजुरबा, हजुरआमाहरूले चलाएको एउटा उखान छ– सङ्गत गुनाको फल भन्ने । हो, यो उखानको फल म प्राप्त गर्दै छु । मलाई यस्तै लाग्दै छ ।
म आफैँसँग डराउँदै छु ।
कहीँ जन्मजात समलिङ्गी ड्राइभ सुषुप्त रूपले मेरो मनभित्र दबिएर रहेको थियो कि ? हार्भी र डेभिडको सम्पर्कमा पुगेपछि त्यो जागेको हो कि ? यो कुरो कसरी जान्ने ? डाक्टरसँग परामर्श गरौँ कि ? तर के भन्ने ? कसरी भन्ने ? उसको अगाडि मेरो मुखबाट वाक्य निस्केन भने ?
के गरौँ ?
सोचेँ, जोनको बेबिसिटिङ छोडौँ । त्यसपछि पनि मेरो यो इन्सटिङ्ट हटेन भने डाक्टरकोमा जाउँला । यो निक्र्याैल मनमा आएपछि म हल्का भएको थिएँ । मलाई राम्रो निद्रा परेको थियो । भोलिपल्ट मैले उनीहरूलाई त्यही भनेको थिएँ, “म अब जोनलाई हेर्न छोड्छु ।”
जोनलाई स्याहार्दै बितेका मेरा ती दिनहरू मेरो लागि अमूल्यका दिन हुन् । म जोनको एक एक कुरासँग, एक एक क्रियाकलापसँग गहिरो गरी जोडिएको छु । उसले बामेसर्न थालेको, उभ्भिने कोसिस गरेको, थचारिएको, उभिन सफल भएपछि पाइला सार्ने कोसिस गरेको जस्ता उसका एक एक विकासका गतिसँग जोडिएको छु म । उसको नाक, उसका आँखा, उसका पाइताला, उसका बोली, उसको हाँसोसँग मेरो हृदय जोडिएको छ । आमाझैँ भएर मैले उसको स्याहारसुसार गरेको छु । तर सत्य हो, हार्भी र डेभिले झैँ म ऊमाथि हक देखाउन सक्दिनँ । वस्तुगत रूपमा म उसको पेड बेबिसी सिटर मात्र हुँ । तर भावनात्मक गहिराइमा म उसको पुरुष रूपको आमा नै भएको छु । ऊसँगको मेरो संवेदनात्मक सम्बन्ध डेभिड र हार्भीको भन्दा कम छैन । अर्को सोचमा मेरो भावना भन्छ, हार्भी, डेभिड र मेरो साझा पुत्र हो जोन । मलाई यस्तै लागिरहन्छ । म दिनमा धेरै पटक उसका गाला, निधार चुम्छु । स्वतस्फूर्त रूपमा म ऊसँग आमा जत्तिकै व्यवहार गरिरहेको हुन्छु । त्यसकारण ऊसँगको सम्बन्ध यसरी तोड्न मलाई धेरै गाह्रो छ । भावनात्मक रूपमा म धेरै आहत हुनेछु । तर यसको विपरीत मैले उसको बेबी सिटिङ छोड्दा उसलाई केही फरक पर्दैन । किनभने उसले डेभिड र हार्भी जस्ता सम्पन्न बाउहरू अथवा आमाबाउ पाएको छ । उसको लागि अब उनीहरू मभन्दा महँगा बेबी सिटर पनि खोज्न सक्छन् । अथवा उसलाई कुनै राम्रो डे केयरमा पनि राख्न सक्छन् । यसमा मेरो चिन्ताको के अर्थ ? म आफ्नै शरीरको यौनिकताको चिन्तामा डुबेको छु ।